दुई वर्षपछि सहकार्यमा जुटेका एमाले र माओवादीको गठबन्धन दुई महिनामै भत्किएको छ । १० पुसको समझदारीले प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल एमालेलाई राष्ट्रपति दिन तयार नभएपछि राजनीतिले अर्को मोड लिएको हो । राष्ट्रिय मुद्दा सम्बोधन गर्न भन्दै कांग्रेस उम्मेदवारलाई राष्ट्रपति बनाउन आठ दल शुक्रबार सहमत भएका छन् । यसै सन्दर्भमा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँगको संक्षिप्त कुराकानी :
राष्ट्रपतिमा समर्थन लिने मात्रै नभई सत्ता गठबन्धन नै भत्काउनेसम्मको सहमतिले राजनीतिक अस्थिरता बढाउने काम भएन ?
भोलिका दिनमा तपाईंहरूलाई एमालेले पाँच वर्ष सरकार चलाउनुहोस्, माओवादीलाई छाड्नुहोस् भनेर प्रस्ताव गर्यो भने फेरि अर्को सरकार बन्ने त होइन ?
त्यही भएर यसपालि हामीहरू पनि छलफलमा बस्यौं । सरकारको नेतृत्वका विषयमा केही कुरा नेताहरूले छुट्टै गर्नुभयो । अब अर्को निर्वाचनसम्मै यो गठबन्धन लैजाने समझदारी नेता–नेताबीचमा नभएर पार्टी–पार्टीबीचमा भएको छ । कांग्रेसको कारणले अब आउने निर्वाचनसम्म समझदारीमा तलमाथि हुँदैन ।
चुनावअघिको समझदारी जोगाउन नसक्नु हाम्रै कमजोरी थियो । अहिले एउटा परिस्थितिले फर्कने अवस्था बनेको छ । यसमा कांग्रेसको सबैभन्दा ठूलो जिम्मेवारी छ, त्यो कांग्रेसले निर्वाह गर्नुपर्छ ।
समझदारी तलमाथि हुँदैन भन्ने विश्वास के ?
हामी संलग्न भएको पनि त्यही भएर हो । जहिले पनि दुई–तीन जना नेताहरू मात्रै बस्ने । उहाँहरू मात्र संलग्न हुने, कुरा गर्ने । एउटा बिन्दुमा आएपछि उहाँहरूले आफ्नो निजी कुराजस्तो बनाउने गर्नुभयो । समझदारी गर्दा पनि अपारदर्शी र व्यक्ति–व्यक्तिका बीचमा भयो । त्यही भएर यस पटक सिंगो पार्टी यसमा संलग्न छ ।
कसले कति समय सरकारको नेतृत्व लिने समझदारी छ ?
अहिलेलाई हामी सबैको ध्यान राष्ट्रपतिमा छ । यसले नयाँ यात्राको ढोका खुलेको छ । भएका समझदारी र भनिएका कुराहरू पूरा नगर्ने अवस्था आउन हामी दिँदैनौं ।
कांग्रेसले कसलाई उम्मेदवार बनाउँदै छ ?
अनौपचारिक ढंगले विभिन्न चरणमा कुरा गरिरहेका छौं, शनिबार बिहान एकैछिनको बैठकपछि निर्णय आइहाल्छ ।
साझा उम्मेदवार अघि सार्ने काम भएन ?
भएन, सबै दलका नेताहरूले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने भन्नुभएको छ ।
सरकारमा जाने र मन्त्रालय भागबन्डाबारे ?
अहँ, त्यसमा छलफल भएकै छैन ।