९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

टर्की भूकम्प : पाँचौं दिनमा भग्‍नावशेषबाट ६ जनालाई जीवीतै उद्धार

टर्की र सिरियामा भूकम्पका कारण भत्किएका भग्नावशेषमा पुरिए रहेका ६ जना मानिसको १ सय १ घण्टापछि जीवीत उद्धार गरिएको छ । शुक्रबार अर्थात् भूकम्प गएको पाँचौं दिनमा टर्कीको दक्षिणी क्षेत्र हतायाको इस्केन्देरनस्थित भत्किएको भवनभित्रबाट एकै परिवारका ६ जनालाई उद्धार गरिएको हो ।

यस क्षेत्रलाई भूकम्पबाट अतिप्रभावित क्षेत्रमध्ये एक मानिएको छ । सोमबार बिहानको शक्तिशाली भूकम्पबाट प्रभावितहरूको उद्धार कार्य शुक्रबारसम्म जारी छ । भत्किएका भवनमुनि पुरिएका वा च्यापिएका मानिसहरूको खोजीको क्रममा शुक्रबार बिहान ती ६ जनालाई उद्धार टोलीले जीवीत उद्धार गरेको हो ।

टर्कीमा सोमबार ७.८ र ७.६ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पका कारण टर्की र सिरियामा मृत्यु हुनेको संख्या २२ हजारभन्दा धेरै पुगिसकेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । त्यसयता प्रभावित क्षेत्रमा उद्धार कार्य जारी छ ।

उक्त भूकम्पका कारण टर्की र सिरियामा हजारौंको संख्यामा भवनहरू भत्किएका छन् । भूकम्पपछि अत्यधिक चिसोका बावजुद मानिसहरू खुला जमिन तथा सुरक्षित स्थानमा बसिरहेका छन् । उद्धार टोलीले भने भत्किएका भवनहरूमा मानिस पुरिएको हुनसक्ने भन्दै खोजी जारी राखेका छन् । साथै अझै केही मानिसहरूको जीवीत उद्धार गर्न सकिने उनीहरूले बताएका छन् ।

टर्की विपद्‍ व्यवस्थापन निकायका अनुसार हाल १ लाख १० हजारभन्दा धेरै मानिसहरू उद्धारमा खटिएका छन् । साथै उद्धारका लागि डोजर, एस्काभेटर, क्रेनसहित ५ हजार ५ सयभन्दा धेरै सवारीसाधन प्रयोग गरिएको छ ।

यसैबीच अपेक्षा अनुरुप सरकारले उद्धार कार्य तीव्र बनाउन नसकेको भन्दै राष्ट्रपति रेसेप तैयपको कडा आलोचना भइरहेको छ । उद्धारको क्रममा भूकम्पको ९४औं घण्टापछि गाजियापेन्टमा १७ वर्षीय एक किशोरलाई जीवीतै उद्धार गरिएको थियो ।

भूकम्पको दृष्टिले जोखिमयुक्त देश मानिने टर्कीमा सोमबार गएको भूकम्पलाई पछिल्लो १ सय वर्षको इतिहासमा सबैभन्दा ठूलो मानिएको छ । यसअघि सन् १९९९ मा टर्कीको पश्चिमी क्षेत्र इजमितमा ७.४ म्याग्निच्युडको भूकम्प जाँदा १७ हजार ५ सय मानिसको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?