६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

विधवा बेहुली (राेचक कथा)

रचना सुवेदी ।

बस गुडिरहेको थियो। गाडीभित्र नाचगान चलिरहेको थियो। जन्तीहरू हाँसिरमाइलो गरिरहेका थिए। रमाइलो माहोललाई स्तब्ध गराइदिने गरी बस अचानक अगाडिबाट आइरहेको ट्रकमा ठोक्किएर रोडदेखि दुई सय मिटर तल खस्यो। त्यसपछि के भयो याद भएन।

बस ड्राइभरले ‘ब्रेक फेल भयो’ भन्दै गर्दा श्रीमानले कसेर समातेको हात कहाँनिर गएर छुटेछन् कि म अस्पतालको बिस्तरामा आइपुगेकी थिएँ र उनी लासका गन्तीहरूमा बसेर पत्रिकाहरूको पहिलो पानामा समाचार बनेका थिए।

तीन दिनपछि थाहा भयो बल्ल, मसँगै अरु १७ जनाको ज्यान बच्न सफल भएछ। जसकी श्रीमती भएर चढेको थिएँ त्यो गाडीमा, म त्यही दिन उसकी विधवा भएछु। मेरै श्रीमान रहेनन् भनेर सुन्दा एक्कासी मन भक्कानिएर आयो। हात हेरिराखेँ, समातेका हात छुट्नुभन्दा मेरो सास नै छुटेको भए भनेर। हतार हतार बिस्तराबाट उठ्न खोज्दा छेउमा मेरो जिन्दगीका एउटै आशा र भरोसा मेरा बा पुर्पुरोमा हात राख्दै रोइरहेका थिए।

जुरुक्क उठ्न खोज्दा चक्कर लागेर उठ्न सकिनँ। आँखाभित्र मनबाहिर राखेर म सोच्न थालेँ, सब बाँच्दा मेरै श्रीमान् नरहनुमा म नै अलच्छिनी हो? म अलच्छिनी हो भनेर मलाई मात्र होइन, मलाई जन्माउँदा स्वर्गबास भएकी आमाका श्रीमान, मेरा बाले नि मेरो बाल्यकालदेखि आजसम्म मेरो जिन्दगीलाई यही आमा खाने अलच्छिनी भन्दै पापका भारी बोकाएर राखेका थिए।

त्यसैले होला हस्पिटलका बिस्तरामा हरेक रात मलाई त्यही कुराले झकझकाउँथ्यो, के मान्छे साँच्चै कसैलाई खाने भाग्य लिएरै जन्मेको हुन्छ र? सोच्न बाध्य पनि भएकी थिएँ, मलाई पाउनेहरू सब छुटेर जाँदा मैले नै अरुको भाग्य खोसेर बाँचेकी थिएँ?

मेरी आमा भने पनि, भाउजू भने पनि तिनै एउटी भाउजू थिइन्। तिनले पनि म विधवा हुनुमा मेरो नै भाग्य खोटो हो र अब दिएको चिज ल्याउन हुँदैन भनेर स्वीकार गर्न नखोजेपछि मैले ‘म चिज भएँ अब?’ भनेर दाइका अनुहार हेर्दा दाइको अनुहार जमिनतिर झुकेको देख्नासाथ मन भक्कानियो।

हिजोसम्म ‘नानी नानी’ गर्ने त्यो दाइ पनि आज जमिनतिर फर्किन्छ भने म यहाँ बस्नु हुन्न भनेर लाग्यो। मनले आमा जिउँदै हुन्थिन् भने आज म यहाँ हुँदिनँ थिएँ होला भनेर सोचेँ। यही सोचेर त्यो दैलोमा अब फर्केर नआउने निर्णयका साथ म बिहेकै दिन अकालमा स्वर्गबास भएका श्रीमानको दुई चिम्टी सिन्दुरको मान राखेर उनकै विधवा हुने निर्णय गरेँ।

निर्णय सही कि गलतभन्दा पनि त्यतिबेला विकल्प केही नभएपछि मैले आफ्नो अपमानलाई साथमै बोकेर मेरा श्रीमानका घरतिर पाइला अगाडि बढाएको थिएँ। घरको दैलोमा पाइला मात्र के राखेकी थिएँ, सासूले ‘छोरो खाने अलच्छिनी आइस् जा गहिहाल्’ भन्दै रुँदै घरको खामा समाउँदै भक्कानिएकी थिइन्।

नभनून पनि कसरी, कलकलाउँदो छोरो, कति दुःखले पालेको सन्तानको बिहे गराएर घरमा लक्ष्मी ल्याउँला र सुख पाउँला सोचेकी आमा, आफ्नो बुढेसकालको सहारालाई टपक्क दैवले त्यही खुसीकै दिन चुँडेर लैजाँदा कसको मन मान्छ र? कसले सहन सक्छ र?

श्रीमानका बा घरको एउटा कुनामा पुर्पुरोमा हात राखेर बसेका थिए। आजसम्म मेरै जन्म दिने बाका काँधमा कति जिम्मेवारीले थिच्दासम्म आँसु आएको नदेखेको मैले ससुराबाका आँखाका आँसुले यति नमज्जाले मनलाई पिरल्दो रहेछ भन्नी मैले बाकै आँखा हेरेर थाहा पाएँ र यसै यसै निसासिएकी थिएँ।

हातमा चुरा थिएनन्, सिउँदोमा सिन्दुर थिएनन् मेरा। सेतो रङ्गको गुन्यूमा आँगन छेउमा टोलाएकी मलाई देखेर श्रीमानकी दिदीले हत्तारिँदै भित्रबाट बाहिर आएर रातो पछ्यौरा ओडाएर ‘के गरेकी नानी, मेरो भाइ त जिउँदै छ यसो नगर न’ भन्दै मलाई अङ्गालो हालेर झम्टिँदै रोएको रोई गर्दा म आफ्नो शरीर धान्न सकेकी थिइनँ।

जन्मेदेखि आमाको दूध खान नपाएको म, बाल्यकालमा बाले दिएका आमा खाने अलच्छिनी भन्ने तानाले गलेको म, अनि बिहेकै दिन विधवा भएको म। मैले आफूलाई यति विवश पाएँ कि म कसलाई अङ्गालो हाल्न जाम अब, मेरो सुख मेरो भाग्य मेरो भविष्य खै? अब के गरौं? कहाँ जाउँ भएकी थिएँ। गाउँका मान्छे आठौं दिन आँगनमा र कौसीमा बसेर हाम्रै घरलाई एकनास हेरिरहेका थिए। कतिले शंकालु नजरले, कतिले दयाका नजरले अनि कति यसै हेरिदिएर सान्त्वना दिउँ न भनेझैं गरेर हेरेका थिए।

आमाको मन न हो, छोराका कपडालाई अङ्गालो हाल्दै ‘बाबु बाबु’ गर्दै एकनास डाँको छोडेर रोहिरहेकी थिइन्। मेरो उपस्थितिले अझै थपेको थियो पीडा, म देखिरहेको थिएँ। आफन्तहरू कसको नजर लाग्यो घरको खुसीमा भन्दै गुनगुनाउँदै थिए अनि मलाई लाग्दै थियो, सायद मलाई नै भन्दै थिए।

म जन्मिँदा आमा बित्नुमा नि मेरै दोष, गाडी पल्टिनुमा नि मेरै दोष! बाले जन्मेदेखि बिहेको अघिल्लो दिनसम्म टोकिराखे एउटै भाषामा ‘आमा खाने अलच्छिनी’ भनेर अनि अब बिहेकै दिनदेखि बाँचुन्जेल अर्को जिन्दगीले टोक्दै छ अर्को फरक भाषामा, ‘छोरो, भाइ अनि श्रीमान खाने अलच्छिनी’ भनेर। होइन कस्तो खाले जिन्दगीको अदालतको कठघरामा उभिएकी थिएँ जहाँ जसले जिते पनि हार मेरै थियो। जहाँ मेरो कुनै गल्ती नै थिएन।

मलाई त उहाँ जानुमा दुःख मनाउने वातावरण नै दिएनन् कसैले। बस् सरापिराखे, सुनाइराखे अनि म दुनियाँको टोकसो सुन्दासुन्दै रुनसम्म बिर्सिएँ। दिनदिनै एउटै आश रहन्थ्यो मनमा, कसैले छोरी भनेर मलाई बोलाउँछ कि त्यो घरमा भनेर। दुई वचन मिठो बोली बोलिहाल्छन् कि भनेर। तर हरेक कुरा बद्लिने यो समाजमा कसैको मनमा गाढेको घृणा भने कहिल्यै बद्लिँदो रहेनछ।

आमा र श्रीमान गुमाएकी म अनि छोरो गुमाएकी उनी हामी दुवै उत्तिकै पीडा भोगेका दुई जिउँदो लास थियौँ। तर पनि उनको मनमा मेरो लागि अलिकति भए पनि माया पलाएन कहिल्यै। म भने माया पलाइहाल्छ कि भनेर दिन रात उनलाई उनको छोरो नभएको महसुस नहोस् भनेर हरेक कुरामा छोरो बनेर सबै कर्तब्य पूरा गर्दै-गर्दै आएकी थिएँ तर जति नै राम्रो गर्छु भन्दा नि गलत हुन जाँदो रहेछ। त्यति गर्दा पनि हरेक दिन एउटा गुनासो हुन्थ्यो, यही अलच्छिनीले हो मेरो छोरो खाएकी भनेर।

दिन, महिना, वर्ष बित्दै गए। म सबैको व्यवहारमा घुल्दै गएँ। बस् महानगरले फाल्न नदिएको फोहोरलाई घरमै राख्न परेको भाडावालाले घरबेटीको गनगन सुनेजस्तै जिन्दगी थियो मेरो, अरु विकल्प थिएन सुन्नुबाहेक। सेतो सारी लगाएकी म अनि छोरा नभएका ससुरा बा एउटै बेन्चमा बसेर दुःख सुनाइरहँदा दस थरी कुरा फैलने यो समाजमा, यो घरले छोरी मान्दिन्छ कि भनेर बस्ने मैले आशा पनि कति महङ्गो गरेछु!

दिनदिनै हजार कुरा थुपारेर सेतो सारी र खाली सिउदोमा हजार रङ्ग भरिदिँदै थियो यो समाजले। कोही ७० वर्षका हजुरबासँग बिहे गर्ने प्रस्ताव बोकेर आउँथे, कोही अशक्तका लागि सहारा मागेका झैं तल झारेर हात माग्दिन्थे। कोही बजार केही किन्न गइहाले भने पनि जिब्रो पट्काउँदै, इसारा गर्दै मलाई खसालेर दुई/चार लाइन बोलिहाल्थे।

दुनियाँ बद्लिए नि मान्छेहरूको सोच चाहिँ जुन शताब्दीमै पुगे पनि बद्लिन गाह्रै छ जस्तो लाग्यो। होस् अब अरु शताब्दीमा बद्लिएछ भने नि देख्ने होइन मैले भनेर म चुपचाप मौन बसिरहन्थेँ। भाग्यलाई दोष दिनु नै सजिलो उपाय रहेछ बरु, अरु त उतै व्यस्त थिए मलाई अभागी भनेर घोषणा गर्न।

जे नराम्रो हुनु भइसकेको थियो, अबका दिनलाई राम्रो बनाउन सकिन्थ्यो। तर यो समाजले जो पीडित छ, उसैलाई पीडकको बिल्ला भिराइदिँदो रहेछ। यदि त्यस घटनामा मेरो श्रीमानको ठाउँमा मेरो ज्यान गएको भए के यो समाजले म मर्नुमा मेरो श्रीमानलाई दोष दिन्थ्यो होला?

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?