नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ। माओवादी अध्यक्ष प्रचण्ड एमालेसँग छलफलका लागि बालकोट गएपछि कांग्रेस आन्तरिक छलफलमा जुटेको हो।
नेताहरू कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्का बैठकका लागि बालुवाटार प्रवेश गरेका छन्। गठबन्धनको बैठकपछि बाहिरिएका सञ्चारमन्त्रीसमेत रहेका नेता ज्ञानेन्द्र कार्की पनि बालुवाटार आइसकेका छन्। पहिलो कार्यकाल माओवादीलाई प्रधानमन्त्री छाड्न कांग्रेस लचक नभएपछि माओवादी एमालेसहित चार दलसँग ओलीनिवास बालकोटमा वार्तामा छन्।
कांग्रेस र माओवादी दुवैले पहिले प्रधानमन्त्री आफूले पाउनुपर्ने अडान कायमै राखेपछि कांग्रेसले गठबन्धन टुटेको प्रतिक्रिया दिएको छ। सरकार गठनका लागि राष्ट्रपतिले दिएको एक हप्ताको समय आज साँझ ५ बजे सकिँदै छ।