लक्ष्मण घिमिरे ।
अर्घाखाँची । चार वर्षदेखी पाणिनी बहुमखी क्याम्पसको सञ्चालक समिति गठन हुन नसक्दा यहाँको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चित बनेको छ ।
सदरमुकाम सन्धिखर्कमा रहेको क्याम्पस विगत ४ वर्षदेखि सञ्चालक समिति विहिन छ । यस अघि ०७२ सालमा चेतनारायण आचार्यको अध्यक्षतामा सञ्चालक समिति बनेको थियो । क्याम्पसको विधान अनुसार प्रत्येक ३÷३ वर्षमा क्याम्पस समिति गठन गर्नुपर्ने व्यवस्था छ । ०७५ सालमा गठन गर्नुपर्ने क्याम्पस सञ्चालक समिति त्यतिबेला विभिन्न कारणले बन्न सकेन । क्याम्पसले पटक–पटक क्याम्पस सञ्चालक समिति बनाउन आग्रह गर्दा समेत जिल्लाका राजनैतिक दलहरुले चासो नदेखाएको क्याम्पस स्रोतले जनाएको छ ।
समिति गठन हुन नसक्दा यही चैत्र ५ गते हुने स्ववियु निर्वाचन पाणिनीमा नहुने देखिएको छ । स्ववियु निर्वाचनसंगै क्याम्पसका अन्य गतिविधी ठप्प हुँदा समेत सरोकारवाला पक्ष गम्भिर नबनेको क्याम्पस प्रमुख बुद्धी भुसालले बताए । ०७५ सालमा सञ्चालक समिति गठन गर्ने विषयमा बैठक बस्दा १५ दिनमा समिति बनाउने निणर्य भएको भन्दै प्रमुख भुसालले अहिलेसम्म समिति गठन हुन नसक्नु दुखद भएको बताए । ‘स्ववियु लगायतका गतिविधी रोकिएका छन्, उनले भने,‘पटक पटक ताकेता गर्दा पनि सरोकारवाला पक्षले चाँसो दिएन ।’
२०७२ सालमा अध्यक्ष बनेका चेतनारायण आचार्य अहिले लुम्बिनी प्रदेशका मन्त्री छन् । उनी पनि नयाँ सञ्चालक समिति बनाउन अनिच्छुक देखिएका छन् ।
अर्घाखाँचीका संयुक्त विद्यार्थी संगठनहरुले क्याम्पसमा राजनैतिक दल, क्याम्पस प्रशासन र विद्यार्थी बिच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर समस्या समाधान गर्न आग्रह समेत गरेका छन् । तत्काल पाणिनी क्याम्पसमा सञ्चालक समिति गठन गरी स्ववियु निर्वाचन गर्न उनीहरुले माग राखेका छन् । अविलम्ब समिति गठन गर्न दवाब दिएको नेविसंघ ईकाई सभापती अनिशा ठकुरीले बताईन् । ‘संचालक समिति बनाउन दलहरुले आनाकानी गरेका छन्,उनले भनिन्,‘स्ववियु निर्वाचन पनि अनिश्चित देखिएको छ ।’
समिति नबन्दा क्याम्पस संचालन गर्न समेत समस्या भएको क्याम्पस प्रशासनले जनाएको छ ।