लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेपाली कांग्रेसका जिल्ला सभापती केशव श्रेष्ठले केन्द्रिय नेताहरुको लापरवाहीले सबै गुमाउनु परेको बताएका छन् । नेताहरुको अदुरदर्शिता र अपरिक्क निर्णयले यो अवस्था सृजना भएको उनको भनाई छ ।
आफ्नो र आफ्नाको हटका कारण पार्टी सत्ताबाट सडकमा आएको उनले टिप्पणी गरे । नेतृत्वको आत्मकेन्द्रित निर्णयले कांग्रेस सत्ताबाट बञ्चित भएको उनले बताए । ‘पार्टी भित्र कुनै छलफल भएको देखिएन, सुनिएन,उनले भने,‘पार्टीकै प्रभावशाली नेताहरुलाई तिरस्कार गरेर आफ्नालाई काखी च्याँप्दा यो अवस्था बन्यो ।’ पार्टी व्यक्ती केन्द्रित भएपछी सकारात्मक परिणाम नआएको उनको तर्क छ ।
जिल्लामा सानो कुरामा निर्णय गर्दा समेत आफुहरुले बैठक डाक्ने गरेको स्मरण गर्दै सभापती श्रेष्ठले देशको नेतृत्व लिने विषयमा घरको चारकोठामा बसेर षड्यन्त्र गर्दा कांग्रेस सत्ताविहिन बन्न पुगेको बताए । ‘सानो निर्णय गर्दा त हामी कार्यसमितिको बैठक नबसी निर्णय गर्दैनौं,‘श्रेष्ठले भने,‘ देशको नेतृत्व लिने विषयमा पार्टीमा कुनै छलफल नै गरेको देखिएन ।’ महामन्त्रीहरु, उप-सभापती कसैलाई बैठकमा नबोलाईएकामा उनले आश्चर्य प्रकट गरे ।
सत्ताबाट विमुख भएपनि आम नागरिकको आवाज बोल्ने उनले बताए । सांगठानिक रुपमा कार्यकर्तालाइ एकत्रित गराएर लैजाने भन्दै उनले जनताको काममा लाग्ने बताए । सत्तामा नहुँदा पनि निरन्नतर जनतामाझ नै रहेको भन्दै नअताल्लीन उनले सबैसंग आग्रह गरेका छन् । ‘सत्ता गुमेको हो सर्वस्व गुमेको छैन,उनले भने,‘विकास पाईदैन कि ? पछाडी परिन्छ कि भनेर आत्तीनु पर्दैन ।’ प्रतिपक्षमा बसेर सशक्त भुमिका खेल्ने उनको भनाई छ ।
उनले भने- ‘जिल्लामा पनि हामीहरुले नतिजा निकाल्न सकेनौं । देशमा पहिलो पार्टी बन्यो । तर, त्यसको साख जोगाउन नेतृत्वले सकेन । पार्टी भित्र छलफल नै नगरि आफ्ना निकटका नेताहरु राखेर निर्णय गर्ने प्रयास गरियो, त्यो सभापतीको भुल थियो । परिणाम गतिलो आएन । सत्ता सँधै हातमा हुन्छ भन्ने हुँदैन । नेपाली कांग्रेसका आम शुभचिन्तक तथा कार्यकर्तालाई धैर्य रहन आग्रह गर्छु । आत्तिनु पर्ने केही छैन । हामी छौं । फेरी उठ्छौं, फेरी जाग्छौं, फेरी जुरमुराउँछौं, फेरी लड्छौं र फेरी जित्ने छौं ।’