१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

ओली–दाहाल वार्ता जहाँको तहीं

राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटार र शुक्रबार बालकोटमा घन्टौं छलफल भए पनि ठोस सहमति जुट्न सकेको छैन ।

पुस १० मा नाटकीय रूपमा गठबन्धन गरी सत्ता सहयात्रा थालेका दाहाल र ओली राष्ट्रपति निर्वाचनका विषयमा आ–आफ्ना अडानबाट टसमस भएका छैनन् । ओली पूर्वसहमति कार्यान्वयन हुनुपर्ने अडानमा छन् भने दाहालले राष्ट्रिय सहमतिमा जोड दिइरहेका छन् । राष्ट्रपति निर्वाचनमा माओवादी निर्णायक भएकाले दाहाल बलिया देखिएका छन् । उनले एकैपटक ओली र कांग्रेस सभापति शेरबहादुर देउवामाथि दबाब बढाइरहेका छन् । आफ्नो कार्यकाल कम्तीमा चार वर्ष पुर्‍याउने उनको रणनीति छ । यसैका लागि उनले अघि सारेको ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति’ को हतियारले ओलीलाई डर देखाएको छ भने देउवालाई आड ।

‘राष्ट्रपति चयन विवाद कहाँ पुगेर टुंगिन्छ, अहिले भन्न सकिने अवस्था छैन,’ बालुवाटार स्रोतले भन्यो, ‘राष्ट्रपति उम्मेदवार मनोनयन गर्ने दिनसम्म एउटा तस्बिर देखिनेछ ।’ बालकोट वार्तापछि दाहालले ‘गठबन्धन अहिले पनि कायम रहेको, मिलेर अघि बढ्ने’ प्रतिक्रिया दिएका छन् । ‘हामी सँगै छौं, टुटेको देखाउँदैन नि,’ उनले भने । राष्ट्रपतिमा छिट्टै सहमति गर्ने दाबीसमेत उनले गरेका छन् । दाहालले राष्ट्रपतिमा कांग्रेसले पनि मत दिने व्यक्ति चयन गर्नर् ओलीलाई प्रस्ताव गरेका छन् । राष्ट्रपति ‘ओलीको खल्तीबाट हुन नहुने’ उनको अडान छ ।

ओलीले भने गठबन्धनभित्रबाटै राष्ट्रपति चयन हुनुपर्ने बताएका छन् । ‘यो गठबन्धन सजिलै बनेको होइन, त्यसैले गठबन्धनभित्रबाटै सहमति खोजौं,’ ओलीको भनाइ थियो । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि सरकार बन्ने बेला भएको सहमति कार्यान्वयन हुनुपर्ने बताए । ‘पूर्वसहमतिअनुसार जानुपर्छ भन्ने हाम्रो धारणा हो,’ उनले भने । एमाले र माओवादीबीच राष्ट्रपतिमा सहमति नभए यो गठबन्धन के हुन्छ रु ‘सकेसम्म सहमति गरी यही गठबन्धनलाई निरन्तरता दिने प्रयास हुन्छ,’ माओवादी सचिव दीनानाथ शर्माले भने, ‘अहिलेसम्म सम्बन्ध बिग्रिसकेको छैन ।’

हालसम्म ओली र दाहालले राष्ट्रपतिका लागि कुनै नाम सार्वजनिक गरेका छैनन् । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्यको नाम चर्चामा आउने गरेको छ । दाहालले आन्तरिक रूपमा नेपाल समाजवादी पार्टी एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नाम लिने गरेका छन् । कांग्रेस सभापति देउवाले माओवादीले समर्थन गरेको अवस्थामा रामचन्द्र पौडेललाई अघि सार्ने तयारी गरेका छन् । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि राष्ट्रपतिमा आँखा लगाएको कांग्रेस नेताहरू बताउँछन् । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, लोसपा अध्यक्ष महन्थ ठाकुरको नाम पनि यतिबेला राष्ट्रपति उम्मेदवारका लागि चर्चामा आउने नाम हुन् ।

राष्ट्रपतिमा कुनै पनि दलको नेतामा सहमति जुटेन भने के गर्ने भन्नेबारे दलहरूबीच छलफल सुरु भएको छ । दाहाल र ओलीबीच पनि राजनीतिक दलका नेतामा सहमति हुन सकेन भने सबैलाई मान्य हुने ‘उच्च नैतिकता भएको स्वतन्त्र व्यक्ति’ राष्ट्रपति चयन गर्ने विकल्पमा सामान्य कुरा चलेको छ ।

राष्ट्रपति कसलाई बनाउने भन्ने विवादका कारण करिब दुई महिनामै सत्ता गठबन्धनमाथि ग्रहण लागेको छ । भारतीय विदेश सचिव विनयमोहन क्वात्राको काठमाडौं भ्रमणपछि सत्ता गठबन्धन झन् कमजोर बन्न पुगेको नेताहरूको बुझाइ छ । @ekantipur.com

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?