राष्ट्रपति निर्वाचनमा उम्मेदवारको फोटोसहितको मतपत्र प्रयोग हुने भएको छ । निर्वाचन आयोगले यसअघि मतपत्रमा उम्मेदवारको नाम मात्रै राख्ने गरेको थियो । यस पटक उम्मेदवारको नाम र फोटोसहितको मतपत्र छपाएर निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।
बिहीबार हुने राष्ट्रपति निर्वाचनमा आठदलीय गठबन्धनबाट कांग्रेस नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल र विपक्षी दल एमालेबाट उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ मा सकिने भएकाले निर्वाचन गर्न लागिएको हो । संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ५० सांसद गरी ८ सय ८१ जनाले राष्ट्रपति निर्वाचनमा मत दिनेछन् । संघीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ । यस आधारमा सबै संघीय सांसदको मतभार २६ हजार १ सय ४९ र प्रदेश सांसदको मतभार २६ हजार ४ सय गरी कुल मतभार ५२ हजार ५ सय ४९ छ । राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार २ सय ७५ मतभार ल्याउनुपर्छ ।
संघीय र प्रदेश सांसदका लागि फरक रङको ९ सय ९० मतपत्र छापिएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिए । उनका अनुसार राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यका लागि छापिएको मतपत्रमा सेतो पृष्ठभूमिमा गुलाबी रङको अक्षर छ । प्रदेशसभा सदस्यले मतदान गर्ने मतपत्रमा सेतो पृष्ठभूमिमा हरियो रङको अक्षर छ । मतपत्रको पहिलो कोठामा सत्ता गठबन्धनका उम्मेदवार पौडेल र दोस्रो कोठामा एमालेका उम्मेदवार नेम्वाङको फोटो छ । मत बदर कम गर्न यसपालि फोटोसमेत राखिएको प्रवक्ता पौडेलको भनाइ छ । मतगणना सकिएलगत्तै मत गन्ने आयोगको तयारी छ । ‘बेलुका ७ बजेसम्म परिणाम आइसक्छ,’ प्रवक्ता पौडेलले भने ।
आयोगले राष्ट्रपति निर्वाचनका लागि तोकेको मौन अवधि सोमबार राति नै सुरु भइसकेको छ । यस अवधिमा प्रचारप्रसार गर्न पाइँदैन । राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारले निर्वाचन प्रयोजनका लागि चार लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था छ । उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया फागुन २७ मा सुरु हुने आयोगले जनाएको छ । निर्वाचन भने चैत ३ मा हुनेछ ।