प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्न आइतबार बेलुका नेताहरु प्रधानमन्त्री निवास पुगेका हुन् ।
कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पुर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका हुन् ।
एक नेताका अनुसार केहीबेरदेखि प्रधानमन्त्री दाहालसहित माओवादी नेताहरु र कांग्रेस नेताहरुबीच छलफल चलिरहेको छ । भेटमा राष्ट्रपतिको निर्वाचन र भावी राजनीतिक कोर्सका विषयमा सहमतिको प्रयास हुने ती नेताको भनाइ छ ।
१० पुसमा कांग्रेससँगको गठबन्धन तोडेर एमालेको सहयोगमा प्रधानमन्त्री बनेका दाहाल अहिले राष्ट्रपतिको निर्वाचनसँगै कांग्रेससँगको सहकार्य अघि बढाउन चाहान्छन् ।
त्यसबारे यसअघि नेताहरुबीच एक्ला(एक्लै भेटघाट र छलफल भइसकेको छ । प्रधानमन्त्री दाहालले त्यसबारे पार्टीभित्र छलफल गर्न सोमबार अपरान्ह पदाधिकारी बैठक बोलाएका छन् ।