गुल्मीमा रेबिजका कारण महिलाको मृत्यु

रेबिजका कारण गुल्मीमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर–६, फर्सवाकी ४० वर्षीय रजुन शाहको रेबिजका कारण मृत्यु भएको गुल्मीदरवार गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख नारायण प्रसाद अर्यालले जानकारी दिए ।
शाहलाई गत मंसिर ११ गते गुल्मीदरबारको कुमालटारीमा छाडा कुकुरले हातमा टोकेको थियो । लगत्तै उनी रेबिज विरुद्धको भ्याक्सिन लगाउन अर्घाखाँचीको छत्रदेव स्थित एक निजि मेडिकलमा गएकी थिइन् । तर त्यहाँ उनले एन्टी रेबिज भ्याक्सीन नलगाएको पाइएको अर्यालले बताए ।
गुल्मीदरबार गाउँपालिका ६ का वडाध्यक्ष मुकेश थापाका अनुसार शाहलाई गाह्रो भएपछी पुस ६ गते तम्घासमा उपचार पछी काठमाण्डौंको शुक्रराज ट्रपिकल सरुवा रोग केन्द्र टेकुमा रिफर गरिएको थियो । डाक्टरले रेबिज शरीर भरी फैलिएको पुष्टि गरेका थिए । संक्रमण शरीर भरी फैलिएकाले उपचार सम्भव नभएपछि शाहलाई घरमा ल्याइएको थियो ।
उनको मंगलवार बेलुका मृत्यु भएको वडाध्यक्ष थापाले बताए ।