आज नाग पञ्चमी : पूजाआजा गरी मनाइदै

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । आज बिहान स्नान गरी दीप, कलश र गणेश पूजा गरी गोबर, दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी ढोकामाथि टाँस्नाले सर्प वा नागको डर हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ।
यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
ज्योतिष शास्त्रीय मान्यता अनुसार आजको दिन कुनै शुभ तथा माङ्गलिक कार्य गर्न साइत हेर्नुपर्दैन । कुनै पनि घर तथा भवन निर्माण गर्दा भूमिमा नाग देवताको बास भए विधिवत् रुपमा पूजाआजा गरी पन्छाए नागको दोषबाट मुक्त हुने धार्मिक विश्वास छ।
नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।
प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिंदै आइएको हो ।
‘लगपाँच’ लगत्तै राखि अर्थात रक्षाबन्धन, कुशेऔँशी, चौरचन, इन्द्रजात्रा, पितृपक्ष, दशैँरतिहार र छठ पर्व आउने हुँदा यो पर्वलाई पूर्वसूचना मान्ने गरिएको छ। आज नागको विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।