यसरी हुँदैछ नयाँ सरकार गठनको प्रक्रिया

यसरी हुँदैछ नयाँ सरकार गठनको प्रक्रिया

निर्वाचन आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ । राष्ट्रपतिले प्रतिवेदन बुझेपछि प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा निर्वाचित उम्मेदवारको नामावली नेपाल राजपत्रमा प्रकाशित हुनेछ ।

नेपालको संविधानको धारा ७६ को उपधारा (१) मा प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।निर्वाचन परिणामअनुसार एउटै दलको बहुमत नभएकाले उपधारा (२) अनुसार मन्त्रिपरिषद् गठनको विकल्पमा जानुपर्ने हुन्छ । उपधारा (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने उल्लेख छ ।

यही संवैधानिक व्यवस्थाअनुसार सरकार गठनका लागि दलहरूले बहुमत जुटाउने प्रयास गर्नुपर्ने हुन्छ । तर दुई वा दुईभन्दा बढी दलको समर्थनका आधारमा पनि सरकार गठन हुन नसकेमा चुनावको मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्य रहेको संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र त्यसरी नियुक्त हुने प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

आयोगले हिजो सार्वजनिक गरेको अन्तिम प्रतिवेदन अनुसार प्रतिनिधि सभातर्फ २ सय ७५ र प्रदेश सभातर्फ ५ सय ५० जना गरी कुल ८ सय २५ जना सासंद निर्वाचित भएका छन् । चुनाव–२०७९ बाट ७ वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् । राष्ट्रिय दलको मान्यता पाउन राजनीतिक दलले प्रतिनिधि सभामा समानुपातिकतर्फ कुल सदर मतको तीन प्रतिशत प्राप्त गरेको र प्रत्यक्षतर्फ एक सिट जितेको हुनुपर्छ ।

प्रतिनिधि सभातर्फ संसदमा १२ दलको प्रतिनिधित्व भएकोमा ७ दल कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत पार्टी राष्ट्रिय दल बनेका छन् । नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोसपा, नेमकिपा र राष्ट्रिय जनमोर्चाको जमानत जफत भएको छ । प्रत्यक्षमा एक सिट पनि नजित्ने ३५ वटा दल छन् ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *