कांग्रेसको संसदीय दलको नेताका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि नै मतदान सुरु गर्ने भनिए पनि केहीबेर ढिलो गरी सुरु भएको छ । बिहान १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान हुनेछ । मतदान प्रक्रियाका लागि संसदीय दलको कार्यालय परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बिहान ८ बजेदेखि १० बजेसम्म मतदान गर्ने कार्यतालिका थियो । तर मतदान गर्ने स्थानसम्म मोबाइल लैजान पाउने कि नपाउने भन्ने विवादले पूर्वनिर्धारित समयभन्दा झण्डै एक घण्टा ढिला सुरु भएको हो । अहिले प्रायस् सबै सांसदहरू दलको कार्यालय परिसरमा सांसद पदमा निर्वाचित भएको प्रमाणपत्र सहित उपस्थित भइसकेका छन् ।
यसपटक दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिष्पर्धामा छन् । गगनलाई नेता शेखर कोइरालासहित महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेलले समेत साथ दिएका छन् भने देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायतको साथ रहेको छ ।
कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद छन् । दलको नेता चयन हुनका लागि बहुमत अर्थात ५१ प्रतिशत मत ल्याउनुपर्ने छ ।