८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

अर्याल बने रास्वपाको कार्यवाहक सभापति

राष्ट्रिय स्वतन्त्र पार्टीको शुक्रबार साँझ बसेको आकस्मिक बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मा दिएको छ ।

सर्वोच्च अदालतको फैसलाबाट सभापति रवि लामिछाने पदमुक्त भएपछि अर्याललाई कार्यवाहक जिम्मेवारी तोकिएको केन्द्रीय सदस्य दीपक बोहराले बताए । राजनीतिक दलसम्बन्धी ऐनमा उल्लिखित ‘पार्टी सदस्य हुनका लागि नेपाली नागरिक हुनुपर्ने’ व्यवस्थाले लामिछाने रास्वपाको सदस्यबाट समेत मुक्त भएका छन् । रास्वपामा सभापति नरहेको अवस्थामा उपसभापति कार्यवाहक हुने व्यवस्था छ ।

महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले आइतबार नै पुनः नागरिकता प्राप्त गर्ने प्रक्रिया अगाडि बढाउने र लामिछानेलाई नै नेतृत्वमा फर्काउने विषयमा पनि छलफल भएको बताए । ‘अदालतले गरेको फैसलालाई मान्नैपर्ने बाध्यात्मक परिस्थिति हो, कहाँ–कहाँ करेक्सन गर्नुपर्ने भन्ने विषयमा सल्लाह भइरहेको छ,’ ढकालले भने ।

टेलिभिजन पत्रकार रहेका लामिछानेले असार ७ मा राष्ट्रिय सभागृहमा पार्टी निर्माणको घोषणा गरी असार १७ मा निर्वाचन आयोगमा पार्टी दर्ता गरेका थिए । सात महिनामै चौथो ठूलो दल बनेको रास्वपा सुरुवातदेखि नै विवादमा तानिएको थियो । स्वतन्त्र उम्मेदवारी अभियान र स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यक्तिहरूले निर्वाचन आयोगमा ‘स्वतन्त्र’ नाम राखेर दल दर्ता नगर्न भन्दै उजुरी दिएका थिए । ‘स्वतन्त्र शब्दको आफैंमा महत्त्व रहेको र दलीय भीडबाट फरक छुट्याउन यसले अर्थ बोक्ने हुँदा स्वतन्त्र उम्मेदवारलाई असहज परिस्थिति निर्माण हुनेछ,’ मनोज पण्डितसहित चार जनाले दिएको उजुरीमा उल्लेख थियो ।

रास्वपाको २४ सदस्यीय केन्द्रीय कार्यसमिति छ । सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, सहकोषाध्यक्ष गरी ५ जना पदाधिकारी र अन्य सदस्य छन् । रास्वपाले आफूलाई ‘कार्यकर्तारहित र पार्टी सदस्यमै सार्वभौमिकता निहित’ भन्दै अरू पार्टीभन्दा फरक रहेको दाबी गर्दै आएको छ । ‘आफ्नो जीवनमा व्यावसायिक तथा व्यक्तिगत सफलता हासिल गरी राजनीति गर्न चाहने क्षमतावान नेपालीलाई अन्य पार्टीमा सिधै नेतृत्व लिने अवस्था छैन,’ रास्वपाले अन्य पार्टीभन्दा फरक रहेको उल्लेख गर्दै भनेको छ, ‘यस्तो अवस्थामा हाम्रो पार्टीको सदस्यता लिई सिधै पार्टीको सभापतिसम्म भएर नेतृत्व गर्ने अवसर सुनिश्चित गरिएको छ ।’

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?