९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

मानव विकास सूचकांकमा नेपाल ३ वर्षयताकै कमजोर

नेपालको मानव विकास सूचकांक तीन वर्षयताकै कमजोर देखिएको छ । संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी)ले सार्वजनिक गरेको प्रतिवेदनले सन् २०१८ देखि २०२१ सम्म नेपालको मानव विकास सूचकांक निरन्तर ओरालो लागेको देखाएको हो ।

युएनडिपीले सार्वजनिक गरेको मानव विकास प्रतिवेदन २०२१/२२ ले नेपालको मानव विकास सूचकांक (एचडिआई) मूल्य ०.६०२ देखिएको छ । जुन तीन वर्षयताकै न्यून हो । त्यसअघि २०१९/२० मा नेपालको मानव विकास सूचकांक मूल्य ०.६०४ थियो भने सन् २०१८/१९ मा ०.६११ रहेको थियो । पछिल्ला तीन आर्थिक वर्षयता नेपालको मानव विकास सूचकांक मूल्य ०.००९ ले घटेको छ ।

युएनडिपीका अनुसार मानव विकास मापन गरिएका एक सय ९१ मुलुकमध्ये नेपाल एक सय ४३औँ स्थामा रहेको छ । गत वर्ष नेपाल एक सय ४२औँ स्थानमा रहेको थियो । सन् २०१९ मा नेपाल एक सय ४७औँ स्थानमा रहेको थियो । समीक्षा अवधिमा नेपालमा लैंगिक समानतामा राम्रो सुधार देखिएको छ । नेपालको लैंगिक विकास सूचकांक ०.८९७ छ । महिलाको मानव विकास सूचक ०.५४९ रहेको छ भने पुरुषको ०.६१२ छ ।

नेपालीको औसत आयु ७०.५ वर्ष छ, जसमा महिलाको औसत आयु ७१.९ वर्ष र पुरुषको ६९ वर्ष छ । कुल प्रतिव्यक्ति राष्ट्रिय आय (जिएनआई) दुई हजार सात सय ४८ अमेरिकी डलर छ । यसमा महिलाको जिएनआई दुई हजार एक सय १३ अमेरिकी डलर र पुरुषको तीन हजार पाँच सय १० अमेरिकी डलर छ ।

 ऊर्जामन्त्रीले गरिन् प्रतिवेदन सार्वजनिक 
‘अनिश्चित समय, अस्थिर जीवन : परिवर्तित विश्वमा हाम्रो भविष्य’ शीर्षकमा युएनडिपीले सोमबार काठमाडौंमा प्रकाशित गरेको यस वर्षको मानव विकास प्रतिवेदन ऊर्जामन्त्री पम्फा भुसालले सार्वजनिक गरिन् । प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री भुसालले अप्रत्याशित महामारीले मानव विकासलाई उल्ट्याएको बताइन् । युएनडिपीका एसिया र प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालको मावन विकास सूचकांक मूल्य दक्षिण एसियामा कमजोर देखिएको बताए । उनले युएनडिपीको प्रतिवेदनले दक्षिण एसियामा नेपाल पाकिस्तान र अफगानिस्तानभन्दा राम्रो अवस्था रहे पनि अन्य देशको तुलनामा कमजोर रहेको बताए । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले संविधानले मानव सूचकांकको विकासका लागि जोड दिएको बताए ।

 मध्यम मानव विकास सूचकांकमा नेपाल, तर मूल्य कम
युएनडिपीले मानव विकास सूचकांक मापन गरिएका एक सय ९१ देशलाई अति उच्च, उच्च, मध्यम र न्यून गरी चार भागमा छुट्याएको छ । नेपाल मध्यम मानव विकास सूचकांकको श्रेणीमा छ । मध्यम मानव विकास सूचकांकको श्रेणीमा नेपाल, भारत, भुटान, बंगलादेशसहित ४४ देश छन् । उच्च मानव विकास सूचकांकको सूचीमा सार्कबाट श्रीलंका र माल्दिभ्ससहित विश्वका ४९ देश छन् । अति उच्च मानव विकास सूचकांक भएका देश ६६ वटा रहेका छन्, जसमा दक्षिण एसियाका कुनै पनि देश पर्न सकेका छैनन् । न्यून मानव विकास सूचकांक भएका देशको संख्या ३२ वटा छन्, जसमा दक्षिण एसियाली मुलुक अफगानीस्तान र पाकिस्तानसमेत सूचीकृत छन् ।

 दक्षिण एसियाको औसतभन्दा नेपाल कमजोर
दक्षिण एसियाको औसत मानव विकास सूचकांक मूल्यभन्दा नेपालको कम देखिएको छ । युएनडिपीका अनुसार दक्षिण एसियाको मानव विकास सूचकांक मूल्य ०.६८५ रहेको छ, जुन नेपालको भन्दा ०.०८३ ले बढी हो । अघिल्लो वर्ष सन् २०२० मा दक्षिण एसियाको मानव विकास सूचकांक मूल्य ०.६८७ रहेको थियो । दक्षिण एसियाको सूचकांक बढ्दा नेपालको भने झन् खस्किएको हो ।

 पहिलो स्विट्जरल्यान्ड, अन्तिममा दक्षिण सुडान
युएनडिपीका अनुसार मानव विकासमा ०.९६२ सूचकांकका साथ स्विट्जरल्यान्ड पहिलो स्थानमा रहेको छ । अफ्रिकी मुलुक दक्षिण सुडान ०.३८५ सूचकांकका साथ मानव विकासमा अन्तिम अर्थात् ११९औँ स्थानमा रहेको छ । धेरै उच्च मानव विकास भएका १० मुलुकमा स्विट्जरल्यान्डका साथै नर्वे, आइसल्यान्ड, हङकङ, अस्ट्रेलिया, डेनमार्क, स्विडेन, आयरल्यान्ड, जर्मनी र नेदरल्यान्ड रहेका छन् । मानव विकास सूचकांकमा बेलायत १८औँ, जापान १९औँ, अमेरिका २१औँ र चीन ७९औँ स्थानमा रहेका छन् । मानव विकास सूचकांकको अन्तिम सूचीमा रहेका १० देशमा दक्षिण सुडानसहित चड, नाइजर, सेन्ट्रल अफ्रिकन रिपब्लिक, बुरुन्डी, माली, मोजाम्बिक, बुर्किना फासो, यमन र गिनी रहेका छन् ।

मानव विकासको प्रगतिलाई महामारीले उल्ट्यायो
पम्फा भुसाल मन्त्री, ऊर्जा मन्त्रालय

प्राकृतिक सुन्दरता र स्रोत–साधनले भरिपूर्ण हाम्रो देश नेपालले मानव विकास सूचकांकमा अझै प्रगति गर्नुपर्नेछ । असमानता, जलवायुजन्य विपद्, द्रुत प्राविधिक नवप्रवर्तन, अप्रत्याशित महामारीजस्ता कारणले मानव प्रगतिलाई चुनौती दिएको छ । जसले मानव विकासमा भएको प्रगतिलाई अप्रत्याशित रूपले उल्ट्याउने काम गरेको छ । कोभिड–१९ महामारी, विभिन्न प्राकृतिक विपत्ति, पछिल्लो समय विश्वमा देखापरेका अस्थिर घटनाक्रमका बाबजुद पनि नेपालले मानव विकास सूचकांक स्थिर कायम राख्न सफल भएको छ । यसलाई सकारात्मक मान्न सकिन्छ, यद्यपि हामीले यस क्षेत्रमा अझ धेरै गर्न बाँकी छ । गुणस्तरीय जीवन यापनका लागि जनताको क्रयशक्ति बढाउन आवश्यक छ । त्यसका लागि देशको अर्थतन्त्र सबल हुनुपर्छ । @nayapatrikadaily.com

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?