नेपाली कांग्रेसको संसदीय दलका नेताका लागि बुधबार बिहान मतदान हुँदैछ। एकातिरबाट चुनावमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उठ्नुभएको छ भने अर्कातिरबाट महामन्त्री गगन थापा मैदानमा उत्रिनुभएको छ।
संस्थापन समूहबाट देउवा उम्मेदवार बन्नुहुन्छ भन्ने त चुनावअघि नै पक्कापक्की थियो। संस्थापनइतरको शेखर कोइराला समूहबाट संसदीय दलको नेतामा को उठ्ला भन्ने खुलदुली र बेचैनी मंगलबार बिहानसम्म थियो।
संस्थापनइतर समूहको नेतृत्व गरिरहनुभएका शेखर कोइराला र चुनावी प्रचारकै क्रममा आफूलाई भावी प्रधानमन्त्रीका दाबेदारका रूपमा प्रस्तुत गरेका गगन थापाबीच कसरी कुरा मिल्ला र उहाँहरू एक ठाउँमा उभिनु होला भन्ने चासो र चिन्ता हामी धेरैलाई थियो।
मंगलबार बिहान शेखर कोइरालाले आफ्नो समूहबाट महामन्त्री जितेका गगन थापालाई संसदीय दलको नेताको उम्मेदवार प्रस्ताव गर्नुभयो। शेखर कोइरालाको यो प्रस्ताव नेपाली कांग्रेसको इतिहास निकै दूरगामी प्रभाव भएको घटना हो।
यो प्रस्तावसँगै निर्वाचन नलडीकनै आज शेखर कोइरालाले राजनीति जित्नुभएको छ।
पहिलो, नेपाली कांग्रेसभित्र समूह छन्। एउटा समूहको नेतृत्व शेखर कोइरालाले गर्नुहुन्छ। आफ्नो समूहभित्र रहेका केन्द्रीय सदस्य र सांसदहरूमध्ये बहुसंख्यक हिस्साको उहाँलाई समर्थन थियो। धेरैको दबाब चाहिँ ‘तपाईं संसदीय दलको नेतामा उठ्नुपर्छ’ भन्ने थियो।
मंसिर ४ को चुनावपछि बुद्धिजीवीहरूको राय, आमसञ्चारमा भइरहेको बहस, युवा मतदाता र सर्वसाधारणमा भने एउटा चाहना देखिन्थ्यो- गगन थापा नै यो देशको प्रधानमन्त्री हुनुपर्छ, उहाँ नै संसदीय दलको नेता हुनुपर्छ।
अरू नेताहरू बाहिर जनमानसमा जतिसुकै अलोकप्रिय भए पनि गणितीय रूपमा दलभित्र आफू बलियो भएपछि पद र अवसर छोड्दैनन्। शेखरले भने आफू गणितीय रूपमा बलियो हुँदाहुँदै पनि जनआकांक्षालाई अनुशरण गर्दै आफ्नो समूहबाट गगनको नाम संसदीय दलको नेतामा प्रस्ताव गर्नुभयो।
नेपाली कांग्रेसका नेताहरू आफ्ना लागि, परिवारका लागि, श्रीमतीका लागि पदको लोभ गर्छन् र गणितीय रूपमा आफू बलियो छ भने नागरिकको आवाजलाई ख्याल गर्दैनन् भन्ने आरोप व्यापक छ। त्यस आमबुझाइको विपरीत आज शेखरले एक हिसाबले बिपी कोइरालाले जस्तै नागरिकको आवाजलाई महत्व दिएर निर्णय गर्नुभएको छ।
दोस्रो, १४ औं महाधिवेशनमा उहाँ हार्नुभएको थियो। महामन्त्रीमा जित्नुभएका गगन थापा, विश्वप्रकाश शर्मा र पराजित भएका प्रदीप पौडेल पनि फरक-फरक ठाउँमा हुनुहुन्थ्यो। यी तीनै जना नेपाली कांग्रेसको नयाँ पुस्ताका प्रतिभाशाली र उर्जावान नेताहरू हुनुहुन्छ।
उहाँहरू एकै ठाउँ उभिनुहोस् र कांग्रेसलाई बदल्नुहोस् भन्ने धेरैको चाहना थियो। त्यसलाई पनि शेखरले सम्भव बनाउनुभएको छ। उहाँहरू सबैलाई एकै ठाउँमा ल्याएर गगन थापाको नाममा आफू प्रस्तावक र उहाँहरू समर्थक बन्ने जुन परिस्थितिको निर्माण उहाँले गर्नुभएको छ, त्यसले नेपाली कांग्रेसमा आशा र उत्साहको रक्तसञ्चार भएको छ।
यसले नेपाली कांग्रेसका शुभेच्छुक र कार्यकर्तामा उमंग ल्याएको छ। कांग्रेस अब रूपान्तरण हुने भयो, कांग्रेसले जनताका कुरा बुझ्ने भयो, नयाँ परिवेशलाई बुझ्ने भयो भन्ने स्पष्ट सन्देश गएको छ। यो सँगै उहाँले एकातिर पार्टीभित्र आफू र आफ्नो समूहलाई बलियो पार्नुभयो, अर्कातिर यी लोकप्रिय युवाहरूलाई एक ठाउँमा उभ्याएर पार्टीलाई बलियो बनाउनुभयो।
तेस्रो, आजको बैठकमा गगन थापाले घोषणा गर्नुभएको छ- १५ औं महाधिवेशनमा यो समूहबाट शेखर कोइराला सभापतिको उम्मेदवार हो।
गगनको यो घोषणासँगै संसदीय दलको चुनाव नलडीकनै शेखर पार्टीको शक्ति केन्द्रमा फर्किनुभयो। यी तीन युवाको साथमा १५ औं महाधिवेशनमा सभापति लड्ने भएपछि उहाँ बलियो हुनुभएको छ। पार्टीमा रूपान्तरणको एजेन्डा लिएर उहाँ जसरी अघि बढ्नुभएको थियो, त्यसलाई आफूले नेतृत्व गरेर समय, समाज र कांग्रेसका आम कार्यकर्ताको मागलाई सम्बोधन गर्दै उहाँ थप बलियो बन्नुभएको छ। हिजो सभापति लड्दा जसले उहाँलाई छोडेर गएका थिए, उनीहरूलाई नै लोभ लाग्ने किसिमले उहाँ फेरि कांग्रेस राजनीतिको केन्द्रमा आउनुभएको छ।
चौथौ, अरू नेताहरूलाई पनि उहाँले त्यागको उदाहरण प्रस्तुत गर्नुभयो। अरूलाई पनि नेतृत्व दिनुपर्छ भनेर गगन थापाको नाम प्रस्ताव गर्नुभयो। आफैं प्रस्तावक बस्नुभयो। राजनीतिमा पार्टी र देशका लागि त्याग पनि चाहिन्छ भन्ने सन्देश दिनुभयो।
शेखर कोइरालाले कहिल्यै पनि औपचारिक रूपमा म संसदीय दलको नेता उठ्छु भन्नुभएको थिएन। गगन थापाले म उठ्छु भन्दै गर्दा उहाँले ‘ल छलफल गर्दै गर्नुस्’ मात्र भन्नुभयो। ‘तपाईं उठ्नु हुन्छ कि हुन्न’ भन्ने प्रश्नमा ‘खै साथीहरूले त्यही भन्नुभएको छ’ मात्रै भन्नुभयो।
तर यो बीचमा संवादको प्रक्रियालाई सधैं निरन्तरता दिनुभयो। जिल्ला सभापतिसँग, सांसदसँग, केन्द्रीय सदस्यसँग परामर्श गर्नुभयो। निर्णय आफूले लिनुभयो तर आफ्नो टिमसँग छलफल गर्ने, राय-सुझाव लिने संस्कार कांग्रेसमा फेरि विकास गर्नुभयो।
शेरबहादुर देउवा वा अरू नेताहरूले पहिला आफू निर्णय गर्नुहुन्छ र अरू मान्छेले पछि त्यसलाई बोक्नुपर्छ। सामूहिक छलफल गरेर, सबैको कुरा सुनेर, सबैलाई अपनत्व हुने किसिमले निर्णय गर्ने जुन संस्कार शेखरले देखाउनुभयो, योसँगै उहाँले धेरैको मन जित्नुभएको छ। सम्मान कमाउनुभएको छ। आफूले नेतृत्व गरेको समूहलाई भोट दिने/नदिने सबैलाई शेखरले समेटेर फराकिलो कांग्रेस बनाएर लैजान सक्नेछन् भन्ने आशा पनि जगाएको छ।
(कांग्रेस केन्द्रीय सदस्य पोखरेलसँगको कुराकानीमा आधारित।) @setopati.com