१३ बैशाख २०८१, बिहिबार
१३ बैशाख २०८१, बिहिबार

पटक-पटक केन्द्रीय समिति बैठक स्थगित हुँदा कांग्रेसमा असन्तुष्टि

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित गरिएसँगै नेताहरूले असन्तुष्टि जनाएका छन् । कांग्रेसको बैठक यसअघिनै दुई पटक सरेकामा बिहीबार फेरि अनिश्चितकालका लागि स्थगित भएको घोषणा गरिएको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा विशेष कारण देखाउँदै अर्को सूचना प्रकाशन नभएसम्मका लागि बैठक स्थगित भएको उल्लेख छ । केन्द्रीय कार्यसमिति बैठक स्थगित गर्ने सहमति भने सोमबार नै भएको खुलेको छ । सहमहामन्त्री जीवन परियारका अनुसार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठक स्थगित गर्ने विषयमा छलफल भएको थियो ।

सभापति देउवाले महामन्त्री, उपसभापति र नेता शेखर कोइराला सँगसमेत परामर्श गरेका थिए । केन्द्रीय समिति नबस्ने भएसँगै संस्थापन इतर समूहको बैठक पनि स्थगित भएको थियो । आइतबार संस्थापन इतर पक्षको बैठक बसेपनि मंगलबार पुनः बस्ने भनिएको बैठक नबसेको हो ।

कांग्रेसका शीर्ष नेताहरू अहिले गृह जिल्लातिर लागेको पाइन्छ । तर पार्टीको शीर्ष तहको सहमति अनुसार बैठक सारिँदा केन्द्रीय सदस्यहरूले भने असन्तुष्टि जनाएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले नेताहरूले सामूहिकतालाई अनुसरण नगरेको आरोप लगाए । उनले भने, ‘सामूहिक निर्णय लोकतन्त्रको सर्वोत्तम अभ्यास हो । नेतृत्व तहमा बसेकाहरू सामूहिक छलफल र बहसलाई निषेध गरिरहनु भएको छ । चुनावपछि पदाधिकारी र कार्यसम्पादन समितिबाट भएका निर्णयले परिणाम पनि दिएको छैन ।’

केन्द्रीय समितिलाई बाइपास गरेर निर्णय गर्दा कांग्रेस रक्षात्मक अवस्थामा पुगेको उनको भनाइ छ । ‘पार्टीका पदाधिकारी बसेर बैठक सारिएको हो । केन्द्रीय कमिटीको बैठक छल्ने कुराले पार्टीको हित गरिरहेको छैन । बैठक स्थगित गर्न राम्रो होइन । जतिसक्दो चाँडो बैठक बोलाउनुपर्छ । त्यहीबाट अगाडि रणनीति बनाउनुपर्छ,’ उनले भने ।

केन्द्रीय सदस्य योगेन्द्र चौधरीले भने राष्ट्रपतिको निर्वाचनलाई मध्यनजर गरी केन्द्रीय समिति बैठक सारिएको हुनसक्ने आङ्कलन गरे । उनले भने, ‘राष्ट्रपतिको निर्वाचनअघि केन्द्रीय समितिमा विभिन्न टीकाटिप्पणी हुन सक्छ । कसैलाई घोचपेच हुने हो कि रु त्यसले प्रचण्डसँग विश्वास वातावरण बनाउने प्रयत्न प्रभावित हुने हो कि भनेर नेताहरू सजग भएर बैठक स्थगित गरेको देखिन्छ ।’

केन्द्रीय समिति बैठकमा हुने छलफलको सन्देश रोक्न कठिन हुने भएपछि बैठक स्थगित गरिएको उनको बुझाइ छ । तर पटक पटक केन्द्रीय समिति बैठक सार्ने कुरा ठिक नभएको चौधरीको भनाइ छ ।

उनी केन्द्रीय समिति बैठकका लागि भनेर गृह जिल्ला दाङबाट बुधवार काठमाडौँ आएका थिए । अब १७ गते फेरि दाङ फर्किने चौधरीको योजना छ । अर्का केन्द्रीय सदस्य गोविन्दराज पोखरेलका अनुसार सात दलीय गठबन्धनको सरकार र आर्थिक सङ्कटका विषयमा पार्टीभित्र विचार मन्थन हुन आवश्यक थियो ।

उनले भने, ‘पार्टीलाई व्यवस्थित बनाएर आगामी मार्ग तय गर्ने बेलामा पार्टीका साथीहरूको विचारलाई बन्धक बनाएर विचार विहीन पार्टी बनाउन खोजिँदै छ ।’

पार्टीमा जमिनदारी प्रथा देखिन थालेको भन्दै उनले कांग्रेसमा राजनीति तर्क–वितर्कको ठाउँ नै नरहेको टिप्पणी गरे । ‘केन्द्रीय सदस्यले बाहिर विचार पोख्नु पर्ने अवस्था छ । पार्टीलाई गति र दिशाहीन बनाउने गरी जमिनदारी प्रथा सुरु भएको छ,’ पोखरेलले भने ।

जमिनदारी प्रथाका विरुद्धमा नबोल्ने सबै नेता पार्टीलाई गति र दिशाहीन बनाउन जिम्मेवार रहेको उनको भनाइ छ । उनले भने , ‘पार्टीका शीर्ष नेता सबै जमिनदारी प्रथावादी देखिए । नभए त विरोध हुनुपर्ने नि । पार्टीका साथीहरूको विचारलाई बन्धक बनाउन सबै लागेको देखिएको छ ।’ अहिले केन्द्रीय कार्यसमिति बैठक स्थगित गर्नुपर्ने कुनै कारण नभएको उनको दाबी छ । ‘अहिले न पार्टीको सरकार छ, पार्टीको अधिवेशन छ, न आम चुनाव छ, न अन्तर्राष्ट्रिय सम्मेलन हुँदै छ । बैठक स्थगित गरिनु के आइलाग्यो ?,’ पोखरेलको प्रश्न छ ।

‘आर्थिक सङ्कट भएर मान्छेले आत्मदाह गरिरहेको अवस्था छ । संसद्मा पार्टीको भूमिका के रहन्छ भनेर छलफल र विमर्श छाडेर बैठकबाट पटक पटक भाग्ने काम भयो’, उनले थपे ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?