अस्ट्रेलियाको एक अदालतले आफ्नो प्रेमीको हत्या गर्ने एक महिलालाई २७ वर्षको जेल सजाय सुनाइएको छ । कानुनी कारणले नाम नखुलाइएकी ती ३४ वर्षीया महिलाले उनको प्रेमीलाई बन्चरोले हानेर हत्या गरेकी थिइन् । महिलाले इर्ष्यावश बदला लिन प्रेमीको हत्या गरेको अनुसन्धानकर्ताले बताए ।
मृतकको हत्याले उनलाई माया गर्नेहरूमाथि गहिरो चोट परेको छ । उनका नजिकका व्यक्तिमा परेको शोकलाई केहीले पनि कम गर्न सक्दैन,’ अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सर्वोच्च अदालतका न्यायाधीश नटाली एडम्सले शुक्रबार सजाय सुनाउँदा भनिन् । महिलाले सेप्टेम्बर २०२० मा सिड्नीको एक घरमा सुतेर आईप्याड हेरिरहेका प्रेमीलाई बन्चरोले हानेर मारेकी थिइन् । लामो समयदेखिका ती पार्टनरको (सँगै बसोबास गर्ने प्रेमी) हत्या गर्नुअघि उनले गुगलमा कसरी सजिलै मार्ने भन्ने कयौं सर्च गरेको पाइएको छ । अदालतमा उनले सर्च गरेको केही पदावली पढेर सुनाइएको थियो ।
कसैलाई बन्चरोले मार्ने हो भने, शरीरको कुन भागमा हान्नुपर्छ ?’, ‘ कसैलाई उम्लिरहेको तातो पानीले मार्न सकिन्छ रु’, ‘के चक्कुले मान्छे मार्न साच्चै सजिलो हुन्छ ?’ जस्ता तथ्य सर्च गरेको अनुसन्धानदाताले पाएका छन् । हत्या गर्नुभन्दा केही अघि भने उनले ‘कसैलाई सबैभन्दा छिटो मार्न शरीरको कुन भागमा बन्चरोले हान्नुपर्छ ?’ भनेर सर्च गरेको पाइएको छ ।
शुक्रबार फैसला सुनाउने क्रममा न्यायाधीशले ती जोडीबीच ‘अस्थिर’ र ‘हिंसाले भरिपूर्ण’ सम्बन्ध रहेको बताएकी थिइन् । मारिएका पुरुषविरुद्ध सन् २०१०,२०११ र २०१९ मा हाल हत्या गर्ने महिलाविरुद्ध हिंसा गरेको आरोप लागेको थियो ।
मुद्दाबारे सहमत तथ्यहरू अनुसार, हत्या हुनुअघि पीडित पुरुष अर्कै महिलासँग बस्न थालेका थिए, जसले हत्यारा महिलालाई खतरनाक, हिंसात्मक बताएका थिए । त्यसपछि ती नयाँ महिलाले हत्यारा महिलालाई १९ म्यासेज पठाएर ‘उसको पुरुषले नयाँ महिलासँग यौन सम्बन्ध गरिरहेको’ बताएकी थिइन् ।
सोही दिन उनले पुरुषको हत्या गरेकी थिइन् । ३४ वर्षीया महिलाले पछि प्रहरी कहाँ गएर हत्याको स्वीकारोक्ति गरिन् तर प्रहरी सामु उनले प्रेमीले छुरा ल्याएकोजस्ता अनेक झुट बोलेकी थिइन् । अदालतको सजाय अनुसार महिलाले अब नोभेम्बर २०३९ मा मात्र उनलाई दिएको सजाय छुटको लागि निवेदन दिन सक्छिन् ।