लक्ष्मण घिमिरे ।
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–१०, सिमिचौरमा आईतवार बिहानैदेखी स्थानियको बाक्लो आउजाउ थियो । त्यहाँ बनेको विमानस्थलमा हवाईजहाज आउने भनेपछी आफ्नो कामधन्दा सकेर हतार–हतार मानिसहरु सिमिचौरको उकालो चढ्दै थिए ।
२०६३ सालदेखि सुरु भएको यस विमानस्थलमा हवाईजहाज आउने खुशीले त्यहाँका सर्वसाधारण नागरिकमा छुट्टै उमंग देखिन्थ्यो । ‘आज पिलेन आउने भनेका छन्,असाध्यै खुशी लागेको छ,सिमिचौरकी मनकला कुँवरले भनिन्,‘आउँदैन कि झैं लाग्थ्यो, आउने रे भनेपछी हामी सबै कामधन्दा छोडेर आएका छौं ।’
निर्माण सुरु भएको १६ वर्षपछि गुल्मीको रेसुङ्गा विमानस्थलमा आइतवार सफल उडान परिक्षण गरिएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर–१०, सिमिचौरमा तारा एअरको नाइन एन–एएलओ ट्विनटर जहाजले परीक्षण (डेमो) उडान गरेपछी त्यहाँका जनता उत्साहित भएका छन् ।
परीक्षण उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, तारा एअरलाइन्स र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि ताराले आईतवार बिहान १२ बजे परीक्षण उडान गरेको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिए ।
काठमाण्डौबाट उडेको जहाज झन्डै ४७ मिनेटमा गुल्मी आइपुगेको थियो । बिहान ११ बजे काठमाण्डौबाट उडेको तारा एअरको जहाज ११ बजेर ४७ मिनेटमा विमानस्थल आइपुगेको थियो । परीक्षण उडानपछि अब नियमित उडानका लागि थप प्रक्रिया थालिने नगरप्रमुख पन्थीले बताए ।
जहाजमा गुल्मी १ का सांसद तथा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्की र नागरिक उड्डयन प्राधिकरणका कर्मचारी आएका थिए ।
धेरै पर्खाईपछी गुल्मीमा हवाईजहाज ल्याउन सफल भएको सांसद चन्द्र भण्डारीले बताए । ‘लामो समयपछि गुल्मीवासीको सपना साकार भएको छ,भण्डारीले भने,‘अब नियमित उडान गर्न पहल गछौं ।’ विमानस्थल निर्माणमा सहयोग गर्ने राजनीति दल, विभिन्न निकाय र जिल्लावासीलाई उनले धन्यवाद तथा बधाई दिए ।
उडान पछीको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफुहरुको मेहनतले विमानस्थल यो अवस्थासम्म आईपुगेको बताए । आफू परराष्ट्रमन्त्री हुँदा शिलान्यास गरेको विमानस्थलमा ढिलै भए पनि उडान सुरु भएकोमा उनले खुसी व्यक्त गरे । ‘सुरक्षित हवाई यात्राबाट समयमा गन्तव्यमा पुग्न, बिरामीलाई लैजान र आकस्मिक सेवाका लागि निकै महत्वपूर्ण हुन्छ,उनले भने,‘यसलाई नियमित गराउनेतर्फ सबैले ध्यान दिनु पर्छ ।’
यस्तै एकिकृत समाजवादीका सचिव तथा महिला नेतृ रामकुमारी झाँक्रीले गुल्मीले विकासमा एउटा थप खुड्कीला पार गरेको बताईन् । गुल्मीका नेताहरु विकासका सवालमा एकजुट रहेको भन्दै उनले नागरिकको हितका विषयमा विभाजित हुन नहुने बताईन् ।
२०६३ सालदेखि काम सुरु भएको यस विमानस्थलको निर्माण ३३ करोड रुपैयाँको लागतमा सम्पन्न भएको हो । विमानस्थलको लम्बाइ ५२० मिटर र चौडाइ २० मिटर रहेको छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुद्र सतहदेखि १ हजार ५ सय २६ मिटरको उँचाइमा रहेको छ । रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ मा धुले परीक्षण उडान गरिएको थियो ।
विमानस्थलमा नियमित उडान भए गुल्मी संगसंगै अर्घाखाँचीको छत्रदेव, मालारानी गाउँपालिका प्युठानको झिम्रुक, गौमुखी, मल्लरानी गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिका लगायतलाई प्रत्यक्ष फाईदा पुग्छ । रेसुङ्गा नगरपालिकासंग जोडिएका तथा पायक पर्ने ठाउँका जनतालाई प्रत्यक्ष लाभ हुने अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए ।
विमानस्थल परिक्षण हुने भएपछी रेसुङ्गा नगरपालिकामा आईतवार सार्वजनिक विदा दिईएको थियो ।