२४ मंसिर २०८१, सोमवार
२४ मंसिर २०८१, सोमवार

नेपालले पीएनजीलाई दियो २९८ रनको कीर्तिमानी लक्ष्य

ओपनर आसिफ शेखको शतक प्रेरित आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई २ सय ९८ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ५ बल बाँकी रहँदा अलआउट हुँदै २ सय ९७ रनको योगफल तयार पार्‍यो । जुन नेपालले एक दिवसीय क्रिकेटमा हालसम्म बनाएको सबैभन्दा ठूलो योगफल हो ।

यसअघि, अघिल्लो महिना त्रिवि मैदानमै नामिबियाले दिएको २ सय ८५ रनको लक्ष्य चेज गर्ने क्रममा नेपालले २ सय ८७ रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक १ सय १० रनको शतकीय इनिङ खेले । उनले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग १ सय १० रनको साझेदारी गर्दै १ सय १० बलमा १२ चौका र २ छक्का प्रहार गरे ।

आसिफले पाँचौं विकेटका लागि कप्तान रोहित पौडेलसँग शतकीय साझेदारी गरेका थिए । जारी खेलमा शतक बनाएसँगै आसिफ ओडीआईमा नेपालका लागि सर्वाधिक रन बनाउने र हजार रन पुरा गर्ने दोस्रो खेलाडी बने । कुशल ५६ बलमा ६ चौकासहित ४५ रनमा आउट हुँदा रोहित ३९ बल खेल्दै २ चौका र एक छक्काको मद्दतमा ३० रन बनाएर पभेलियन फर्किएका थिए ।

ज्ञानेन्द्र मल्ले ११ रन योगदान गर्दा पछिल्लो समय लयमा रहेका कुशल मल्ल २ रनमा आउट भए । भीम शार्कीले ३८ बलमा ४ चौका प्रहार गर्दै ४४ रन बनाएर क्याच आउट हुँदा आरिफ शेख १५ रनमा पभेलियन फर्किए ।

पीएनजीको बलिङमा सिमो कामियाले ९.१ ओभरमा ३८ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए । रिले हिकुरेले १० ओभरमा ५० रन खर्चिएर तीन विकेट लिँदा एली नाओले १० ओभरमा पीएनजीका लागि सर्वाधिक ७५ रन खर्चिएर एक विकेट लिए ।

लिग- २ तालिकाको शीर्ष तीनमा रहेर सोझै विश्वकप छनोटमा स्थान बनाउन नेपाललाई यो श्रृंखला क्लिनस्विप गर्नुपर्ने दबाब छ । एक खेलमात्रै पराजित भए नेपाललाई विश्वकप छनोटमा सोझै स्थान बनाउन सहज हुनेछैन । एकदिवसीय मान्यता जोगाउन नेपालले दुई खेलमात्रै जिते पर्याप्त हुन्छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?