जङ्गली च्याउ खाँदा ५ जना बिरामी

जङ्गली च्याउ खाँदा रुकुम पश्चिममा पाँच जना बिरामी भएका छन् । बाँफिकोट गाउँपालिका-७ मग्मा नदुवाका आशिराम खत्रीसहित पाँच जना बिरामी भएका हुन् ।
आशिरामले मङ्गलवार बेलुका जङ्गलबाट ल्याएको च्याउ खाँदा पाँच जना बिरामी भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । आशिराम खत्रीसहित उनकी श्रीमती कुमारी, छोरा शेरबहादुर, छोरी धनमाया र भान्जा निमबहादुर खत्री घाइते भएका प्रहरी नायब उपरीक्षक विष्णुकुमार सोतीले जानकारी दिए ।
उनका अनुसार बिरामी पाँचै जनालाई बुधवार बिहान जिल्ला अस्पताल सल्लेमा उपचारका लागि ल्याइएको छ । घाइतेमध्ये आशिराम उनकी छोरी धनमाया बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ । अन्य तीन जना भने सामान्य अवस्थामा छन् ।
बर्खायाममा जङ्गली विषालु च्याउ खाएर मानिसहरू बिरामी परेको भन्दै जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले सचेत रहन आग्रहसमेत गरेको छ ।