९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

भ्यालेन्टाइेन डेको एक्लो रात

सुष्मा सोचिरहेकी छे, ‘अब मलाई यो प्रेम दिवसले केही असर पार्ने छैन। उमेरले तिसौं वसन्त पार गरिसक्यो। कैलेसम्म मैले प्रेम दिवसको रातो गुलाफमा मात्र अलमलिंदै बस्नुपर्ने! अब मैले यो दिवसलाई मात्र प्राथमिकता दिएर हुन्न। जीवनलाई व्यावहारिक डोरीमा कस्नैपर्छ।’

सुष्माले यो पटक भने आफूले मन खाएको केटासँग यही प्रेम दिवसको प्रस्तावित प्रेमलाई घरबारकै रूपमा परिणत गर्ने विचार गरी र एउटा पुरानो तर महत्त्वपूर्ण फोन कलको प्रतीक्षामा बसिरही। साँझपखतिर फोन आयो। उक्त फोनको प्रेम प्रस्तावलाई यसपटक  भने स्विकारी।

फोनमा विवेकले भनिरहेथ्यो, ‘सुष्मा,मैले तिमीलाई झन्डै ६ वर्षदेखि प्रेम प्रस्ताव राख्दै आएँ। तिमीले न स्विकार्‍यौ न अस्विकार्‍यौ। यत्तिका वर्षसम्म कुरायौ मात्रै। मैले तिम्रा लागि किनेका राता गुलाफहरूले ओइलिएर पनि अर्को जुनी पार गरिसके तर म भने उही तिम्रै प्रतीक्षाकै विवेक बनें। तिमीले मलाई किन हो यसरी झुलायौ! मेरो गरिबी नै तिम्रा लागि स्वीकृतिको बाधक बन्यो कि! सुष्मा कृपया अब मेरो त्यस्तो अवस्था निरीह छैन। मैले आफ्नो शिक्षालाई अघि बढाएर आफूलाई सक्षम बनाइसकेको छु। अब म तिम्रा इच्छाहरूको झोलीमा मनग्गे खुशीहरू भर्न सक्छु। ल म भ्यालेन्टाइेन डे’को साँझ तिमीले भनेकै बार या रेस्टुरेन्टमा पर्खिनेछु। त्यही साँझ भेटौंला है,बाई!’

सुष्माले पनि यसपटक विवेकको प्रस्ताव स्विकार्ने अठोट गरी र हुन्छ भनेर जवाफ दिइन्।

‘भ्यालेन्टाइेन डे’को साँझ सुष्मा आफूलाई बेहुलीझैं सिंगारिएर निश्चित ठाउँमा पुगी। उक्त स्थानमा असंख्य जोडी हातमा हात राखेर बसिरहेका थिए। सुष्माले चारैतिर आँखा डुलाइन्। कतै एक्लो केटा देखिएन। यसो फर्किएर पछाडि टेबलमा हेरेकी त विवेक अर्कै केटीसँग आइसक्रिम खाइरहेका थिए।

सुष्मालाई देख्नेबित्तिकै ‘अहो सुष्मा एक्लै। हिजो मैले विशाललाई जुनासँग देखेको थिएँ त! उसले यसपटकको ‘भ्यालेनटाइेन डे’ चाहिं जुनासँग नि।’

ठट्टाको साथमा मेरो कानमा खुसुक्क भन्दै थियो। मैले तिम्रोबारे सोध्दा उसले सहजै भन्यो, ‘सुष्मा त सुड्डी भइसकी नि! अब कहाँ सुड्डीहरूसँग भ्यालेन्टाइेन डे मनाएर प्रेम दिवसको अपमान गर्ने!’

विवेकका वाक्यहरू सुनेर सुष्मा अलमलमा परी। उसको सपना चकनाचुर भयो। ऊ त्यँहाबाट थपक्क फर्की। घरमा पुगेर ह्विस्की पिउन थाली चुरोटको धुवाँसँगै। धुवाँभित्रै उसको भविष्यको राजकुमार खोज्न थाली। विवेकलाई झूठो आशामा अल्झाएको आफ्नो बेवकुफीलाई सम्झेर आफैलाई कोस्दै छर्लङ्ङ रात एक्लै बिताइन्। @nagariknews.com

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?