लक्ष्मण घिमिरे ।
अर्घाखाँची । सत्ता गठबन्धनमा ११० भन्दा बढी निर्वाचन क्षेत्रको सिट बाँडफाँटमा सहमति भइसकेको छ । निर्वाचन क्षेत्रगत रुपमा छलफल गर्दै जाँदा धेरै जसो ठाउँमा कुरा मिलेपनि दलले पाउने कुल सिट संख्याको कुरा आउँदा फेरि हिसाब बिग्रिने गरेको छ ।
११० सिटको बाँडफाँटमा सहमति हुँदा अर्घाखाँची जिल्ला कांग्रेसको भागमा परेको छ । एक मात्र प्रतिनिधीसभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँची नेपाली कांग्रेसको भागमा परेको हो । अर्घाखाँचीमा नेकपा माओवादी केन्द्रले पार्टी सचिव चक्रपाणी खनाल बलदेव, अर्का सचिव डिलाराम आचार्य र जाकिर हुसेनलाई उम्मेद्वार सिफारिस गरेको थियो ।
नेपाली कांग्रेस अर्घाखाँचीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रतिनिधीसभाका उपसभामुख पुष्पा भुसालसहित ५ जनाको नाम सिफारिस भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको बैठकले उपसभामुख भुसालसहित पुर्वमन्त्री रेवती प्रसाद भुसाल, डा. रामबहादुर बिसी, लेखनाथ पोख्रेल र डा. मुक्तीराम श्रेष्ठको नाम सिफरिस भएको कांग्रेस अर्घाखाँचीले जनाएको छ ।
लुम्बिनी प्रदेशको अर्घाखाँची कांग्रेसको भागमा परेको छ भने पाल्पाको २ क्षेत्रमध्ये कांग्रेस र एकीकृत समावादीले १–१ वटा लिनेछ । कांग्रेस नेताहरुले १ एकीकृत समाजवादीलाई दिएर २ लिन चाहेका छन् । तर माधवकुमार नेपालले आफ्ना सम्धीसमेत रहेका सोमप्रसाद पाण्डेलाई क्षेत्र नम्बर २ मा नै निरन्तरता दिन चाहेकाले सहमति जुटेको छैन ।
यस्तै गुल्मीको १ कांग्रेसले लिनेछ भने २ एकीकृत समावादीलाई छाड्न गठबन्धनका दलहरु सहमत भएका छन् । प्युठान राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई छाड्न गठबन्धनमा दलहरु सहमत भएका छन् । रुकुम पूर्व र रोल्पा माओवादी केन्द्रको भागमा परेको छ भने दाङको १ एकीकृत समाजवादी, २ माओवादी र ३ कांग्रेसको भागमा परेको छ ।
बाँकेको क्षेत्र नम्बर १ माओवादी, २ जसपा र ३ कांग्रेसले लिने छन् भने बर्दियाको १ कांग्रेस र २ माओवादीको भागमा पर्ने लगभग टुंगिएको छ । नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ मा कांग्रेस, माओवादी र जसपाको दाबी छ भने २ कांग्रेसलाई छाड्न सत्तारुढ गठबन्धनका दलहरु सहमत देखिएका छन् । रुपन्देहीको १ मा कांग्रेस, जसपा र एकीकृत समाजवादीको दाबी छ भने २ मा कांग्रेस र जसपाको दावी छ। बाँकी ३, ४ र ५ मा कांग्रेसलाई छाड्न अरु दल सहमत भएका छन् । कपिलवस्तुको १ माओवादी केन्द्रले लिनेछ भने २ र ३ कांग्रेसको भागमा परेको छ ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुले अब केही दिन प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गर्ने छैनन् । २ र ३ असोजमा समानुपातिक निर्वाचन पद्धतिको बन्दसूची बुझाउनुपर्ने भएकाले दलहरु त्यसतर्फ केन्द्रित भएका छन् ।