ग्यास चुहिएर भएको आगलागीबाट घाइते भएका सांसद चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा शल्यक्रिया भएको छ । उपचार समन्वयमा गएका नेपाली कांग्रेसका नेता योगराज कँडेलले भण्डारीको दुवै खुट्टाको शल्यक्रिया गरिएको बताएका छन् ।
मुख्य सर्जन डा. सुनील केसवानीलाई उद्धृत गर्दै कँडेलले भण्डारीको दायाँ खुट्टामा गहिरो घाउ रहेका कारण अपरेसनमा समय लागेको बताएका छन् । कँडेलले शल्यक्रियाका लागि करिब साढे २ घण्टा लागेको बताएका छन् ।
दायाँभन्दा बायाँ खुट्टाको घाउ कम रहेको चिकित्सकले जनाएका छन् । अहिले चिकित्सकहरूले निगरानी गरिरहेको र त्यसपछि मात्र दोस्रो अपरेसन गर्ने नगर्ने भन्ने टुंगो लाग्ने चिकित्सकले बताएको कँडेलले कान्तिपुरसँगको कुराकानीमा बताए । सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो ।
काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो ।सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ ।