लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा विशेषज्ञ डाक्टरसहित दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। ग्रामीण क्षेत्रका बिरामीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
सामान्य उपचारका लागि सन्धिखर्क, बुटवल तथा काठमाडौं जानुपर्ने बाध्यता शिविरले हटाएको भन्दै स्थानीय खुसी भएका छन्। बिरामीहरूले निःशुल्क रुपमै स्वास्थ्य परीक्षण सेवा, स्त्री रोग सम्बन्धी सेवा, टाउको तथा नशा रोग सम्बन्धी सेवा, नाक कान तथा घाँटी रोग, फिजिसियन तथा परामर्श सेवा, सुगर रोग, तथा भिडियो एक्सरे सेवा, फिजियो थेरापी सेवा लिन पाएपछि उनीहरु खुसी थिए।
विगत ७ वर्षदेखी बुटवलमा नशा रोगको उपचार गराउँदै आएका छत्रदेव ८, अर्घातोषका ८४ वर्षिय रामनाथ पाण्डेले गाउँ ठाउँमै उपचारमा गराउन पाएपछि बुटवल जाने आउने खर्च जोगिएको बताए। ‘बेलाबेला उपचार गराउन बुटवल गईराख्न पर्थ्यो,उनले भने,‘चेकजाँच यँहीं गर्न पाइयो, जाने आउने खर्च पनि जोगियो।’
छत्रदेव ४, बलकोका ८१ वर्षिय मोतिलाल सुनार पनि घरदैलोमै निःशुल्क उपचार गराउन पाएपछि हर्षित थिए। सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) बुझेर उपचार गराउने योजनामा रहेका सुनार गाउँपालिकाले निःशुल्क उपचारसँगै औषधी पनि निःशुल्क नै प्रदान गरेपछि उनले धन्यवाद दिए। ‘वृद्ध भत्ता बुझेर जँचाउन जाम्ला भन्ने सोचेको थिएँ। यहीँ जँचाउन पाएँ, औषधी पनि सित्तैमा पाइयो। वृद्ध भत्ता जोगिने भयो’ उनले भने।
स्वास्थ्य शिविरबाट गाउँपालिकाका ७ सय ६८ जनाले सेवा लिएको अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी दिए। जसमध्ये १४४ जनाले सुगर जाँच, १०९ जनाले भिडियो एक्सरे, ९६ जना महिलाले पाठेघरको जाँच गराएका उनले बताए। गाउँपालिकाले नागरिकको सहजताका लागी निःशुल्क उपचारको व्यवस्था गरेको उनले बताए।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्यौपानेका अनुसार ९६ जनाले पाठेघर जाँच गराएकामा दुई जनालाई बाहिर रिफर गरिएको बताए। दुई जनामा क्यान्सरसंग मिल्दोजुल्दो लक्षण देखिएकाले थप परीक्षणका लागी रिफर गरिएको उनले बताए। भिडियो एक्सरेबाट मिर्गौलाको पत्थरी, पित्त थैलीको पत्थरी, कलेजोमा बोसो भए–नभएको पत्ता लाग्ने भएपछि भिडियोमा बिरामीको चाप भएको स्वास्थ्य शाखा प्रमुख न्यौपानेले बताए। साथै शिविरमा औषधी पनि निःशुल्क प्रदान गरिएको उनले जानकारी दिए।
डा. विकास अर्याल, डा. तिलकराज खनाल, डा. उर्मिला श्रेष्ठ, डा. रीता प्रधान, डा. राजेन्द्र श्रेष्ठ, डा. कपिल ज्ञवाली, डा. देवेन्द्र बेल्वासे लगायतको टिमले शिविरमा उपचार गरेको थियो। शिविर शनिवार र आईतवार गरी दुई दिन सञ्चालन गरिएको प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्तले जानकारी दिए ।