केही समय अगाडि साइबर ब्युरोको कार्यालय भोटाहिटीमा एउटा उजुरी पर्यो । पीडित महिलाले आफ्नो अन्तरङ्गको फोटो बाहिर ल्याइदिने धम्की दिएको जनाउँदै उजुरी दर्ता गरेको थिइन् । सामाजिक सञ्जाल फेसबुकमा नक्कली ‘प्रोफाइल’मार्फत ती पीडित महिलालाई साथी बन्न अनुरोध गर्दै ‘फ्रेन्ड रिक्वेस्ट’ आयो । चिनजान नभएको व्यक्तिले पठाएको रिक्वेस्टलाई महिलाले सहजै स्वीकार गरिन्। उनीहरु फेसबुकमा साथी बने । कुरा हुँदै गएपछि उनीहरु नजिकिँदै गए । सबै कुराहरु एकअर्कालाई शेयर गर्न थाले । उनीहरु यतिसम्म नजिक भए कि आफ्नो निजी तस्बिर एकअर्कालाई पठाउनेसम्म गर्न थाले।
योजनाबद्धरुपमा साथी बनेका ती युवकले महिलाको हरेक गतिविधिको ‘स्क्रिन रेकर्ड’ र ‘स्क्रिन सर्ट’ लिएर राखे । केही समयपछि युवकले ती महिलालाई सबै गतिविधिको आफूसँग रेकर्ड भएको र पैसा नदिए सामाजिक सञ्जालमा हालिदिने बताउँदै धम्काउन थाले । कहिले आफैँले धम्काउने गरे भने कहिले साथीबाट ती महिलालाई भिडियो पठाउँदै धम्काउन थाले ।
अश्लिल भिडिओको आडमा ती युवकले पीडित महिलालाई बारम्बर मानसिक यातना दिन थाले । यति गर्दासमेत आर्थिक लाभ लिन नसकेपछि अश्लिल भिडिओ महिलाका आफन्तलाई पठाएर यातनालाई पुनः निरन्तरता दिन थाले । यो घटनापछि पीडित महिलाले दिएको उजुरीमार्फत गएको साउन २४ गते साइबर ब्युरोको टोलीले ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने २४ वर्षीय अमन राजथला पक्राउ गर्यो । प्रहरीले उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा मुद्दा दायर गरेको छ ।
त्यस्तै गएको भदौ १९ गते नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ टाँकुका २९ वर्षीय मोहन कुँवरलाई पक्राउ गर्यो । नक्कली ‘फेक अकाउन्ट’ बनाएर ‘लाइभ स्ट्रिमिङ’मार्फत आपत्तिजनक अश्लिलता प्रदर्शन गरी महिलालाई मानसिक तनाव, दुःख र हैरानी दिएको आरोप उनी पक्राउ परेका हुन् । उनीलाई पनि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा प्रहरीले मुद्दा चलाएको छ ।
माथिको यस घटना प्रतिनिधि पात्र मात्रै हुन् । सामाजिक सञ्जालका विभिन्न माध्यमको दुरुपयोग गरी महिला र पुरुषमाथि हिंसा हुने क्रम भने रोकिएको छैन, झनै बढ्दै भएको छ । सामाजिक सञ्जालमार्फत गाली गर्ने, अश्लिलता प्रदर्शन गर्ने, ‘वेबसाइट ह्याक’ गर्ने, अनधिकृतरुपमा नग्न तस्बिर पठाउने, विभिन्न प्रलोभनमा पारेर ‘ब्ल्याक मेल’ गर्ने गरेको जनाउँदै अहिले साइबर ब्युरोमा उजुरी पर्ने सङ्ख्या बढ्दै गएको छ ।
फेसबुक, म्यासेञ्जर, भाइबर, आईएमओ, टिकटकलगायतका थुप्रै सामाजिक सञ्जालका माध्यमबाट साइबर अपराध बढेको ब्युरोको तथ्याङ्कले देखाएको छ । साइबर ब्युरोको तीन आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने साइबर अपराधमा चिन्ताजनक तस्बिर सामुन्ने आउँछ । आर्थिक वर्ष २०७८/७९ मा मात्रै साइबर ब्युरोको कार्यालय भोटाहिटीमा ४ हजार ६ सय ८६ उजुरी दर्ता भएका थिए । तीमध्ये सबैभन्दा बढी फेसबुक र म्यासेञ्जरमार्फत पीडित बनेका छन् । यो समस्या पीडित भएकाको सङ्ख्या ३ हजार ९ सय ५६ रहेको जानकारी साइबर ब्युरोले उपलब्ध गराएको छ ।
यी दुईपछि सबैभन्दा बढी उजुरी टिकटकबाट पीडित हुनेले दिएका छन् । यसमा उजुरी दिने ३ सय ७ छन् । यसैगरी बैंक तथा वित्तीय संस्थासँग सम्बद्ध उजुरीको सङ्ख्या १ सय २७ रहेको छ । गएको आर्थिक वर्षमा सामाजिक सञ्जालबाट पीडित भएकाको सङ्ख्या ४ हजार ६ सय ८६ रहेको तथ्याङ्क प्राप्त भएको छ ।
यसैगरी आर्थिक वर्ष २०७७/७८ मा फेसबुक र म्यासेञ्जरबाट पीडित भएर उजुरी दिनेको सङ्ख्या ३ हजार ४ सय ५१ रहेको छ । त्यस्तै टिकटकमा ७०, बैंक तथा वित्तीय संस्था सम्बद्ध उजुरी दिनेको सङ्ख्या ९६ रहेको छ । यस आर्थिक वर्षमा सामाजिक सञ्जालबाट पीडित भएकाको सङ्ख्या ३ हजार ९ सय ६ पुगेको देखियो ।
आर्थिक वर्ष २०७६/७७ मा भने फेसबुक र म्यासेञ्जरबाट पीडित भएर उजुरी दिनेको सङ्ख्या २ हजार २ सय ५० रहेको छ । त्यस्तै टिकटकमा चार, बैंक तथा वित्तीय संस्था सम्बद्ध उजुरी दिनेको सङ्ख्या १५ रहेको छ। त्यस आर्थिक वर्षमा सामाजिक सञ्जालबाट पीडित भएकाको सङ्ख्या २ हजार ३ सय १ पुगेको साइबर ब्युरोबाट उपलब्ध तथ्याङ्कले देखाएको छ ।
सामाजिक सञ्जालका विभिन्न माध्यमबाट पीडित भएको भन्दै उजुरी परेको आधारमा कार्यालयले तीन आर्थिक वर्षमा २ सय ५८ मुद्दा दर्ता गरेको छ । फेसबुक, म्यासेञ्जर, भाइबर, आईएमओ, टिकटकलगायतका थुप्रै सामाजिक सञ्जालका माध्यमबाट पीडित बनेको भन्दै प्रहरीमा परेको उजुरीको आधारमा साइबर ब्युरोले आर्थिक वर्ष २०७८/७९ मा १ सय ३२ मुद्दा दर्ता गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा ७६ र २०७६/७७ मा ५० वटा मुद्दा ब्युरोले जिल्ला अदालत काठमाण्डौमा दर्ता गरेको हो ।
यस तीन आर्थिक वर्षमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ परेर मुद्दा चलाएका १ सय ८४ पुरुष र १६ जना महिला गरी दुई सय रहेका छन् । जसमा क्रमशः आर्थिक वर्ष २०७८/७९ मा ९७ पुरुष र १५ महिला, आर्थिक वर्ष २०७७/७८ मा ५० पुरुष र आर्थिक वर्ष २०७६/७७ मा ३७ पुरुष र एक महिला पक्राउ गरेका थिए ।
यसरी तुलनात्मकरुपमा बढेको विद्युतीय अपराधको विषयमा नेपाल प्रहरीको साइबर ब्युरोका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी पशुपतिकुमार रायले नागरिकमा साइबर अपराधसम्बन्धी चेतनाको स्तर बढ्दै भएकाले पनि उजुरी पर्नेको क्रम बढेको बताए । उनका अनुसार–अहिले डिजिटल माध्यमको पहुँच हरेक नागरिकसम्म पुगेकाले अपराधको तथ्याङ्क पनि बढेको देखिन्छ । समयअनुसार हरेक नागरिक सामाजिक सञ्जालको पहुँचसँग (फेसबुक, म्यासेञ्जर, टिकटक, भाइबर आदि) जोडिँदै गएका छन् । यसरी यस माध्यमबाट पीडित बन्नेको सङ्ख्यामा पनि वृद्धि भएको हो ।
उनले सामाजिक सञ्जालका विभिन्न माध्यमको दुरुपयोग गरी आर्थिक लाभ लिने मनसाय राखेर पनि अपराध गर्ने गरेको जानकारी दिए । सूचना अधिकारी रायले भने ‘अपराधबाट बच्नका लागि नागरिक आफैँ सचेत र चनाखो हुनुपर्छ।’