माओवादी र समाजवादी एकता गर्छौँ, बामदेव र बाबुरामलाई पनि भित्राउँछौं: बर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्नो दल र नेकपा एकीकृत समाजवादीबीच विचार र कार्यदिशामा समानता रहेको बताएका छन् । मङ्गलवार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग बोल्दै उनले विचार मिलेकै कारण आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा चुनावमा साझा घोषणापत्र बनाउने सहमति दुई दलबीच भएको बताए।
एकता संयोजन समिति बनाउने र चुनावपछि पार्टी एकता हुने सहमति आफूहरूबीच भइसकेको उनको भनाइ थियो । ‘माओवादी केन्द्र र एकीकृत समाजवादीको बीचमा विचारको समानता छ । राजनीतिक कार्यदिशामा पनि एकरूपता छ । केही समय अगाडिसम्म हामी एउटै पार्टी नेकपामा सँगै थियौँ’, उनले भने, ‘परिस्थितिले हामी अलग भएका छौँ तर फरि पनि हामी वामशक्तिहरू एक ठाउँमा आउनुपर्छ । यसमा सबैभन्दा राजनीति मिल्नेहरू भनेको माओवादी र समाजवादी नै हो ।’
उपमहासचिवत पुनले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानसँग पनि एउटै घोषणापत्र बनाएर चुनावमा जानेबारे छलफल चलेको जानकारी दिए । यस्तै उनले सत्ता गठबन्धनमा रहेका कांग्रेससहित अन्य दलसँग न्यूनतम साझा कार्यक्रम बनाएर चुनावमा जाने बताए ।
यस्तै देशको परराष्ट्र नीति, तथा सुशासन र विकासबारे समान धारणा बनाएर जनताका बीचमा लैजाने उनले स्पष्ट पारे । राजनीतिक स्थायित्व, संविधानको रक्षा र संविधानमा उल्लेख जनताका अधिकार कार्यान्वयनका लागि वर्तमान सत्ता गठबन्धन बनेको दाबी गर्दै उनले ती विषय पनि आफूहरूको साझा चुनावी एजेन्डा भएको उल्लेख गरे ।