अर्घाखाँची: गहनाको लोभमा राधाको हत्या (अन्तरकथा सहित)

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका १० बहखोरकी राधा थापा स्कुले विद्यार्थीलाई चाउचाउ/समोसा खुवाउने, विद्यालयका स्टाफहरुलाई खाजाका परिकार बनाईदिने र पसलमा आएका ग्राहकलाई मिठो चिया पकाएर खुवाउने गर्थिन् ।
बहखोरमा सानो होटल ब्यवसाय गर्दै आएकी उनी मिजासिली र हँसिलो स्वभावकी थिईन् । वरिपरीका सबैसंग घुलमिल हुने र हाँसोठट्टा गरेर बसिरहने उनलाई शत्रु लाग्न सक्छन् भन्ने कसैले कल्पना सम्म गर्न सक्दैनथ्यो । कहिल्यै कसैसंग नराम्रो व्यवहार नगर्ने राधाको हत्या भयो भन्दा शायदै पत्याउने कोही थिए । उनका सात गाउँसम्म पनि नराम्रो चाहने कोई थिएनन् । हत्या त परैको कुरा उनीसंग ठुलो स्वरमा सम्म कसैले कुरा गर्नुपर्ने स्थिती नै हुँदैनथ्यो । उनको हत्याले पुरै सिद्धारावासी शोकमग्न छन् ।
घरमा दुहुनो नभएकाले उनी दुध लिन अर्को गाउँ जाने गर्थिन् । दैनिक बिहानै उठेर डुम्रीपाटा गाउँमा दुध लिन जाने राधा आइतबार (हत्याको दिन) बिहान पनि सदा जस्तै बिहानै उठेर दुध लिन गइन् । ६० वर्षिय थापा बिहान ९ बजे सम्म पनि दुध लिएर आइनन् । अबेर सम्म दुध लिएर नआएपछि उनीसंगै बसेका साईला छोराले फोन गरे । उनको फोन उठेन । दुध लिन जाने घरमा फोन गर्दा उनी त्यहाँ नगएको थाहा भयो । धेरै बेरको पर्खाइपछी घरपरिवार र आफन्तले खोजी गर्न थाले । खोज्दै जाँदा बाटो मुनी खोल्सीमा राधा फेला परिन् । रगतले लतपत उनको शरिर आफन्तले फेला पार्दा उनको सास गईसकेको थियो । स्थानीयले तुरुन्तै प्रहरीलाई खबर गरे । प्रहरी आएर घटना हेर्दा हत्या भएको हुन सक्ने आशंका गरेपछि प्रहरी र स्थानीयले सम्भावित हत्याराको खोजी गर्न थाले ।
खोजी गर्दै जाँदा शितगंगा नगरपालिका वडा नम्बर ११ को मुन्द्रीबासको जंगलमा (गाउँमा ज्वाँई पर्ने) भारतिय नागरिक २३ वर्षिय सुसान्त सिंहलाई प्रहरीले रगतले कपडा लतपत भएको र गरगहनाको कुटुरो सहित फेला पार्यो ।
भारतको हरियाणा घर भएका सिंहले स्थानिय शिवकला परियारसंग बिहे गरेका थिए । बिहेपछी कपिलवस्तुमा डेरा गरी कहिले भारत त कहिले कपिलवस्तु बस्दै आएका उनले ससुराली आउँदा राधाका गरगहना देखेका थिए । गरगहना देखेपछी लोभमा परेका सिंह हत्यासम्मको योजना बनाएर कसैले थाहा नपाउने गरी अँघिल्लो दिन राती नै गाउँमा आएर बसेका थिए । हत्या गर्ने दिन बिहान उनी राधा आउने बाटो एकान्त जंगलमा कुरेर बसे । उनलाई देख्नासाथ हँसिया र ढुंगा प्रहार गरेर हत्या गरे र राधाले लगाएका गरगहना लुटेर भागेका थिए ।
गहना लिएर उनी भारत फरार हुने सोंचमा थिए । तर, प्रहरी र स्थानियको सक्रियताले सिंहलाई मुन्द्रीबासको जंगलबाट गरगहना सहित नै पक्राउ गर्न सफल भए । सिंहले थापाको शरिरबाट कानमा लगाउने मडहरी, सिक्रि लगायतका सुनका गहना लुटेर लगेको स्थानीय सुधन पौडेलले बताए ।
पक्राउ परेका सिंहले राधाको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले बताए । उनलाई जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको उनको भनाई छ । ‘गरगहना लुट्ने उद्देश्यले हत्या भएको पुष्टी भएको छ । अभियुक्तले घटना घटाएको स्विकारेका छन्,डिएसपी रिजालले भने,‘थप अनुसन्धान जारी छ । अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं ।’
राधाका श्रीमानको केही वर्ष अँघी क्यान्सरका कारण निधन भईसकेको छ भने उनका चार भाई छोरा र एक छोरी रहेका छन् । उनी साईला छोरासंग बस्दै आएकी थिईन् । उनकी छोरीले पनि नजिकैको विद्यालयमा पढाउने भएकाले उनीसंगै बस्दै आएकी थिईन् ।