२१ असोज २०८१, सोमवार
२१ असोज २०८१, सोमवार

नजिकिँदै दसैँ, यातायात व्यवस्थापनमा सरकार चुक्दै

सडकको दुरवस्था, मनपरी भाडादर, कोचाकोच यात्रा र सार्वजनिक सवारीसाधनको अपर्याप्तता । दसैँको वेला यात्रुहरूले हरेक वर्ष भोग्दै आइरहेका समस्या हुन् । समस्या कम गर्न पूर्वतयारीबारे सरकार हरेक वर्ष चुक्दै आइरहेको छ ।सोही कारण दसैँका वेला लामो तथा मध्यम दूरीको यात्रा सधैँ भन्द्रगोल हुने गर्छ । सरकारी निकाय र यातायात व्यवसायीबीच पर्याप्त तयारी र समन्वय नहुँदा दसैँ मनाउन घर जानेहरू कष्टपूर्ण यात्रा गर्न बाध्य हुन्छन् । यात्रुले यस वर्ष पनि त्यही नियति भोग्नुपर्ने अवस्था देखिँदै छ ।

दसैँ नजिकिँदै गर्दा पनि सरकारले बाटोघाटोदेखि सवारीसाधन व्यवस्थापनमा अझै तयारी सुरु गरेको छैन । वेलैमा यातायात व्यवसायी र सरकारी पक्षबीच छलफल गर्ने र दसैँमा यात्रा सहज बनाउने सम्बन्धमा यातायात व्यवस्था विभागको पनि तयारी सुरु भएको छैन । यातायात व्यवसायीले दसैँ आउन करिब डेढ महिना बाँकी छँदा सरकारले पूर्वतयारी गर्नुपर्ने माग राखेका छन् ।

हतारमा निर्णय गर्दा विगतका वर्षहरूमा सर्वसाधारणले घर फर्कँदा दुःख पाएकाले यसपटक वेलैमा सडक र यातायातको अवस्थाबारे पूर्वतयारी गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । उनका अनुसार दसैँको एक महिना अघिदेखि अग्रिम टिकट बुकिङ गर्नुपर्छ । तर, सरकारी पक्षले यसपटक अझै छलफलमा नबोलाएको उनले बताए । ‘जब समय नै हुँदैन, तब सरकार तयारीमा लाग्छ,’ उनले भने, ‘पर्याप्त पूर्वतयारी नहुँदा विगतका वर्षहरूमा सर्वसाधारणले दसैँको वेला निकै दुःख भोगिरहेका छन् ।’ सरकारले एक महिनाअघि नै अग्रिम टिकट बुकिङ खुला गर्नुपर्ने भए पनि यसपटक तयारी नै नगरेको उनले बताए ।

यातायात व्यवस्था विभागका महानिर्देशक सुरेश राउतले यातायात व्यवसायी, सडक विभाग, स्थानीय तहका प्रतिनिधि, ट्राफिक प्रहरी, यातायातकर्मीलगायतलाई राखेर बैठक बस्ने तयारी भइरहेको बताए । उनले धेरैजसो सडकको अवस्था पनि बिग्रिएकाले सडक विभागलाई मर्मत गर्न आग्रह गरिसकेको बताए । ‘यसपटक धेरै सडक बिग्रिएका छन्,’ उनले भने, ‘सडक बनाउने सम्बन्धमा सडक विभाग र सम्बन्धित स्थानीय तहलाई हामीले एकचरण जानकारी गराइसकेका छौँ ।’

यातायात व्यवस्था विभागका अनुसार साना–ठूला गरी देशभर यात्रुवाहक सवारीसाधनको संख्या साढे तीन लाख छ । यसमध्ये मिनीबस र ठूला बसको संख्या झन्डै एक लाख २० हजार छ । दसैँको वेला दैनिक सात हजार लामो दूरीका बस गुड्छन् । यसबाहेक अन्य तीन हजार मध्यम दूरीका बस गुड्छन् । यी दुवैमा गरेर दसैँको वेला करिब २० लाख मानिसले उपत्यका छाड्छन् । तर, हरेक वर्ष दसैँका वेला सिट नपाएर कोचाकोच यात्रा गर्नुपर्ने बाध्यता छ ।

सडक विभागका अनुसार गत वर्ष पूर्व–पश्चिम राजमार्गको बुटबल–नारायणघाट सडकखण्ड अस्तव्यस्त थियो । ठेकेदारले जथाभावी काम गरेपछि दसैँमा घर फर्कनेले कष्ट भोगेका थिए । तर, यसपटक जथाभावी काम गर्न नदिएको विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । उनका अनुसार अहिले ओहोर–दोहोर गर्ने सवारीसाधनलाई सडकका कारण अवरोध छैन । एकापट्टि काम भइरहे पनि अर्कोपट्टि सवारी गुड्न दिइएको छ । हाल मुग्लिन–नारायणघाटमा पनि दोहोर गाडी चल्छन् । वर्षाको वेला यहाँ पहिरो खस्न सक्ने भन्दै विभागले तत्कालै खुलाउन त्यस सडकखण्डको ठाउँ–ठाउँमा १५ भन्दा बढी एक्स्काभेटर राखेको छ ।

यसबाहेक विभागले पिच सडकका खाल्टाखुल्टी टाल्न पनि कर्मचारी परिचालन गरेको छ । तर, बुटबल–नारायणघाटमा भने निर्माणकार्य भइरहेकाले खाल्टा टाल्न सम्भव छैन । सरकारले हाल नौबिसे–पोखरा, बुटबल–नारायणघाट, कमलापुल–कञ्चनपुरलगायत मुख्य सडकखण्ड स्तरोन्नतिको जिम्मा विदेशी ठेकेदारलाई दिएको छ । उनीहरूले काम गरेका ठाउँमा केही अवरोध हुन सक्ने भए पनि विभागले सहजीकरण गर्ने जनाएको छ ।

सरोज सिटौला, वरिष्ठ उपाध्यक्ष, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ
देशभर भएका सवारी व्यवस्थापन गर्ने हो भने दसैँको यात्रा असहज हुँदैन । तर, पूर्वतयारीमा सरकार सधैँ चुक्छ । हामीले त यातायात र सडक व्यवस्थापनबारे बैठक बस्न सरकारी निकायलाई आह्वान गरिसकेका छौँ । तर, उहाँहरूले ढिलो गर्ने संकेत देखाउनुभएको छ । छलफल नै ढिलो गर्दा बाटोघाटो र यातायात व्यवस्थापनमा पनि समस्या हुन्छ । अर्कोतर्फ, बैंंकले ऋण नदिँदा नयाँ बस थप्ने अवस्था छैन ।

सुरेश राउत, महानिर्देशक, यातायात व्यवस्था विभाग
यसपटक हामीले छिटो बैठक बसेर यातायात व्यवस्थापन गर्ने योजना बनाएका छौँ । अब केही दिनमा हामी सबैसँग बैठक बसेर दसैँको यात्रालाई सहज बनाउने गरी निर्णय गर्छौँ र कार्यान्वयनमा लाग्छौँ ।

अर्जुनजंग थापा, महानिर्देशक, सडक विभाग
गत वर्षजस्तो यस वर्ष सडकका कारणले यात्रामा दुःख पाउनुपर्दैन । किनभने हामीले सकेसम्म सबैजसो सडक सुधार गरिरहेका छौँ । त्यस्तै, कतिपय अवरुद्ध सडकलाई दसैँसम्म सञ्चालन गर्छौँ र सञ्चालन गर्न नसकिने सडकको विकल्प पनि दिन्छौँ ।

सडक बनाउन विभागको आग्रह
पूर्व–पश्चिम राजमार्गअन्तर्गत केही सडक भत्किएका छन् । कतिपय सडक स्तरोन्नतिका काम भइरेकाले पनि अवरोध छन् । दसैँको वेला यात्रालाई सहज गर्न यातायात व्यवस्था विभागले सडक विभागलाई आग्रह गरेको छ । विभागका महानिर्देशक राउतले सडकका कारण दसैँको यात्रा कठिन हुने गरेकाले सर्वप्रथम सडक सुधार हुनुपर्ने बताए । त्यसका लागि विभागले आगामी आइतबार या सोमबार सडक विभाग, स्थानीय सरकारका प्रतिनिधि, ट्राफिक प्रहरीलगायतसँग छलफल गर्ने तयारी पनि गरेको छ । @https://www.nayapatrikadaily.com

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?