अर्घाखाँची: एमाले गाउँगाउँमा, कांग्रेसका नेता काठमाण्डौमा

आगामी मंसिर ४ गते हुने निर्वाचनको सरगर्मी सुरु भएको छ । आकांक्षीदेखी टिकट पाउने उम्मेद्वार सम्ममा चोकचोकमा अड्कलबाजी सुरु भएका छन् । नेकपा एमालेका तर्फबाट प्रतिनिधीसभा र प्रदेशसभाका उम्मेद्वारहरु लगभग निश्चित जस्तै भएपनी नेपाली कांग्रेस लगायत गठबन्धनबाट कुन क्षेत्र कस्को भागमा पर्ने र को उम्मेद्वार बन्ने बिषय पेचिलो छ ।
प्रदेशसभा ‘क’ मा नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा दुवैको बलियो दावी छ । यस्तै प्रदेशसभा ‘ख’ मा कांग्रेस भित्रै आकांक्षीहरु धेरै छन् । पुर्व पार्टी सभापती कमलप्रसाद भुसाल, महाधिवेशन प्रतिनिधी सुर्यप्रसाद अधिकारी, जयबहादुर टण्डन लगायतका आकांक्षी छन् । यस्तै प्रतिनिधीसभामा यस अँघी निर्वाचन लडेका महाधिवेशन प्रतिनिधी डा. रामबहादुर बिसी, केन्द्रिय सदस्य पुष्पा भुसाल, प्रदेश सहमहामन्त्री बिष्णु मुस्कान, महाधिवेशन प्रतिनिधी मुक्ती श्रेष्ठ, लेखनाथ पोख्रेल लगायतले दावी गरेका छन् ।
अर्घाखाँचीका कांग्रेस नेता आगामी निर्वाचनमा टिकटका लागी आफु निकटका नेताहरुलाई भेट्न काठमाडौमा पुगेका छन् । कांग्रेस नेता लेखनाथ पोखरेलले संघीय सांसदको टिकटको लागि आफु अन्तिमसम्म प्रयास गर्ने र यदि टिकट नपाएमा जस्ले पाउँछ उसैलाई जिताउन लाग्ने उद्घोष गरे । उनले तरुण दल अर्घाखाँची–काठमाडौ सम्पर्क समितिको अन्तरक्रिया कार्यक्रममा आफु प्रदेश सांसदमा चुनाव नलड्ने बताए । पोखरेल महिना दिनयता काठमाडौमा छन् ।
उपसभामुख पुष्पा भुसाल चुनाव लड्छु भनेमा अरुले पाउने आशा छैन । भुसाल समानुपातिकतिर गएमा टिकट कस्ले ल्याउने भन्ने आँकलन गर्न सकिँदैन । भुसालले आफु नै उम्मेदवार बन्ने आफु निकटका कार्यकर्तालाई बताइएकी छिन् । ५ दलीय गठबन्धन भएपछि चुनाव जित्न सकिने कांग्रेस नेताको छ । संघीय सांसदको टिकट माग्न लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान) शुक्रवार नै काठमाडौ पुगेर शीर्ष नेताहरु भेटघाट शुरु गरेका छन् । जिल्लामा प्रभावशाली रहेका उनलाई उम्मेदवार बन्न ५ दलीय गठबन्धनकै दवाव रहेको छ । मुस्कान उम्मेदवार भएमा टोपबहादुर रायमाझीलाई सहजै हराउन सकिने गठबन्धनका जिल्ला र गाउँ स्तरीय नेताको भनाई छ ।
स्वच्छ छविका कांग्रेस नेता मुक्तिराम श्रेष्ठलाई संघीय सांसदमा अघि सार्नुपर्ने लबिङ पनि भैरहेको छ । जिल्ला पाटीमा निर्विविवाद श्रेष्ठलाई चुनाव जिताउन सजिलो हुने भन्दै एक समुह लागि परेको छ । पूर्वराज्यमन्त्री रेवतीप्रसाद भुसाल, डा. रामबहादुर विसी पनि टिकटका लागि दौडधुपमा छन् । कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ, उपसभापति विष्णुप्रसाद भुसाल, क्षेत्रीय सभापति राजेश पन्थी चुनावी माहोलका लागि काठमाडौं मै छन् ।
पूर्वजिल्ला सभापती कमलप्रसाद भुसाल पनि काठमाडौमा छन् । उनले प्रदेशसभा ‘ख’ को लागि लबिङ गरेका छन् । महाधिवेशन प्रतिनिधि सुर्यप्रसाद अधिकारी महिना दिनदेखि काठमाडौमा नेताहरुलाई भेटघाट गरिरहेका छन् । हालसम्म शितगंगा क्षेत्रबाट सांसदमा उम्मेदवार नभएकाले यसपाली अधिकारीलाई प्रदेश सांसदको उम्मेदवार बनाउन ठूलो समुह लागि परेको छ । अधिकारी उम्मेदवार भएमा शितगंगाबाट राम्रो मत पाउन सकिने र भारी मतले जिताउन सकिने दावी छ, तर मतदाताहरुले भने पटक पटक एउटै मानिस चुनाव लडेर जितेर गए पनि जिल्लामा केही उदाहरणिय काम नगरेको हुनाले यस पटक जो आए पनि नयाँ नेतृत्व आउनु पर्ने बताउदै आएका छन ।
एमाले भित्र सामान्य कुराहरुमा विवाद रहेपनी ठुलो असर छैन । लगभग उम्मेद्वारहरु निश्चित भएसंगै एमाले यती बेला गाउँ केन्द्रित बनीसकेको छ । स्थानिय निर्वाचनमा राम्रो पकड जमाएको एमालेले प्रदेश र संघको निर्वाचन पनि जित्ने लक्ष्य सहित कार्यक्रम र गतिविधी गर्दै आएको छ । प्रतिनिधीसभामा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी निर्विकल्प देखिएका छन् भने प्रदेश ‘क’ मा चेतनारायण आचार्य तथा प्रदेश ‘ख’ मा रामजी प्रसाद घिमिरे कै चर्चा छ ।
जिल्ला अध्यक्ष पिताम्बर भुसाल, नेताहरु चन्द्रबहादुर खड्का, नरेन्द्र कुमार क्षेत्री, जनार्दन खनाल, बालकृष्ण शर्मा आचार्य, प्रेमनारायण गैरे, खुबिराम आचार्य लगायतका नेताहरुको व्यवस्थापन पनि एमालेका लागी चुनौती नै छ । तर विपक्षमा गठबन्धन चुनौती बनिरहेका बेला आन्तरिक समस्याहरु कसरी हल गर्छ भन्ने हेर्न बाँकी नै छ ।
स्थानिय निर्वाचन पश्चात एमालेका टोपबहादुर सहितका नेताहरु गाउँमा केन्द्रित छन् । प्रदेश र संघको निर्वाचन आफ्नो पक्षमा पार्न एमालेले जोडबल गरिरहँदा गठबन्धन स्थानिय निर्वाचनमा जस्तै दिशा विहिन जस्तै छ ।