लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीमा संविधान दिवस रचनात्मक कार्यक्रम गरी मनाइएको छ । ८औं संविधान दिवस अन्तर्गत तीन दिन विभिन्न रचनात्मक कार्यक्रम गरि मनाईएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए ।
ब्याड्मिन्टन प्रतियोगिता, कुर्सी दौड प्रतियोगिता र भलिबल प्रतियोगिता लगायतका खेलकुद सम्पन्न गरिएको छ भने दिवसमा प्रभातफेरी पनि सम्पन्न गरिएको थियो । संविधान दिवस २०७९ को अवसरमा शुभकामना आदान प्रदान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेर कार्यक्रमको समापन गरिएको छ। विभिन्न प्रतियोगिता सम्पन्न भएपश्चात डिभिजन बन कार्यालय अर्घाखाँचीको सभाहलमा प्रवचन कार्यक्रम तथा विजेता र उपविजेताहरु लाई प्रमाणपत्र तथा मेडलले सम्मान गरिएको छ।
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
कार्यक्रम जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख तथा मुल समारोह समितिका अध्यक्ष जिवनारायण कोइरालाको अध्यक्षता, भुमिकास्थान नगरपालिका आलेप अधिकृत हिमा न्यौपानेको स्वागत मन्तव्य तथा शेषकान्त घिमिरे ओशनको संचालनमा सम्पन्न भएको हो ।
मालारानी गाउँपालिकाले पनि भव्य रुपमा मनायो दिवस
मालारानी गाउँपालिकाले पनि विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । संविधान दिवसको अवसरमा मालारानी गाउँपालिकामा अन्तर मावी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले जानकारी दिए । कार्यक्रममा पालिका भित्रका १४ बिद्यालय सहभागी भएका थिए । कार्यक्रम गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराईको प्रमुख आतिथ्यता, उपाध्यक्ष दिपा पोख्रेलको विशिष्ट आतिथ्यता, प्रहरी निरिक्षक निरज चौलागाईं, गाउँपालिका प्रवक्ता तिलक मिश्र, लेखापाल टेक बिक्रम कुवर लगायत कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको हो । कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालको अध्यक्षता, पशुपति चुदालिको स्वागत मन्तव्य तथा हरिषचन्द्र पान्डेको सन्चालनमा सम्पन्न भएको हो ।
दिवसको अवसरमा कर्मचारी र जनप्रतिनिधि बिच शुभकामना आदानप्रदान, कार्यालयमा दिपावली, खेलकुद प्रतियोगिता समेत सम्पन्न गरिएको सुचना अधिकारी पदम आचार्यले जानकारी दिए।
अन्य पालिकामा दिप प्रज्वलन
शितगंगा नगरपालिकाले संविधान दिवसको अवसरमा शितगंगा नगरपालिकामा दिप प्रज्वलन गरी दिवस मनाएको छ । दिप प्रज्वलन तथा शुभकामना आदान प्रदान बाहेक अन्य कुनै कार्यक्रम नगरिएको प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनालले जानकारी दिए । यस्तै पाणिनी गाउँपालिकामा पनि पालिका परिसरमा दिप प्रज्वलन गरी दिवस मनाईएको छ । अन्य कार्यक्रमहरु गर्ने भनिएपनि भारी वर्षाका कारण स्थगित गर्नुपरेको गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले जानकारी दिए । छत्रदेव गाउँपालिकामा पनि दिपावली गरी दिवस मनाईएको थियो ।