अर्घाखाँची: एक वर्षमा २०६ सम्बन्ध विच्छेदका मुद्दा

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीमा एक वर्षको अवधीमा २ सय बढी सम्बन्ध विच्छेदका मुद्दा देखापरेका छन् । अर्घाखाँची जिल्ला अदालतमा आएका मुद्दाहरुमा सम्बन्ध बिच्छेदका मुद्दा सबै भन्दा बढी रहेका छन् । एक वर्षको अवधिमा २ सय ६ थान सम्बन्ध विच्छेदका मुद्धा परेका छन् ।
जिल्ला अदालतले आर्थिक वर्ष २०७८/०७९ को बार्षिक लक्ष्य र प्रगतिको समिक्षा कार्यक्रममा सो जानकारी दिएको हो । अदालतमा परेका ४ सय ७४ मुद्दा मध्ये दुई सय ६ थान सम्बन्ध विच्छेदका मुद्दा रहेको अदालतका श्रेष्तेदार महेश खनालले जानकारी दिए । केही वर्षयता सम्बन्ध विच्छेद भयावह बन्दै गएको छ । बर्षेनी सम्बन्ध विच्छेद गराउनेको संख्या डरलाग्दो रूपले वृद्धि हुँदै गएको हो । अदालतमा आउने मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेद नै रहेका छन् ।
सम्बन्ध बिच्छेदका मुद्दा बढ्नुको कारण अपरिपक्क विवाह, पारिवारिक असन्तुलन, घरेलु हिंसा, वैदेशिक रोजगार, महिला शशक्तिकरणको कमी लगायत रहेका अनुमान गर्ने गरिएको छ । हरेक वर्ष बढ्दै जाने सम्बन्ध विच्छेदका घटनाले परिवारको शिक्षा, स्वास्थ्य तथा जीविकालाई समेत प्रभाव पार्ने गरेको छ ।
यसअघि पुरुषले स्थानीय तहमा मिलापत्र हुन नसके स्थानीय तहको सिफारिसमा मात्र अदालतमा मुद्दा दर्ता गर्न पाउने प्रावधान थियो । पत्नीसँग सम्बन्ध विच्छेदका लागि पतिले मुद्दा दायर गरेपनि अदालतले मेलमिलापका लागि एक वर्षको समय तोक्ने व्यवस्था थियो । तर, पछिल्लो कानुनले प्रक्रियामा सहज बनाएपछि पुरुषहरू पनि सम्बन्ध विच्छेदमा अग्रसर हुने गरेको देखिएको हो ।
बर्षेनी सम्बन्ध विच्छेदका घटना बढ्दा समस्या थपिंदै गएको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा जिल्ला अदालत अर्घाखाँचीमा सम्बन्ध विच्छेदका १ सय २३ वटा मुद्दा परेका थिए । गत वर्षको तुलनामा यस वर्ष ८३ वटा सम्बन्ध विच्छेदका घटना बढेको छ ।