पाल्पाका तीन दर्जन भन्दा बढी जंगलमा केही दिनयता डढेलो फैलिएको छ । निस्दी, माथागढी, तानसेन नगरपालिका, तिनाउ, रैनादेवी छहरा लगायतका स्थानीय तहका जंगलमा डढेलो फैलिएको हो ।
डढेलो नियन्त्रणमा स्थानीय उपभोक्ताको खासै चासो नदेखिएकाले जंगलमा जतासुकै डढेलो फैलिएको तिनाउ गाउँपालिका–२, का केशव थापाले बताए । निस्दीको ज्यामिरे, मित्याल, माथागढीको गोठादी, रहवास, बहादुरपुर, तिनाउको झुम्सा, दोभान, कचल, तानसेनको पिपलडाँडा, रैनादेवी छहराको जुठापौवा, सत्यवती लगायतका स्थानमा डढेलो लागेको छ । यहाँका ३६ बढी स्थानमा डढेलो फैलिएको स्थानीयले जानकारी दिए ।
बढ्दो खडेरीसँगै जिल्लाको सामुदायिक र सरकारी जंगलमा लागेको डढेलोले हजारौं हेक्टर जंगलका काठ, दाउरा, जडीबुटी तथा नयाँ पालुवा जलेर नष्ट भएको कचलका उपभोक्ता केशव भण्डारीले बताए । लामो समयसम्मको खडेरी र बढे गर्मीले उपभोक्ता निभाउन जंगल जान नसकेको उनले बताए । ‘डढेलोले जंगली जनावर, चराचुरुङ्गी तथा वन नजिकका बस्तीहरुमा जोखिम बढेको छ,’ उनले भने, ‘जंगलमा कटानी, छटानी गरेर नयाँ पालुवा हुर्काउने बेलामा भएको आगलागीले समस्या नल्याउने कुरै भए।’ छिमेकी जिल्ला रुपन्देहीतर्फबाट चुरे क्षेत्रमा बढी डढेलो आएको तिनाउ झुम्साका कृष्ण पाण्डेयले बताए ।
केही दिनयता जिल्लाको चुरेक्षेत्र ज्यामिरे, बहादुरपुर, दोभान, गोठादी, कोलडाँडा, मस्याम, कचल, रहवास, सत्यवती, बल्ढेङ्गगढीका जंगलमा डढेलो लागेको छ । तिनाउको घनाजंगलमा दिनरात डढेलो लागेको छ । जिल्लामा ५२ प्रतिशत जंगल क्षेत्र छ । ‘गर्मी बढी भएपछि निभाउन जान समस्या हुन्छ,’ गोठादीका उपभोक्ता कृष्ण रानाले भने, ‘वनमा आगो निभाउन उपभोक्तालाई समस्या हुन्छ ।’ गाउँमा डढेलो लाग्दा आगो निभाउन समस्या हुने उनले बताए ।
गर्मीले गर्दा आगो अघि पर्न समस्या छ । आगो कसले लगाउँछ थाहा हुन नसक्ने ज्यामिरेका उपभोक्ता मनबहादुर सारुले बताए । नवलपरासी र रुपन्देहीको सिमाना चुरे पहाड जंगलमा सिमानाभन्दा अगाडिबाटै आगो लगाइदिने गरेको स्थानीय उपभोक्ताहरुको गुनासो छ । ज्यामिरेको वेभोके, रोल्लाबास, अरुणखोलामा आगोलागी भएका छन् । डढेलोबाट अमला, हर्रो, बर्रो, दालचिनी, गानेगुर्जो, पिपला, सिसनी लगायतका बहुमुल्य जडीबुटी समेत नष्ट भएको ज्यामिरेका तेजेन्द्र थापामगरले बताए ।
खडेरी र हावाहुरीले आगोको लप्काले खतरा ल्याउन सक्ने हुँदा नजिक जान नसकिने उनले बताए । चुरोट खाँदा जथाभावी ठुटा फ्याक्ने हुँदा साथै अधिकांश लापरबाहीबाट बढी डढेलो लागेको डिभिजन वन कार्यालयका टास्कफोर्स प्रमुख उपेन्द्र अर्यालले बताए । सामुदायिक वनलाई सचेतना मुलक कार्यक्रम सञ्चालन गरिए पनि खडेरीको अवस्थाले डढेलो लागेको सहायक वन अधिकृत समेत रहेको उनले बताए । जंगल भएको स्थानमा घाँस पलाउने र किरा फट्यांग्रा मर्ने र घना जंगलमा लागेको डढेलोले समस्या ल्याउने उनले बताए ।
वन डढेलो जनचेतना जगाउन डिभिजन वन कार्यालयले तानसेन र कचलमा सभा गरेको थियो । १० वटै पालिकाहरुले वन डढेलो नियन्त्रण सम्बन्धी गोष्ठी र आम सञ्चारमाध्यमहरुबाट चेतनामूलक सन्देशहरु प्रसारण गर्दै आएका छन् । विद्यालयहरुमार्फत वन डढेलो नियन्त्रण सम्बन्धी जनचेतना अभिवृद्धि गराइएको छ । वन डढेलो नियन्त्रण सम्बन्धी जनचेतनामूलक सूचना सञ्चारमाध्यमहरुबाट प्रसारण गर्दै आएको डिभिजन वन कार्यालयले जनाएको छ ।