२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि शनिबार उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको लोत्से हलमा बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ताको समय तोकिएको हो ।
मनोनयन दर्ता गर्न उम्मेदवारलाई वंशजको आधारमा लिएको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम भएको निस्सा तथा प्रस्तावक र समर्थकका रूपमा पाँच–पाँच सांसद आवश्यक पर्छ । योग्यता पुगेको कुनै पनि आममतदाताले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा १० मतदातालाई प्रस्तावक र समर्थक राखेर मनोनयन दर्ता गराउन सक्ने कानुनी व्यवस्था छ ।
निर्वाचनमा संघीय संसद् र प्रदेश सभा सदस्य मतदाता हुन्छन् । उम्मेदवार हुन आममतदाता नामावलीमा नाम भए पुग्छ । तर, मनोनयन दर्ता गराउन राष्ट्रपति निर्वाचनको मतदाता प्रस्तावक र समर्थक हुनुपर्छ ।राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ११ मा उम्मेदवारको योग्यता तोकिएको छ ।
जसमा वंशजको आधारमा नेपाली नागरिक भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको, अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, कुनै संघीय कानुनले अयोग्य नभएको र निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पदबाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने व्यवस्था छ ।
निर्वाचन आयोगले स्वीकृत गरेको कार्यतालिकाअनुसार १० देखि ३ बजेसम्म मनोनयनपत्र दर्ता गरेर अपराह्न ४ बजे उम्मेदवारको सूची प्रकाशन गरिनेछ । भोलिपल्ट १४ फागुनमा १० देखि २ बजेसम्म उम्मेदवारीको विरुद्धमा उजुरी दिने समय छुट्याइएको छ ।
१५ फागुनमा दिउँसो २ बजेभित्र मनोनयन र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने र ५ बजेभित्र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ । १६ फागुनमा बिहान १० बजेदेखि ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र ५ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । २५ फागुनमा १० देखि ३ बजेसम्म दुईटा मतदान केन्द्रबाट मतदान हुनेछ ।
अरुण चौधरीको नाम समावेश
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले मतदाताको अन्तिम नामावलीमा नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको नाम पनि समावेश गरेको छ । अब संघीय संसद्का तीन सय ३२ र प्रदेश सभाका पाँच सय ५० गरी कुल आठ सय ८२ मतदाता पुगेका छन् ।
प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङ निलम्बनमा छन् भने रवि लामिछानेको पद रिक्त छ । मतदाता नामावलीमा नाम भए पनि राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका चन्द्र भण्डारी र एमालेका लक्ष्मी महतो कोइरीले भाग लिन सक्नेछैनन् । ग्यास सिलिन्डर पड्किएर गम्भीर घाइते भण्डारी मुम्बईमा उपचाररत छन् भने कर्तव्य ज्यान मुद्दामा कोइरी फरार छन् । संघीय संसद्तर्फ एक मतदाताको मतभार ७९ र प्रदेश सभातर्फ ४८ मतभार रहेको छ ।
निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुनेछ । त्यसरी बहुमत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मतदान हुनेछ । त्यस्तो मतदानमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछन् ।
बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीचको मतदानबाट समेत कुनै उम्मेदवारले कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा फेरि मतदान हुनेछ । त्यस्तो मतदानमा खसेको कुल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछ ।