लक्ष्मण घिमिरे ।
अर्घाखाँची । ईलेभेन ब्रदर्स डिभर्नाले अर्घाखाँची प्रिमियर लिग (एपिएल) को उपाधी जितेको छ । फाइनल खेलमा रोयल सन्धिखर्कलाई ८७ रनले पराजित गर्दै ईलेभेन ब्रदर्श डिभर्ना विजयी भएको हो ।
टस हारेर पहिले ब्याटिंग गरेको डिभर्नाले २० ओभरमा ८ विकेट गुमाएर एक सय २१ रन बनाएको थियो । जवाफी ब्याटिंग गरेको सन्धिखर्क ३४ रनमै समेटिएको हो । फितलो ब्याटिङ्ग गरेको सन्धिखर्कले सबै विकेट गुमाउँदै ८७ रनको फराकिलो अन्तरले हार व्यहोर्दै उपविजेतामा सिमित हुन पुग्यो ।
एपिएलको चौथो संस्करण जितेसंगै डिभर्नाले नगद १ लाख १ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता सन्धिखर्कले ५१ हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
एपिएलको पहिलो संस्करण सुपर सुपा ईलेभेन, दोश्रो संस्करण रोयल सन्धिखर्क र तेस्रो संस्करण एम्स स्टारले जितेका थिए । अर्घाखाँची क्रिकेट संघको आयोजनामा सन्धिखर्कको टुडीखेलमा भएको खेल १० दिनसम्म चलेको थियो ।