९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

गहुँ बालीमा फौजी किरा

खेतबारीमा गहुँ पसाउने बेलामा रोग देखिन थालेको छ । ‘अहिले त गहुँ एक माना पनि स्याहार्न पाइँदैनजस्तो छ,’ प्यूठान नगरपालिका–८ खर्पेङखोलाकी मधु थापाले भनिन्, ‘गहुँ पसाउने बेलामा खेतभरि गहुँमा रोग देखिएको छ ।’ रोग लागेर गहुँ ठाडै सुकेपछि अहिले खेत बाँझोजस्तै भएको उनले बताइन् ।

रोगले गहुँ बाली नष्ट पारेपछि अब के खाने भन्ने चिन्ताले सताउन थालेको प्यूठान नगरपालिका–८ तालका जोगेन्द्र कुँवरले गुनासो गरे । ‘अर्कैको खेत वर्षमा ३० हजार रुपैयाँ भाडामा लिएर खेती गर्दै आएको छु,’ उनले भने, ‘बर्सेनि यसरी नै धान र गहुँमा रोग लाग्न थालेपछि अब के खाएर बाँच्नु ?’ यहाँका खेतबारेमा गहुँका बोट पहेंलिंदै जाने, टुक्रिने र अन्त्यमा त्यत्तिकै हराउने समस्या छ । यस्तो समस्याले किसानको खेत बाँझोजस्तै बनेको छ । ‘खेत भाडामा लिएर गहुँ लगाएको थिएँ,’ उनले भने, ‘रोगले बर्बादै पार्‍यो ।’ रोगको प्रकोपले गहुँबाली नष्ट भएपछि परिवारमा के खाने भन्ने चिन्ता थपिएको उनले सुनाए ।

यहाँको स्थानीय बजारमा अहिले गहुँको मूल्य छोइनसक्नु रहेको प्यूठान–८ खर्पेङखोलाकी सीता पाण्डेले बताइन् । ‘बाँझो खेत फुटालेर खेती गर्‍यो, रोगले सक्छ अनि कसरी खेती किसानी गर्ने रु’ उनले भनिन्, ‘गत वर्ष ९ मुरी गहुँ फलेको खेतमा अहिले बीउ पनि फर्किने हो कि होइन भन्ने चिन्ता छ ।’ गत वर्ष यहाँ धान खेतीमा पनि यस्तै समस्या देखिएको थियो । धान सुक्ने समस्या भएपछि उत्पादन ८० प्रतिशतले कम भएको थियो ।

यहाँ कृषि कर्म गर्न निकै समस्या भएको किसानको गुनासो छ । ‘खेती लगाएदेखि नभित्र्याउँदासम्म ढुक्क भएर एक दिन पनि बस्न सकिंदैन,’ स्थानीय किसान वासुदेव थापाले भने, ‘रोग किरा लागे औषधि उपचार छैन । अनि, कसरी व्यावसायिक किसान हुने ?’

झिमरुक फाँटको गहुँ बालीमा देखिएको समस्या रोग नभएर फौजी किराको प्रकोप भएको प्यूठान नगरपालिकाका कृषि शाखा प्रमुख अजित पौडेलले बताए । बाली संरक्षण प्रयोगशाला खजुराले परीक्षणपछि फौजी किराको प्रकोप भएको भनेर पुष्टि गरेपछि अहिले त्यसको निराकरणमा लागेको उनले बताए । ‘किसानलाई साइपर मथरिङ र कोलोरोपाइरिफस मिसाएर छर्कन लगाएका छौं,’ उनले भने, ‘अहिले गहुँबालीमा केही सुधार देखिएको छ ।’

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?