सन्धिखर्क–गोरुसिंगे सडक, नौमुरे जलविद्युत र जिल्ला अस्पताल प्राथमिकता: टोपबहादुर रायमाझी

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेकपा एमालेका केन्द्रिय सचिव टोपहबहादुर रायमाझीले विकासमा फड्को मार्ने बताएका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने लक्ष्यलाई पूरा गर्न आफु दत्तचित्त भएर लाग्ने उनले बताए ।
एमालेले विकास र समृद्धिको माध्यमबाट समाजवादमा पुग्ने लक्ष्य राखेकाले सोही अनुसार अगाडि बढ्न सबैसंग समन्वय र सहकार्य गरेर अँगाडी बढ्ने बताए । पूर्व उपप्रधानमन्त्री भइसकेका रायमाझीले बिहीबार प्रमाणपत्र ग्रहण गर्दै बाँकी रहेका अधुरा काम संगसंगै नयाँ आयोजनालाई प्राथमिकतामा राखेर काम गर्ने बताए। अर्घाखाँचीको सन्धिखर्क–गोरुसिंगे सडक, सालझन्डी–ढोरपाटन सडक र जिल्ला अस्पताललाई स्तरोन्नती गर्ने पनि रायमाझीले प्रतिबद्धता व्यक्त गरे । ‘यहाँका प्रमुख सडक स्तरोन्नती हुनेछन्, नौमुरेलाई अँघी बढाईनेछ’उनले भने,‘अर्घाखाँची अस्पताललाई स्तरोन्नती गरिनेछ र नयाँ आयोजना थप गरिनेछ ।’
एक प्रतिनिधिसभा तथा दुई प्रदेशसभा रहेको अर्घाखाँचीमा प्रदेश र संघमा निर्वाचीत सांसदलाई मुख्य निर्वाचन कार्यालय अर्घाखाँचीले प्रमाणपत्र प्रदान गरेको छ । जिल्लाबाट चौथो पटक प्रतिनिधि सभामा निर्वाचित एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी र प्रदेश सभामा दुई पटक निर्वाचित प्रदेश सभा (क) मा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र प्रदेश सभा (ख)मा एमालेका नेता रामजी प्रसाद घिमिरे लाई मुख्य निर्वाचन कार्यालय अर्घाखाँचीका प्रमुख तथा जिल्ला न्यायाधिश श्रीकृष्ण भट्टराईले आजबाट आधिकारीक सांसद भएको भन्दै प्रमाण पत्र प्रदान गरे ।
कार्यक्रममा तिनै जना सांसद, जिल्ला समन्वय प्रमुख जिवनारायण कोईराला, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक मुकुन्द रिजाल, सशस्त्र प्रहरी नायब उपरिक्षक संगम श्रेष्ठ, इश्वरी बक्स गुल्म, अर्घाखाँचीका प्रमुख बासुदेव पंगेनी, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
मंसिर ४ गते भएको संघिय निर्वाचनमा उनले नेपाली कांग्रेसका उम्मेद्वार पुष्पा भुसाललाई १ हजार ७३० मतान्तरले पराजित गर्दै संसदको यात्रा तय गरेका हुन् । रायमाझीले ४२ हजार ६७५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पुष्पा भुसालले ४० हजार ९४५ मत प्राप्त गरिन् ।
अर्घाखाँचीमा बलियो मानिएको गठबन्धनलाई परास्त गर्दै नेकपा (एमाले) ले ‘क्लीन स्वीप’ गरेको छ । एक प्रतिनिधीसभा र दुई प्रदेशसभा रहेको जिल्लामा एमालेले सबै क्षेत्र जित्दै ईतिहास रचेको हो ।
प्रदेशसभा ‘क’ मा चेतनारायण आचार्यले ७४० मतान्तरले विजय हासिल गरे । आचार्यले २० हजार ५१८ मत पाउँदा राष्ट्रिय जनमोर्चाका सागर केसीले १९ हजार ७७८ मत पाए । यस्तै प्रदेशसभा ‘ख’ मा रामजी प्रसाद घिमिरे ८०१ मतान्तर सहित विजयी भए । घिमिरेले २२ हजार ७७६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका कमल प्रसाद भुसालले २१ हजार ९७५ मत प्राप्त गरे ।