सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले संघीयताको मर्मअनुरुप स्थानीय तहसम्म अनुभूति हुनेगरी कानुन परिमार्जन गर्न लागेको बताएकी छन् ।
राष्ट्रिय समाचार समितिको ६२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै आइतबार मन्त्री शर्माले सरोकारवालाहरुसँग सहकार्य गर्दै संघीयताको मर्म र भावनाअनुरुप स्थानीय तहसम्म नै अनुभूति हुनेगरी कानुनहरुमा संशोधन गरी नयाँ कानुन बनाउने तयारी गरेको बताएकी हुन् ।
उनले सरकारले आमसञ्चारसँग सम्बन्धित ऐन, कानुनहरुलाई संशोधन, परिमार्जन र आवश्यक नयाँ कानुन बनाएर सञ्चार क्षेत्रका समसामयिक सुधार गर्ने बताइन् । मन्त्री शर्माले पछिल्लो समय समाचार माध्यमहरुका गलत समाचार प्रवाहलाई नियन्त्रण गर्न आवश्यक रहेको बताइन् ।
उनले समितिले जनशक्ति व्यवस्थापनसहित समाचार सेवाको गुणस्तरमा सुधार गर्नुपर्ने औंल्याइन् । उनले पछिल्लो समय सूचना प्रविधि र रुचिमा आएको परिवर्तनलाई सम्बोधन गर्न खोजमूलक समाचार संकलन कार्यलाई प्राथमिकता दिन आवश्यक रहेको बताइन् । उनले संस्थामा उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गरी आर्थिकरुपमा मितव्ययी बन्ने र भौतिक सम्पत्तिको संरक्षण, संवर्द्धनलाई प्राथमिकता दिएर आम्दानीका अन्य स्रोतहरु खोज्न सुझाव दिइन् ।