१० असार २०८१, आइतवार
१० असार २०८१, आइतवार

दाहालले दिइसके वचन, कांग्रेस ढुक्क

 दुई महिनाअघि आफ्नै नेतृत्वको गठबन्धन जोगाउन नसक्दा राज्यशक्तिका सबै पद गुमाएको कांग्रेस राष्ट्रपति निर्वाचनसँगै सत्ताको केन्द्रमा फर्कनेमा ढुक्क छ । यो विश्वासका आधार प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल हुन् जसले कांग्रेस सभापति शेरबहादुर देउवा मात्र होइन, प्रभावशाली नेताहरूलाई समेत भेटेर राष्ट्रपतिमा एमालेलाई होइन, कांग्रेसलाई सघाउने स्पष्ट वचन दिएका छन् ।

फागुन २६ मा हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ मा मनोनयन दर्ताको कार्यक्रम छ । त्यसका लागि एमालेसँग सहकार्य टुटाउन र कांग्रेससँग सम्बन्ध जुटाउन प्रधानमन्त्री दाहालले योजनाबद्ध काम गरिरहेको कांग्रेस नेताहरूको दाबी छ ।

‘राष्ट्रपति निर्वाचनमा माओवादीले कांग्रेसलाई समर्थन गर्नेमा ढुक्क छौं, अलग–अलग नेताहरूसँग अलग–अलग भेटमा प्रधानमन्त्रीले वचन दिइसक्नुभएको छ, हामी अब माओवादीको औपचारिक निर्णयको प्रतीक्षामा छौं,’ कांग्रेसका एक प्रभावशाली नेताले कान्तिपुरसँग भने, ‘प्रधानमन्त्रीमा माओवादी र सभामुखमा एमाले निर्वाचित भइसकेकाले माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गर्छ, लगत्तै कांग्रेस बैठक बसेर उम्मेदवार छान्ने तयारी छ ।’

राष्ट्रपतिमा समर्थन पाए दाहाललाई पाँचै वर्ष पनि प्रधानमन्त्री मान्न कांग्रेस तयार छ । प्रवक्ता प्रकाशशरण महतले भने, ‘संवैधानिक व्यवस्थाअनुसार चल्ने राष्ट्रपति चाहिन्छ भन्ने हाम्रो मान्यता हो, यसमा प्रधानमन्त्रीजी सहमत हुनुहुन्छ । कांग्रेसले अस्थिरता चाहेको छैन, आवश्यक परे प्रचण्डजीलाई नै आगामी पाँच वर्ष प्रधानमन्त्री स्वीकार गरेर अघि बढ्न तयार छौं ।’

त्यसो त सत्ता बाँडफाँटमा कांग्रेस र माओवादीबीच पुस पहिलो साता भएको समझदारी तत्कालै भत्किएको थियो । पुस ४ मा सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का बसेर आफूलाई प्रधानमन्त्री दिन सहमत भए पनि पछि धोका भएको दाहालको गुनासो छ । त्यतिबेला व्यक्ति–व्यक्तिबीचको समझदारी भए पनि यसपालि प्रधानमन्त्री दाहाललाई कांग्रेसले संस्थागत रूपमा विश्वास दिलाउन खोजेको छ । महामन्त्री गगन थापा भन्छन्, ‘नेताहरूबीच हुने गोप्य सम्झौता नै समस्या हुन्, त्यस्तो सम्झौतामा दल जिम्मेवार हुँदैन, मैले प्रधानमन्त्रीजीलाई भेटेर यस पटक सिंगो कांग्रेससँग सम्झौता गर्नुहोस्, दुई वर्ष, तीन वर्ष वा कति समय तपाईं सरकारको नेतृत्वमा रहने ? कति समय कांग्रेसलाई दिने ? त्यसबारे खुलस्त सहमति गरौं, निर्वाचनमा भएको गठबन्धन र संविधानको भावनाबमोजिम अघि बढौं भनेको छु ।’ दुई दलको सत्ता स्वार्थका लागि होइन, संविधानको रक्षा र कार्यान्वयनका लागि सहकार्यको पहल भइरहेको दाबी उनले गरे ।

२६ पुसमा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको कांग्रेस त्यसयता राष्ट्रपति निर्वाचनमा केन्द्रित छ । निर्वार्चनको परिणाम कांग्रेसको पक्षमा ल्याउन सभापति देउवा, वरिष्ठ नेताहरू रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला मात्र होइन, नेता शेखर कोइराला र महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा पनि एकढिक्का छन् ।

एमाले अध्यक्ष ओलीले लगातार दुई पटक संसद् विघटन गरेको र राष्ट्रपति संस्थालाई ‘रबरस्ट्याम्प’ का रूपमा प्रयोग गरेको आरोप लगाउँदै आएको कांग्रेस यसपालि आफ्ना उम्मेदवारलाई राष्ट्रपति बनाउने पक्षमा छ । ‘वर्तमान राष्ट्रपतिले संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गर्नुभयो, त्यो आगामी दिनमा दोहोरिनु हुँदैन,’ कांग्रेस प्रवक्ता महतको भनाइ छ, ‘असंवैधानिक अभ्यास दोहोरिन नदिन पनि कांग्रेसको उम्मेदवार राष्ट्रपति हुनुपर्छ ।’

संघ र प्रदेशका पदमा एमालेसँग प्रतिस्पर्धा गर्दै आएको कांग्रेसले माओवादीलाई भने साथ दिएको छ । यसबीचमा सभापति देउवा आफैंले पटक–पटक प्रधानमन्त्री दाहाललाई भेटेका छन् भने उपसभापति खड्का, महामन्त्री थापा र प्रमुख सचेतक रमेश लेखकसहित नेताहरूमार्फत पनि संवाद गरिरहेका छन् ।

स्रोतका अनुसार राष्ट्रपति उम्मेदवारका विषयमा पनि नेताहरूबीच छलफल भएको छ । ‘प्रधानमन्त्रीलाई त पुरानो सम्बन्धका हिसाबले सिटौला उम्मेदवार भए हुन्थ्यो भन्ने छ, उहाँले सभापति देउवासँग यो आशय राखिसक्नुभएको छ तर देउवाले राष्ट्रपतिमा पौडेललाई पहिले नै वचन दिएकाले समर्थन गर्न प्रचण्डजीलाई आग्रह गर्नुभएको छ,’ कांग्रेसका अर्का नेता भन्छन्, ‘नाम टुंगो लाग्न बाँकी छ तर कांग्रेसले अघि सार्ने उम्मेदवारमा माओवादीलाई समस्या हुँदैन किनकि उहाँहरूको एक मात्र चासो सरकारको सुरक्षामा छ ।’ कांग्रेस नेता पौडेलले महाधिवेशनमा अप्रत्यक्ष रूपमा र संसदीय दलको निर्वाचनमा प्रत्यक्ष रूपमा देउवालाई समर्थन गरेका थिए, अहिले देउवा गुन तिर्ने मनस्थितिमा रहेको उनीनिकट नेताहरू बताउँछन् ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पनि अब केही दिनमा नयाँ राजनीतिक कोर्स सुरु हुने दाबी गरेका छन् । बिहीबार सिंहदरबारमा कानुनविद्हरूसँगको छलफलपछि लेखकले भनेका थिए, ‘नयाँ राजनीतिक कोर्स तय हुँदै छ । संविधानको रक्षा र कार्यान्वयनका विषयमा अहिलेको सत्ता गठबन्धनमा खटपट सुरु भइसकेको छ, प्रधानमन्त्रीजी व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा र सार्थक कार्यान्वयनका विषयमा प्रतिबद्ध हुनुहुन्छ । हामी पनि ती कुरामा स्पष्ट छौं ।’ राष्ट्रपति निर्वाचनमा कांग्रेसले आफ्नै उम्मेदवार उठाउने र निर्वाचित गराउने दाबी पनि लेखकको थियो ।

एमालेसहित सात दलको गठबन्धनमा सरकार चलाइरहेका दाहाल ओलीसँग असहज महसुस गरिरहेका छन् । उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकका रूपमा हस्तक्षेपकारी भूमिका देखाएको भन्दै दाहाल झस्किएका छन् । ‘प्रधानमन्त्रीलाई कठपुतलीजस्तो बनाउन खोज्नुभएको छ, संसद् विघटन पनि ठीक थियो भनेर संसद्मा समेत बोलिदिनुभयो भनेपछि उहाँले सहकार्यलाई कति सजिलो बनाउनुभएको होला, हरेकले बुझ्न सक्छन्,’ दाहालका एक सहयोगीले भने, ‘सहकार्य त कांग्रेससँगै सजिलो भन्ने निष्कर्ष छ, त्यहीअनुसार प्रक्रिया अघि बढ्दै छ ।’

कांग्रेसले चुनाव सकिएको तीन महिनासम्म समीक्षा बैठकसमेत गरेको छैन । ‘सभापतिजीले माओवादीलाई विश्वासमा लिन ठूलो मिहिनेत गर्नुभएको छ । यति लामो समयसम्म चुनावी समीक्षा बैठकसमेत नगरेको भनेर आलोचना भइरहेको छ । तर, बैठक गर्दा माओवादीका विषयमा घोचपेच हुन्छ र त्यसले वातावरण बिग्रन्छ भनेर पनि बैठकलाई राष्ट्रपति निर्वाचनभन्दा पछिलाई धकेलिएको छ,’ एक पदाधिकारीले भने । @ekantipur.com

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?