लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको चौथो संस्करण मंगलवारदेखी सुरु भएको छ । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको प्रतियोगिता फागुन ३० गतेसम्म हुनेछ ।
रोयल खाँचीकोट भगवती, ईलेभेन ब्रदर्स डिभर्ना, पुष्प वारियर्स र रोयल सन्धिखर्क गरी चार टिमको सहभागीता रहेको प्रतियोगितामा पहिलो खेल रोयल खाँचिकोटले जितेको छ । मंगलवार भएको पहिलो खेलमा ईलेभेन ब्रदर्स डिभर्नालाई १६ रनले हराउँदै खाँचीकोटले प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ हजार रुपैंया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीले नगद ५१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अर्घाखाँची क्रिकेट संघका जिल्ला अध्यक्ष ऋषिकेष भट्टराईले जानकारी दिए ।
उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर, प्रतियोगिता अवधीभरमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी, म्यान अफ द म्याच, म्यान अफ द सिरिज लगायतका विधामा पनी नगद सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ । यस्तै दर्शक दिर्घामा बल समात्ने (क्याच गर्ने) लाई समेत पुरस्कृत गरिने भएको हो ।
एपिएलका तिन वटा संस्करण टेनिस बलले खेलाईएको थियो भने यसपाली ‘सिम बल’ ले खेलाईएको छ । प्रादेशिक क्रिकेट संघले सिफारिश गरेका अनुभवी अम्पायरहरु समेत ल्याइएको संघका अध्यक्ष भट्टराईले बताए ।
प्रतियोगिता समापन हुँदासम्म करिब १५ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । टिम दर्ता शुल्क २० हजार रुपैंया लाग्ने र देशविदेशमा रहेका खेलप्रेमीहरुको आर्थिक सहयोगमा प्रतियोगिता गर्दै आएको अर्घाखाँची क्रिकेट संघले जनाएको छ ।
एपिएलको पहिलो संस्करणको उपाधी सुपर सुपा ईलेभेन र दोश्रो संस्करण रोयल सन्धिखर्कले जितेको थियो । त्यस्तै तेस्रो संस्करण नमस्ते अर्घाखाँचीलाई २६ रनले हराउँदै एम्स स्टारले उपाधी जितेको थियो ।