१६ मंसिर २०८१, आइतवार
१६ मंसिर २०८१, आइतवार

सक्लान् त गगनले ?

यस पटकको आम निर्वाचन नेपालमा गहिरिँदो आम निराशाको उपचार गर्न लगभग असफल साबित भयो । फेरि पनि मुख्य दलहरूका परीक्षित नेता, तिनका परीक्षित नीति तथा शक्ति बाँडफाँटका दिक्कलाग्दा मोलतोलका खेलवरपर राजनीतिले चक्कर लगाइरहेको छ । यसै पनि नेपालको निर्वाचन प्रणालीले एउटै दललाई सुविधाजनक बहुमत ल्याउन असम्भवजस्तै बनाउँछ, त्यसमाथि गठबन्धन संस्कृतिको राम्रो अभ्यास भैसकेको छैन ।

तत्कालका लागि लाभ र हानिका हिसाब मिलान गर्ने र देशको दीर्घकालीन हितलाई आफ्ना अल्पकालीन स्वार्थका दरीमुनि घुसारेर निर्धक्क सत्तास्वादमा रमाउने दलीय अल्पतन्त्र हाम्रो राजनीतिको पन्छाउन मुस्किल पर्ने चुनौती बन्दै आएको छ । निर्वाचनले आउने पाँच वर्षका लागि यस्तो खेलका अनुभवी खेलाडीहरूकै हातमा संसद्को ताला–चाबी सुम्पेको छ । यसको प्रारम्भिक चरणको खेल आरम्भ भैसकेको छ । वैचारिक–सैद्धान्तिक दूरी सकिएका दलहरूका आन्तरिक र अन्तरदलीय स्वार्थ समूहका प्रतिनिधिबीच हुने शक्तिविन्यास र सरकार चलाउने टिमहरूको निर्माण–विनिर्माण नै आगामी पाँच वर्षको दिनचर्या हुनेछ ।

यसैबीच केही दिनपहिले नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस र एमालेबीच आगामी पाँच वर्षका लागि सत्ता–सहकार्यको प्रस्ताव गरेका छन् । सार्वजनिक मञ्चबाट गरिएको उक्त आह्वानपछि जेजस्तो दाउपेच रहेको भए पनि यसले एउटा कुरा प्रस्ट भन्छ— दुवै दलबीच न्यूनतम साझा कार्यसूची बनाएर सँगै यात्रा गर्न कुनै गम्भीर वैचारिक–सैद्धान्तिक दूरी छैन । एमाले र माओवादी केन्द्र, एमाले र कांग्रेस, माओवादी केन्द्र र कांग्रेसबीच सत्ता साझेदारीका लागि भइरहेका प्रयासहरूले भन्छन्— निर्वाचनका समयमा जनताबीच एकअर्काका बारेमा गरिएका कठोर आलोचना र लगाइएका आरोपहरूले छिटै आफ्नो अर्थ गुमाएका छन् ।

स्थापित दलको इतिहास, समाजमा रहेको प्रभाव र संगठन तथा स्रोत परिचालनको अवस्थाले निर्वाचन परिणामलाई प्रभावित गर्छ । यसपालि सहरी र अर्धसहरी इलाकाका मतदाताहरूको एउटा हिस्साले ठूला दलहरूप्रति मोहभंग भएको सन्देश मतमार्फत व्यक्त गरेको भए पनि समग्र निर्वाचन परिणामले पुरानै दल र नेताहरूलाई फेरि एक पटक देशको नेतृत्व गर्ने मौका दिएको छ । कतिसम्म भने, २०६० सालअघिदेखि नै राजनीतिक प्रणालीलाई भ्रष्टीकरण गर्ने भनेर सबैभन्दा धेरै बदनामी कमाएका शेरबहादुर देउवाकै नेतृत्वमा कांग्रेस संसद्को ठूलो दल भएको छ । सहरी क्षेत्रमा बढ्दो निराशा र आक्रोशबीच सकेसम्म युवाहरू नेतृत्वमा आऊन् भन्ने जबर्जस्त चाहनालाई निर्वाचनले अस्वीकार गरिदिएको छ । र अर्को प्रश्न पनि जबर्जस्त उठेको छ- के हाम्रा युवा नेताहरू सक्षम छन् ? यहाँ यसै प्रश्नको वरपर गगन थापाको सम्भावनामाथि चर्चा गरिनेछ ।

तत्कालका लागि नेतृत्व परिवर्तनको सम्भावना नदेखिए पनि निर्वाचनअघिदेखि नै कांग्रेस महामन्त्री गगन थापाले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका छन् । उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माको पनि साथ छ । कांग्रेसभित्र अस्ताउँदो पंक्ति देउवावरपर र उदाउँदो पंक्ति थापावरपर भएजस्तो देखिन्छ । गैरपार्टीवृत्तको उदारवादी खेमाका लागि गगन एक जना ‘चहेता’ हुन् । पश्चिमा शक्तिकेन्द्रहरूको समेत उनीप्रति झुकाव छ भनिन्छ । उनी मूलतः काठमाडौंको उच्च मध्यमवर्ग र पहाडे सम्भ्रान्तवर्गका प्रतिनिधि हुन् । उनले आफ्नो राजनीतिक कार्यक्रम सामाजिक प्रजातन्त्र भएको बताउँदै आएका छन् । प्रायः निधारमा रातो टीका र कपालमा फूलसहित देखा पर्नुले उनी नवअनुदारवादी खेमाको विश्वास जित्न प्रयासरत रहेको देखाउँछ । एकदम चर्को र छिटछिटो बोल्छन् अनि सधैं विद्यार्थी नेताजस्ता लाग्छन् । तर पार्टीको

महामन्त्री भैसकेका उनको दाबीलाई हल्का रूपमा लिन मिल्दैन । कांग्रेसको नेतृत्व र सम्भावनालाई नियाल्दा यी पाँच वर्षभित्रै गगनले कांग्रेस संसदीय दलको नेतृत्व हात पारे भने त्यसलाई अनौठो मान्नुपर्दैन । यदि उनले नेतृत्व गर्न पाए भने देउवा, प्रचण्ड वा ओलीले भन्दा भिन्न के परिणाम देलान् ? हामीसँग उपलब्ध स्रोत, हाम्रो नोकरशाही संयन्त्रको क्षमता, राज्यको संस्थागत क्षमता एवं दलहरूभित्र र बाहिरबाट सरकारको नीतिनिर्माणमा प्रभाव पार्ने स्वार्थ समूहलाई चित्त बुझाएर या व्यवस्थापन गरेर डेलिभरी दिन सकिन्छ ? अहिलेकै संवैधानिक व्यवस्थाभित्रबाटै व्यक्ति बदलिँदा सुधारको गुन्जायस पनि छ ?

राजनीतिको तेस्रो पुस्तामै रहेर पनि सर्वाधिक लोकप्रिय मत ल्याई कांग्रेस महामन्त्री बनेका गगन थापाप्रति मानिसहरूले एक प्रकारको आशा गरेका छन् । के उनले प्रधानमन्त्री हुने अवसर पाए भने यस्तो परिवर्तनको नेतृत्व गर्ने क्षमता राख्छन् ? यो निर्वाचनअघि र पछि पनि मलाई यो प्रश्नले लखेटिरहेको छ । यद्यपि म उनको राजनीतिक दल र विचारसँग विमति राख्छु । हामी हिँड्ने बाटो फरक छ, तर यथार्थ के हो भने, संसद्को पहिलो दलको संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने सम्भावना उनैको छ । यस्तो अवस्थामा उनको सम्भावनामाथि विचार र बहस गर्नु देशको राजनीतिक स्वास्थ्यका दृष्टिले आवश्यक पनि छ ।

उनको सम्भावनामाथि छलफल गर्नुअघि नेपालको सम्भावनाबारे कुरा गरौं । अर्थशास्त्रीय दृष्टिले विद्यमान अर्थतन्त्रको समष्टिगत आर्थिक सूचक नकारात्मक नै भए पनि मलाई नेपालले आर्थिक–सामाजिक विकासको फड्को मार्न सक्ने आधारहरू तयार भएको र त्यस्तो समय नाकैमुनि आएको जस्तो लाग्छ । कच्ची र प्रारम्भिक भए पनि सबै जिल्लालाई सडकले छोएको छ । दूर सञ्चारको साधन सबैतिर पुगेको छ । विद्यालय र स्वास्थ्य सेवाका सञ्जालले सबै भागलाई जोडेको छ । चिकित्सक, इन्जिनियर र व्यवस्थापनमा स्नातक तथा स्नातकोत्तर गरेको जनशक्ति पर्याप्त उत्पादन भएको छ । शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायातमा राज्यको प्रभावकारी भूमिकासहित गुणस्तर वृद्धि गर्दा जनशक्तिको उत्पादन र गतिशीलतालाई प्रभावकारी बनाउन सकिन्छ । प्रारम्भिक पुँजी सञ्चयको प्रक्रियालाई रेमिट्यान्सले गति दिएको छ । भइरहेको पूर्वाधारको स्तरोन्नति गर्दा वस्तु तथा सेवाको उत्पादन वितरण र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन धेरै समय लाग्दैन । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २३ प्रतिशतमा झरेको र सेवा क्षेत्रले झन्डै ६० प्रतिशत ओगट्न थालेपछि अर्थतन्त्रको संरचनागत परिवर्तन भएको मान्नुपर्छ । यद्यपि सामाजिक श्रम विभाजनले अझै पर्याप्त मात्रामा आधुनिक क्षेत्र ओगटिसकेको छैन । व्यापार र उद्योगका क्षेत्रमा रहेका आन्तरिक र बाह्य संरचनागत अवरोधहरू हटाउन सकेका खण्डमा केही वर्षभित्रै नेपाल आर्थिक विकासको ‘टेकअफ स्टेज’ मा पुग्न सम्भव छ । यसका लागि राजनीतिक नेतृत्वले इमानदार प्रयास गरे पुग्छ । त्यस्तो भूमिका प्रधानमन्त्रीले नै खेल्ने हो । के गगन थापासँग यस विषयमा प्रस्ट दृष्टिकोण र योजना होला ? के उनले सक्लान् त ? यस साता यी प्रश्न लिएर मैले उनलाई भेटेको थिएँ । जनआन्दोलनको पोस्टर ब्वाईका रूपमा हैन, कांग्रेस महामन्त्री र सम्भावित प्रधानमन्त्रीका रूपमा ।

प्रथमतः, प्रधानमन्त्रीका अधिकार संविधान र कानुनले सीमित गरिदिएको हुन्छ । दोस्रो, स्रोत सीमित छ र तेस्रो, प्रधानमन्त्री निश्चित समयका लागि मात्र हुन पाइन्छ र त्यति समयभित्रै परिणाम दिन सक्नुपर्छ भन्नेमा उनी प्रस्ट रहेछन् । उनीसँग प्रधानमन्त्री हुने दिन आफ्नो टेबलमा सरकारका कामका प्राथमिकता र तिनलाई हासिल गर्ने नीतिगत र कानुनी परिवर्तनका कार्यसूचीसहितको दृष्टिकोण हुने गरी विज्ञहरूको टिमले तयार पारेको योजना पनि तयार रहेछ । सरकारको काम र प्रधानमन्त्रीलाई प्रभावित गर्न सक्ने स्वार्थ समूहहरू र गठबन्धनको व्यवस्थापनको चुनौती झेल्न सहज हुँदैन र प्रधानमन्त्रीको समय त्यता जान्छ भन्नेमा पनि उनी प्रस्ट रहेछन् । स्वास्थ्य मन्त्रालयमा रहँदाका अनुभवसहित नोकरशाही संयन्त्रको परिचालन र क्षमताको उपयोगको सम्भावनाबारे उनी एक हदसम्म परिचित रहेछन् । उत्तरदायी संसद्को कुरा र संवैधानिक तथा सार्वजनिक संस्थाहरूको सञ्चालनका सम्बन्धमा हामीकहाँ रहेका समस्याबारे पनि उनका केही वैकल्पिक प्रस्तावहरू रहेछन् । सर्वसाधारण नेपाली परिवारको मेरुदण्ड भाँचिरहेको स्वास्थ्य सेवा र शिक्षालाई सार्वजनिक दायित्वमा लानैपर्ने उनको अठोट पनि रहेछ । लामो समय उनका कुरा सुनेपछि म एउटा निष्कर्षमा पुगें— परीक्षण नभइसकेका गगन थापालाई शंकाको लाभ दिन सकिन्छ । दाइहरूका हातबाट महामन्त्री त उनले खोसेर लिए तर संसदीय दलको नेता हात पार्न केकस्ता चुनौती छन् भन्नेचाहिँ उनैले जान्ने कुरा हो ।

सरकार सञ्चालनका सम्बन्धमा कमरेड केपी ओलीका आफ्ना धारणा छन् । उनी पनि नेपालमा केही परिवर्तन गर्न सकिन्छ भन्ने धारणा र परिकल्पनाका आफ्नै आधार तयार गर्न र स्रोत तथा शक्ति परिचालन गर्न सक्ने नेतामा पर्छन् । उनी अरूका धारणामा भर परेको देखिन्न । शक्ति आफ्नो नियन्त्रणमा राखेर सानो टिम परिचालन गर्ने र परिणाम निकाल्नेमा विश्वास गर्छन् । कमरेड प्रचण्डमा पनि नेतृत्व गर्न पाए देशमा केही देखिने परिवर्तन ल्याउन सक्छु भन्ने अठोट छ, दोस्रो कार्यकालमा उनी शक्ति र स्रोत परिचालनमा अलि बढी प्रस्ट देखिन्थे । समस्याचाहिँं उनको वरपर संगठित र व्यवस्थित टिम देखिन्न । तर उनी मन्त्रीहरूका काममा कम हस्तक्षेप गर्ने र परिणाम खोज्ने गर्छन् । देउवा मात्र त्यस्ता हुन् जो टिम चलाउँछन् तर उनी देशलाई नियतिको बाटामा हिँडाउने मनस्थिति भएका नेता हुन्Ù आफैंले योजना बनाएर एउटा पनि नीतिगत हस्तक्षेप गर्ने, कुनै खास योजना (सुदूरपश्चिममा केही गरेका होलान्) को खाका पनि उनीसँग देखिन्न । अगाडि आएका काम गर्दै जाने र आफूलाई केन्द्रमा राखिरहने काममा भने उनी सफल देखिन्छन् । आफ्ना सीमाहरूसहित यी तीन जनामै अहिलेको नेपाली राजनीतिको शक्ति सन्तुलन टिकेको छ । यसलाई व्यवस्थापन गर्ने या तोडेर अघि बढ्ने दुई विकल्प अगाडि छन् । यस पटकको संसदीय दलको निर्वाचनबाट नेतृत्वमा छानिने गगनको सम्भावना छैन । बर्नी स्यान्डर्स जति लोकप्रिय भए पनि हिलारी क्लिन्टन या जो बाइडन नै उम्मेदवार बन्नुमा जसरी डेमोक्र्याटहरूको सम्भ्रान्त समूह निर्णायक थियो, त्यसरी नै कांग्रेसका दाइहरूले गगनलाई बाटो छेकेर भुत्ते बनाइदिने सम्भावना पनि उत्तिकै छ ।

देशको सामूहिक चेतनाको नेतृत्व गर्ने, आन्तरिक तथा बाह्य शक्ति सम्बन्धहरूको घर्षण व्यवस्थापन गर्दै गन्तव्य पहिल्याउने, सार्वजनिक संस्थाहरूलाई बलियो बनाउने, नागरिकको शक्तिमाथि विश्वास गर्ने र आफ्नो सीमा बुझ्ने नेताले मात्र नेपाली समाजलाई गति दिन सक्छ । यस मामिलामा गगनको परीक्षा सुरु मात्र भएको छ । उनीप्रति जति आकर्षण छ, त्यति नै विरोध र आलोचना पनि छ । संक्रमणकालीन समाजका गतिशील अन्तरविरोध र छटपटीले हाम्रो युवा पुस्तालाई छिटछिटो परिणाम दिने नेता चाहिएको छ । आफ्नो दलको विश्वास जित्दैमा मात्र समग्र देशको विश्वास आर्जन गर्न असम्भव छ । दलको सीमाबाहिर पनि व्यापक अन्तरक्रिया गर्ने र उनीहरूलाई आश्वस्त पार्ने काम पनि उनैको हो ।

नेतृत्व हस्तान्तरण जहिले जस्तो प्रक्रियाबाट भए पनि एमालेभित्र पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल र योगेश भट्टराईहरू, माओवादी केन्द्रभित्र वर्षमान पुन कांग्रेसभित्र गगन थापा, विश्वप्रकाश शर्माहरू अनेक सीमा र कमजोरीका बावजुद केही गर्न सक्ने सम्भवना भएका जस्ता देखिन्छन् । यसपालि अरूको सम्भवना कम छ, नेतृत्व दाबी गरिरहेका र सम्भावना बोकेका गगन थापाले अवसर पाए भने कमसेकम शंकाको लाभसहित केही समय उनले पाउनेछन् जसलाई उपयोग गर्न सक्दा देश एक कदम अघि बढ्ने आशा गर्न सकिन्छ । शंकाको लाभ उनले पनि पाउनुपर्छ । @ekantipur.com

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?