९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

अर्घाखाँचीमा भुसाललाई गठबन्धनको बल, रायमाझीलाई ‘पपुलर’ भोटको आस

लक्ष्मण घिमिरे ।
अर्घाखाँची  । आउँदो मंसिर ४ गते हुने प्रतिनिधीसभा निर्वाचनका लागी एक मात्र संघिय निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसाल तथा नेकपा एमालेका सचिव टोप बहादुर रायमाझी बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

११ जना संघिय उम्मेद्वार रहेपनि जिल्लामा दुई जनाबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । करिब १० वर्षपछी प्रत्यक्ष चुनाव लड्न लागेकी भुसाल र १५ वर्षदेखी निरन्तर सांसद रहदै आएका रायमाझी पहिलो पटक आमने–सामने हुन लागेका छन् । २०७४ सालको निर्वाचनमा एमालेसंगको तालमेलमा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित रायमाझी र कांग्रेसबाट समानुपातिक सांसद बनेकी भुसाल पहिलो पटक संघको निर्वाचनमा प्रतिस्पर्धामा छिन् ।

२०६४ सालको संविधानसभा निर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर १ बाट रायमाझी र क्षेत्र नम्बर २ बाट भुसाल निर्वाचित भएका थिए । रायमाझीले त्यस यताका सबै निर्वाचन जित्दै आएका छन् भने भुसालले २०७० सालको निर्वाचनमा नेकपा एमालेका दुमन थापासंग हार व्यहोरेकी थिईन् । २०७४ सालमा भुसाल प्रत्यक्ष निर्वाचन नलडेर समानुपातिकमा बसेकी थिईन् ।

संघ र प्रदेश निर्वाचनमा गठबन्धनबाट उम्मेद्वार बनेकी भुसाल र एमालेका उम्मेदवार रायमाझीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धनकी उम्मेद्वार भुसालले हालसम्म प्राप्त उपलब्धीको रक्षा गर्न सके मात्र आगामी भविष्य निर्धारण हुने भएकोले संविधान जोगाउँदै देशलाई आर्थिक रुपान्तरणको बाटोमा लैजान सकिने बताईन् । उपसभामुख सम्म बनेकी भुसालका सन्दर्भमा संविधान बनाउन भुमिका खेलेको भएपनि विकासमा खासै चाँसो नदिएको आरोप लाग्दै आएको छ ।

तिन पटकसम्म प्रतिनिधिसभामा निर्वाचित नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी नेकपा माओवादी केन्द्रबाट २०६४, २०७० र २०७४ सालको निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चा गठबन्धनबाट निर्वाचित भएका थिए । नेकपा विघटन हुँदा माओवादी छोडेर ओली कित्तामा उभिएका रायमाझी अहिले नेकपा एमालेमा छन् । रायमाझीले पुराना अधुरा काम पूरा गर्न तथा नेकपा एमालेसंग मात्र राष्ट्र बनाउने भिजन भएकाले आफ्नो जित आवश्यक भएको बताउँदै आएका छन् । नेतृत्वमा रहँदा चार पटक मन्त्री तथा उपप्रधानमन्त्री समेत भईसकेका रायमाझीले उल्लेख्य काम गर्न नसकेको गुनासो छ ।

भुसाल र रायमाझीका अलावा अन्य ९ जना पनि प्रतिस्पर्धामा छन् । तर, उनीहरुको प्रभाव न्युन रहेको अनुमान गरिएको छ । संघिय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका खलिल मियाँ, जनता समाजवादी पार्टी नेपालका नेत्र बहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका हरी प्रसाद भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका होम नारायण बेल्बासे, हाम्रो नेपाली पार्टीका दुर्गा बन्जाडे लगायत प्रतिस्पर्धामा छन् । अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्यका लागि ११ जना, प्रदेश सभा (क) का लागि ७ र प्रदेश सभा (ख) का लागि ७ जना उम्मेदवार रहेका छन् ।

मुख्य प्रतिस्पर्धी मानिएका भुसाल र रायमाझीको चुनाव लक्षित कार्यक्रमले तिव्रता पाउँदै जाँदा कसले बाजी मार्ने भन्ने रोचकता बढ्दै गएको छ । लगातार तिन पटक निर्वाचन आफ्नो पक्षमा पारिसकेका रायमाझी चौथो जित निकाल्दै अपराजित यात्रा कायम राख्ने कसरतमा छन् भने अर्घाखाँचीबाट एक मात्र महिला उम्मेद्वार रहेकी भुसाल गठबन्धनको साख जोगाउँदै रायमाझीको अपराजित यात्रालाई पुर्णविराम लगाउने दाउमा छिन् ।

गएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा गठबन्धन करिब पाँच हजार ५ सय मतले अगाडि छ । तर, निर्वाचनमा चार हजार बढी मत बदर भएकोमा त्यसलाई आधा–आधा गर्दा पनि गठबन्धन सात हजार ५ सयले अँघी रहेको नेपाली कांग्रेसका जिल्ला सभापती केशव श्रेष्ठले दावी गरे ।

रायमाझीले आफुलाई दस हजार भन्दा बढी ‘पपुलर’ मत खस्ने दावी गरेका छन् । गठबन्धन मतमा अगाडि भएपनि स्थानिय तहमा आफुहरुको बहुमत रहेकाले संघिय तथा प्रदेश निर्वाचन नेकपा एमालेले जित्ने दावी गरे ।

गठबन्धन भित्र असन्तुष्टी जनाउँदै राष्ट्रिय जनमोर्चा र नेकपा एकिकृत समाजवादीले उम्मेद्वारी दर्ता गराएका थिए । छलफल पछी उम्मेद्वारी फिर्ता लिएर भुसाललाई समर्थन गरेपछी अहिले गठबन्धन एकजुट छ । यस अवस्थामा गठबन्धनको अवस्था बलियो देखिएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (60%)
  • दुःखी (0%)
  • अचम्मित (20%)
  • हाँस्यास्पद (20%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?