मधेस प्रदेशको सभामुखमा सत्ता गठबन्धनबाट नेकपा (एमाले) का रामचन्द्र मण्डल निर्वाचित भएका छन्। आज भएको निर्वाचनमा मण्डलको पक्षमा ७४ जनाले मत दिएका थिए भने विपक्षमा २९ जनाले मत दिएका थिए।
१०७ सदस्यीय प्रदेश सभामा १०३ जना सांसद मतदानमा सहभागी थिए। सभामुखमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले) का रामचन्द्र मण्डल र नेपाली कांग्रेसका तर्फबाट जङ्गीलाल रायले उम्मेदवारी दर्ता गराएका थिए।
मण्डल धनुषा क्षेत्र नं. १ (ख)बाट दोस्रोपटक निर्वाचित सांसद हुन्। मत विभाजन एवं हस्ताक्षरमार्फत् भएको निर्वाचनमा मण्डल विजयी भएका हुन्।