१४ मंसिर २०८०, बिहिबार
१४ मंसिर २०८०, बिहिबार

ओभरलोड ट्रिपरले सन्धिखर्क-गोरुसिंगे सडक ध्वस्त, ५० बढी ट्रिपर कारवाहीमा

सडकको दुर्दशाका कारण धुलो धुवाँमा बस्न बाध्य अर्घाखाँचीको मुख्य पर्यटकीय स्थल सुपादेउराली आसपास तथा शितगंगा नगरपालिका क्षेत्रका वासिन्दा आजित भइसकेका छन्। चुनढुंगा उत्खखन् गरेर लैजाने क्रममा क्षमता भन्दा बढी मालसमान बोक्ने, छिटो गन्तव्यमा पुग्ने चालकहरुको होडबाजीले स्थानिय त्रसित् छन्।

साँधुरो तथा जिर्ण सडक, धुलो–धुँवा र सडकमा मनपरी दौडिने ट्रिपरका कारण हैरानी व्यहोर्न परेको बताउँछन् शितगंगा–४,अमराई निवासी यज्ञ प्रसाद आचार्य। मनपरी चल्ने ट्रिपरका कारण सँधै आतंकित भइरहनु पर्ने उनको भनाइ छ। ‘सडकको हालत यस्तो छ, त्यहीं माथी ट्रिपरहरुको आतंक नै छ,उनले भने,‘सडकमा साईड समेत पाइदैंन। उनीहरुमा को छिटो पुगेर फर्कने भन्ने प्रतिस्पर्धा नै हुन्छ।’

अर्घाखाँचीको मुख्य सडक सन्धिखर्क–गोरुसिंगमा एकतर्फी बाटो मात्र छ। दोहोरो आवतजावत गर्ने घुम्तीहरु कमै छन्। एकतर्फी सडकमा क्षमता भन्दा बढी भार बोकेर मनपरी हुँईकिने ट्रिपरका कारण सडक जिर्ण बन्दै गएका छन्। सन्धिखर्क–७, खाँचीकोटबाट चुनढुंगा उत्खनन् गरेर कपिलवस्तु लैजाने गरिएको छ। ट्रिपरधनीले ट्रिपका हिसाबले पैसा पाउने हुँदा चालकलाई छिटो कुदाउन लगाउँछन्। जस्ले गर्दा दुर्घटनाको समेत उत्तिकै जोखिम रहेको छ।

फराकिलो सडक नहुँदा जोखिमपुर्ण यात्रा गर्न बाध्य यात्रुहरु ट्रिपरको आतंकले थप असुरक्षित महसुस गरिरहेका छन्। ट्रिपरहरुको उचित व्यवस्थापन हुन नसक्दा मनपरी भएको स्थानियले गुनासो गरेका छन्। सन्धिखर्क–७ का राजेन्द्र रायमाझीले प्रशासनले कडाई गर्नुपर्ने बताए। ‘ट्रिपर गुडाउने समय छुट्याएर भएपनि सहज गराउनु पर्छ,उनले भने,‘ओभरलोड ख्याल गर्नुपर्‍यो, जथाभावी बोक्न दिनु भएन।’

सन्धिखर्कदेखी पत्थरकोटसम्मको यात्रा जोखिमपुर्ण छ। पिरापानी, बसेरी लगायतका क्षेत्रमा स्तरोन्नतीको काम चलिरहेको छ। अधिकांश क्षेत्रमा साँधुरा तथा तिखो घुम्तीहरु रहेकाले दोहोरो आवत जावत नहुने यो सडकमा जथाभावी गुड्ने ट्रिपरका कारण जोखीम थप भएको हो।

एक महिनामा ५० भन्दा धेरै ट्रिपर कारवाहीमा  

सन्धिखर्क–७, खाँचीकोटको चुनढुङ्गा खानीबाट क्षमता भन्दा बढी चुनढुङ्गा बोक्ने ट्रिपरहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही गरेको छ।

शितगंगा नगरपालिको ठाडामा रहेको चेकपोष्टमा चेकजाँच गर्दा क्षमता भन्दा बढी चुनढुङ्गा लिएका ५० भन्दा बढी ट्रिपरहरु कारवाहीमा परेका ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिए।

कतिपय ट्रिपरहरुलाई ढुङ्गा झार्न लगाईएको, त्रिपालले ढाक्न लगाईएको र पटक पटक सम्झाउँदा समेत क्षमता भन्दा बढी ढुङ्गा बोक्ने टिप्परहरुलाई कारवाही स्वरुप जरिवाना तिराईएको रेग्मीले बताए।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?