१० असार २०८१, आइतवार
१० असार २०८१, आइतवार

प्रभु साह संग मिलेर नयाँ पार्टी खोल्दैछु: अमरेशकुमार सिंह

मंसिर ४ मा भएको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका अमरेशकुमार सिंह सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सांसद बने। माछा चिन्हबाट चुनाव लडेका सिंहले २० हजार १७ मत ल्याएर जित्दा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता नागेन्द्र कुमार पराजित भए।

अमरेशकुमार २०७४ सालको चुनावमा कांग्रेसबाट उम्मेदवार भई यो क्षेत्रबाट निर्वाचित भएका थिए। तर यसपालि कांग्रेसले उनलाई टिकट दिएन। कांग्रेसले टिकट नदिएपछि अमरेशकुमार स्वतन्त्र रूपमा उठेका थिए।

चुनाव जितेर आएपछि अमरेशकुमारले नयाँ पार्टी गठनका लागि पहल गरिरहेका छन्। एमालेले दिएको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिई रौतहट ३ बाट जितेका प्रभु साहलगायतसँग उनले छलफल तीव्र पारेका छन्।

पार्टी गठनका बारे अमरेशकुमार सिंहसँग  गरेको संक्षिप्त अन्तर्वार्ताको सम्पादित अंश:

तपाईंहरूले नयाँ पार्टी बनाउन लाग्नुभएको हो ?

छलफल चलेको हो। अहिले नै कुनै पार्टी गठन भइसकेको छैन।

नयाँ पार्टी गठनको सम्भावना के छ ?

पार्टी गठनबारे छलफल चलेको हो। नेपाली कांग्रेस, नेकपा एमालेलगायत मुख्य दलप्रति अहिले जनताको अविश्वास देखिएको छ। यस्तो अवस्थामा ५० वर्ष उमेर वरपर पुगेकाहरू सहभागी भई एउटा विकल्प दिने कि भनेर कुराकानी भएको हो।

हाम्रो सोचाइ नेपालमा लोकतन्त्र छैन। नेपालमा दलतन्त्र छ र त्यसमा नेतातन्त्र छ। नेताको विरोधमा बोल्न नहुने, छलफल गर्न नहुने, सैद्धान्तिक बहस नहुने, नेताले जे भन्यो त्यही हुने यस्तो स्थिति प्रभु साह पनि मान्न तयार हुनुहुन्न, म पनि तयार छैन।

उसो भए नयाँ पार्टी बनाउनेबारे प्रभु साह र तपाईंबीच छलफल भइरहेको छ ?

छलफल भएको हो। हामी विभिन्न मोडालिटीको कुरा गरिरहेका छौं।

कहिलेसम्म गठन होला पार्टी ?

म केही दिन बाहिर गएको थिएँ। त्यसअघि उहाँसँग छलफल भएको हो। अहिलेसम्म खासै पार्टी गठनको खाका बनिसकेको छैन, नाम त पछिको कुरा हो। तर यो कुरा भएको छ कि, नेपालको प्रजातन्त्र र पार्टी सिष्टम अब यसरी चल्दैन। भागबन्डा अब चल्दैन।

भनेपछि तपाईंहरूले वैकल्पिक पार्टी बनाउन खोज्नुभएको ?

हो, किनभने मधेशमा राजनीतिक पार्टीको अभाव देखियो।

नाम के रहन्छ ?

यसमा छलफल भएको छैन। यसका लागि लामो समय लाग्छ। पार्टी गठनमा इन्कार गर्न सकिन्न तर नाम तय भइसकेको छैन। हामी देशभरका युवा भेला गर्ने र विकल्प दिने सोचमा छौं।

त्यो पार्टी कस्तो हुन्छ ? 

हामी विधान नै बनाएर ५०-६० वर्ष माथिकालाई राजनीतिमा ल्याउँदैनौं, नेता बनाउँदैनौं। यो पार्टी युवाहरूको हुनेछ। बुढो भइसक्दा पनि उसलाई प्रधानमन्त्री वा पार्टी अध्यक्ष चाहियोरु अब यो चल्दैन।

अन्तिममा तपाईं कांग्रेसमा फर्किने सम्भावना छ कि छैन ?

छैन, छैन। कांग्रेसमा कसरी फर्कने? यो त जनताको म्यान्डेटको अपमान हुन्छ नि। मैले कांग्रेसकै उम्मेदवारलाई हराएको हुँ नि ! जनताले मलाई कांग्रेस उम्मेदवारको विकल्पमा भोट दिएको हो। कांग्रेसले मलाई टिकट दिन उपयुक्त ठानेन तर जनताले त जिताएर पठाए। के खान फेरि कांग्रेसमा जाने ? कांग्रेसमा शेरबहादुर देउवाकै भजन गाएर समय सकिने भयो।

तपाईंहरूको पार्टी चाँडै नै गठन भयो भने नयाँ बन्ने सरकारलाई समर्थन गर्छ कि गर्दैन ?

सरकार हाम्रो प्राथमिकता होइन, जनता प्राथमिकतामा छन्। हामी अर्को चुनावलाई लक्ष्य बनाएर देशव्यापी हामी भ्रमण गर्छौं। हामी राष्ट्रिय पार्टी बनाउने हो कुनै क्षेत्रीय होइन। हामी संगठनमा विश्वास गर्छौं र पारदर्शी हुन्छौं। नेताका सिन्डिकेट प्रणालीको विकल्पमा हामी आउनेछौं।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?