१६ मंसिर २०८१, आइतवार
१६ मंसिर २०८१, आइतवार

चुनावका लागि आवश्यक मतपत्र छपाइको काम सकियाे

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि आवश्यक मतपत्र छपाइको काम सकिएको छ । चुनावका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्रको छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो । आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई प्रत्यक्ष निर्वाचनतर्फका मतपत्र छपाउन दिएको थियो।

आयोगले केन्द्रलाई यही कात्तिक २० गतेसम्मको समयसीमा दिएकोमा दुई दिन अगावै मतपत्र छपाइको काम सकिएको हो । आज शुक्रवार निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले केन्द्रको अवलोकन गरेका थिए ।

उनले ८ करोड ३ लाख ९४ हजार ५ सय मतपत्र छपाइ सकिएको र नमुना मतपत्र २२ लाख गरी झन्डै ८ करोड २५ लाख मतपत्र छापिएको बताए। निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेशमा ढुवानी सम्पन्न भइसकेको जानकारी दिए ।

अब प्रदेश १, मधेस प्रदेश र बाग्मती प्रदेशमा चाँडै मतपत्र ढुवानी हुने उनले बताए । उनले मतपत्र छाप्ने काम चुनौतीपूर्ण रहे पनि सबैको सहयोगमा समयभन्दा अगाडि नै सकिएको बताए ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब ४ करोड मतपत्र छापिसकिएको आयोगले जनाएको छ । आयोगको पछिल्लो तथ्याङ्कअनुसार चुनावमा कुल १ करोड ७९ लाख ८५ हजार ७० जना मतदाता रहेका छन् । यी मतदाताहरुले समानुपातिक तथा प्रत्यक्ष दुई प्रणालीका लागि चार वटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ । जसअनुसार आउँदो चुनावका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?