नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसालले राष्ट्रपतिको निर्वचानमा एमालेसँग गठबन्धन नहुने बताएका छन् । बालुवाटारमा शुक्रबार बिहान बसेको चार दलको बैठकले राष्ट्रपति निर्वाचनमा सहकार्य गर्नेबारे सैद्धान्तिक सहमति गरेकोले अब अर्को खालको गठबन्धन नहुने उनले दाबी गरे । कांग्रेस र एकीकृत समाजवादीले राष्ट्रपतिमा आ-आफ्नो दाबी गरेपनि अब चारवटै दल एउटा निर्णयमा पुग्ने उनको दाबी छ ।
‘स्वभावैले राष्ट्रपति एकीकृत समाजवादीले लिने भन्ने हाम्रो प्रस्ताव रह्यो । कांग्रेसले पनि दोहोर्यायो । हाम्रा आ-आफ्ना दाबी छन् तर यो दाबीबीच सँगै जाने भन्ने सैद्धान्तिक सहमति भयो । यो विषय साँझ बस्ने बैठकले टुंगो लगाउछ,’ नेता भूसालले भने ।
उनले राष्ट्रपति निर्वाचनबारे एमालेसँगको गठबन्धन नबन्ने दाबी गरे । हामी अहिलेका दलहरुको सहमति हुन्छ । अब अर्को एलायन्स बन्दैन,’ उनले भने । उनले शीर्षस्थ नेताहरुबीच दिउँसो फेरि छलफल हुने र त्यसले प्रस्तावहरु बनाउन सक्ने जानकारी दिए । उनले भने, ‘अहिले हामी राष्ट्रपति र उपराष्ट्रपतिमा सैद्धान्तिक कुरा गर्छौं । अरु शक्ति बाँडफाँटबारे मोटो कुरा मात्र हुन्छन् ।’