लक्ष्मण घिमिरे ।
अर्घाखाँची । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले जिल्ला-जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । चुनावी अभियानका लागि ७७ जिल्लामा १० भदौदेखि ‘जनताको साथमा कांग्रेस’ कार्यक्रम संचालन हुँदैछ । यही अभियान सञ्चालनका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाएको हो ।
१० भदौदेखि २४ सम्म सञ्चालन हुने अभियानका लागि डोल्पा र हुम्लाबाहेक अरु जिल्लामा प्रतिनिधि खटाएको कांग्रेसले जनाएको छ । अर्घाखाँचीमा प्राध्यापक डाक्टर गोविन्दराज पोख्रेललाई खटाईएको छ । प्युठानका पोख्रेललाई भदौ १० गते देखि ‘जनताको साथमा कांग्रेस’ अभियानका लागी चयन गरिएको हो ।
केन्द्रीय प्रतिनिधिमा चयन भएकाहरु धेरैजसो केन्द्रीय सदस्य छन् । केन्द्रीय प्रतिनिधिमा शीर्ष तहका नेताहरुलाई भने समावेश गरिएको छैन । प्रतिनिधिहरुलाई जिल्ला निर्धारण गर्दा सकेसम्म गृह जिल्लाको नजिकको जिल्ला तोकिएको छ ।
प्रतिनिधिहरुले जिल्लामा पुगेर मातहतका संरचनाको बैठक राखी कार्यक्रम तय गर्नेछन् । जिल्ला समिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा लगायत तल्लोतहका संरचनाको बैठक आह्वान गर्नेछन् । जनताका समस्या सुन्ने, कांग्रेसले गरेका सुधारका कार्य जनतालाई जानकारी गराउने तथा तालमेलको आवश्यकता बारे नागरिकलाई अवगत गराउने अभियानको उद्देश्य छ ।