२४ मंसिर २०८१, सोमवार
२४ मंसिर २०८१, सोमवार

डा. केसीको २०औं सत्याग्रह धनगढीमा सुरु

सरकारले चिकित्सा क्षेत्र सुधारका मागप्रति बेवास्ता गरेर पटक–पटक धोका दिएको भन्दै चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको कृष्ण मन्दिरस्थित धर्मशालामा सोमबार साँझदेखि २०औं सत्याग्रह सुरु गरेका छन् ।

‘प्रधानमन्त्री देउवाले पटक–पटक आश्वासन मात्र दिए । तर मागप्रति ध्यान नदिएकाले उनकै गृह प्रदेशमा सत्याग्रह सुरु गरेको छु,’ डा. केसीले अनसन सुरु गर्नुअघि सोमबार पत्रकार सम्मेलन गर्दै भने ‘सरकार र शीर्ष नेता सबै माफियाको जालोमा भएकाले मागप्रति बेवास्ता गर्दै आइरहेका छन् ।’

गत भदौ १२ गतेदेखि काठमाडौंमै सत्याग्रह गर्ने निर्णय लिए पनि सरकारले केही दिन समय दिन गरेको आग्रहअनुसार दिएको तीन साताको समय सकिएको डा. केसीले बताए । ‘तर यो तीन हप्तामा सरकारी पक्षबाट सामान्य संवादसमेत गरिएन,’ डा. केसीले भने, ‘म जनताका लागि लड्ने मान्छे हुँ । प्रधानमन्त्रीको गृहप्रदेशमा अनशन बस्दा केही बढी दबाब पुग्छ भन्ने निष्कर्ष हो ।’ डा. केसीले शीर्ष नेता सबै माफियाको कब्जामा भएकाले जनताका मागप्रति उनीहरूको चासो नभएको पनि आरोप लगाए । ‘प्रधानमन्त्री देउवाले पटक–पटक आश्वासन दिए तर मागप्रति सामान्य चासोसमेत नदिएकाले सत्याग्रह सुरु गर्नु परेको हो,’ उनले भने ।

प्रधानमन्त्रीकै गृहक्षेत्रमा स्वास्थ्य सेवाको दयनीय स्थिति रहेको उल्लेख गर्दै डा. केसीले यसप्रति देउवालाई कुनै चासो नरहेको आरोप लगाए । डा. केसीले सबै पूर्वाधार तयार भइसकेको गेटा मेडिकल कलेज सञ्चालनप्रति उदासीन हुनु नै प्रधानमन्त्री देउवाले चासो नदिएको गतिलो उदाहरण भएको पनि बताए । ‘संविधानले प्रत्याभूत गरेको शिक्षा स्वास्थ्यको अधिकार नपाएर जनता मर्ने स्थितिको आकलन समेत नगर्ने राजनैतिक नेतृत्व जिम्मेवार हो,’ डा. केसीले भने । आफूलाई राजनैतिक नाफा घाटासँग सरोकार नभएको बताउँदै डा. केसीले भने, ‘जनताका लागि लड्नेले समय सन्दर्भ हेरेर मात्र लडाइँ सुरु गर्छ भन्ने छैन ।’

सत्याग्रह सुरु गर्नुअघि डा. केसीले सार्वजनिक गरेको विज्ञप्तिमा सबै स्वास्थ्य संस्थामा सरकारले तोकेका नि:शुल्क औषधिको सुनिश्चितता हुनुपर्ने, स्वास्थ्यसंस्थामा प्रयोगशाला परीक्षण र उपचार नि:शुल्क हुनुपर्ने, अस्पतालमा बेड संख्याकै आधारमा दरबन्दी तोकिनुपर्ने, जनसंख्याअनुसार सबै स्वास्थ्य संस्थाको स्तरोन्नति र गुणस्तर वृद्धि गरिनुपर्ने उल्लेख गरेका छन् ।

उनले स्थानीय निकायको आधा बजेट स्वास्थ्य र शिक्षा क्षेत्रमा छुट्याउनु पर्ने, गैरकानुनी रूपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गरेर दोषीमाथि कारबाही गरिनुपर्ने, सबैखाले स्वास्थ्य संस्थाको नेतृत्व स्वास्थ्यकर्मीले गर्नुपर्ने, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गरिनुपर्ने, यसअघि सरकारले गरेका सम्झौता अनुरूपका सबै काम तुरुन्त सुरु गरिनुपर्ने माग पनि गरेका छन् ।

‘जनताको प्रत्यक्ष सरोकार भएको स्वास्थ्य र चिकित्सा शिक्षामा लगानी नगर्ने तर माफियासँग मिलेर अर्बौंका भ्यूटावर निर्माण गर्ने प्रवृत्तिले राजनैतिक नेतृत्व जनताका समस्याप्रति गम्भीर नभएको पुष्टि हुन्छ,’ डा. केसीले विज्ञप्तिमा भनेका छन्, ‘एक वर्षदेखि लगातार प्रधानमन्त्री देउवाले आश्वासन दिने तर काम नगर्ने प्रवृत्ति दोहऱ्याएका छन् ।’

चिकित्सा क्षेत्र र चिकित्सा शिक्षा सुधारकालागि लामो समयदेखि संघर्षरत डा. केसी यसअघि डडेलधुरामा १९ दिन लामो अनसन बसेका थिए । त्यति बेला प्रतिपक्षी दलका नेता रहेका देउवाले समस्या समाधानका लागि आफू अगाडि सर्ने बताएपछि डा. केसीले अनशन स्थगित गरेका थिए ।

गत वर्ष यस्तै माग राखेर उनले जुम्लामा १९औं सत्याग्रह गरेका थिए । सोमबार दिउँसो धनगढी पुगेका डा. केसीले साँझ ५ बजेदेखि आमरण अनशन सुरु गरेका हुन् । धनगढीको कृष्ण मन्दिरको धर्मशालामा २०औं सत्याग्रह सुरु गर्नुअघि डा केसीलाई भेट्न धनगढी उपमहानर प्रमुख गोपाल हमाललगायत पुगेका थिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?