उपसभामुखमा पुष्पा भुसालको बलियो सम्भावना

उपसभामुखमा पुष्पा भुसालको बलियो सम्भावना

अर्घाखाँची । अर्घाखाँचीबाट प्रतिनिधित्व गर्ने सांसद पुष्पा भुसाल उपसभामुख बन्ने बलियो सम्भावना देखिएको छ । नेपाली कांग्रेस संसदिय दलका सचेतक रहेकी भुसालले उपसभामुख पदमा मनोनयन गर्ने नेपाली कांग्रेसले जनाएको छ । उपसभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ ।

आज बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।उम्मेदवारको नामावली प्रकाशन पनि आजै हुने र शुक्रबार दिउँसो ३ बजेपछि उपसभामुख चयनका लागि मतदान हुने संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ । उपसभामुखका लागि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुषाल उम्मेदवार बन्ने भएकी छन् । हाल सचेतक रहेकी भुषालले आफूले उपसभामुख पदमा उम्मेदवारी दर्ता गर्ने बताइन् ।

तर प्रतिपक्षीको तर्फबाट उम्मेदवार को बन्ने भन्ने टुंगो लागिसकेको छैन । उम्मेदवारको विषयमा आज बिहान नेकपा एमालेका शीर्ष नेताहरुले अनौपचारिक छलफल गरेका थिए । तर उम्मेदवारी दिने कि नदिने भनेर टुंगो नलागेको एक नेताले बताए । अध्यक्ष केपी शर्मा ओलीले ‘आवश्यक निर्णय’ गर्न भनेर सुवास नेम्वाङ, प्रदीप ज्ञवाली लगायतका नेताहरुलाई भनेका थिए ।

सो छलफलमा मधेशवादी दलबाट उम्मेदवार बनाउने कि भन्ने विकल्पमा पनि छलफल भएको थियो । तर त्यसमा पनि ठोस कुरा नभएको स्रोतले बतायो । यसबारे अरु दलसँग पनि छलफल गर्ने भन्दै एमाले नेताहरु उठेका थिए । एकमात्र उम्मेदवारी दर्ता भए निर्विरोध निर्वाचित भएको घोषणा हुनेछ । तर एकभन्दा बढी उम्मेदवार भए निर्वाचनबाट टुंगो लगाइने छ ।

संविधानमा सभामुख र उपसभामुख फरक दल र फरक लिंगबाट हुनुपर्ने व्यवस्था छ । हाल सभामुख नेकपा माओवादी केन्द्रबाट अग्नि सापकोटा रहेकाले अब उपसभामुख अरु कुनै दलबाट र महिला हुनेछिन् ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *